|

कपिलवस्तु : मुस्लिम धर्मावलम्वीहरूले शोकका रुपमा मनाउने मोर्हरम पर्व कपिलवस्तुका मुस्लिम तथा हिन्दू धर्मावलम्बीले संयुक्त रुपमा मनाएका छन्। तराई क्षेत्रका हिन्दू-थारु समुदायमा समेत यो पर्व मनाउन थाले पछि यो पर्वको रौनकता अहिले बढेको हो।

हिन्दूले समेत यो पर्व मनाउन थालेपछि कपिलवस्तुमा मुहर्रम धार्मिक सद्भावको पर्व बन्दै गएको छ। इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदका छोरी पट्टिका नाति हजरत हुसेन र उनका परिवारलाई इराकको कुफा र बसरा शहर बीचको करवलामा हत्या गरिएको दिनको स्मरण गर्दै मुस्लिम समुदायले मोर्हरमलाई शोक पर्वको रुपमा स्मरण गर्दै मनाउने गर्दछन्। 

मोर्हरमका अवसरमा सदरमुकाम तौलिहवा लगायत जिल्लाको कृष्णनगर, बहादुरगंज, चन्द्रौटा, पकडी लगायतका स्थानहरूमा मुस्लिम समुदायले बाँस र कागजबाट निर्माण गरिएको तहाजिया बाबा स्थापना गरी सो तहाजिया बाबालाई नजिकका आफ्ना करवलाहरूमा लगेर विसर्जन गरेका छन्। तहाजिया बाबा विर्सजनका क्रममा सदरमुकाम तौलिहवाका मुस्लिमले तौलिहवा बजार परिक्रमा गराई सागरटोलमा रहेको करवलामा लगी एक आपसमा शोक मनाउँदै मोर्हरम पर्व मनाएका हुन्। 

अल्लाह हुसेनको सम्मानमा मोर्हरम पर्वका अवसरमा तौलिहवाको करबलामा मुस्लिम युवाले तरवार तथा लठ्ठी प्रदर्शन गर्दै आफ्नो कला प्रस्तुत गरे भने हिन्दू-मुस्लिम एक साथ ढोल-तासा बजाएर पर्व मनाए। १४०० वर्ष पहिले इमामे हुसैनले इस्लाम धर्मलाई बचाउन आफूसहित ७२ जना पूरै परिवारले प्राणको आहुती दिएको संझनास्वरुप मुहर्रम मनाउँदै आएको मुस्लिम धर्मगुरुहरू बताउँछन्। 

अरब देशको क्यालेन्डर अनुसार दश मुहर्रम पर्व प्रत्येक वर्ष मनाइन्छ। इस्लामिक नयाँ वर्ष हिजरी संबत्को एकदेखि १० दिनसम्म यो पर्व मनाइने मुस्लिम मौलाना बताउछन्। मोहर्रमको १० औ तारेखलाई आसुरा भनिने तथा त्यसै दिन मस्जिदमा कुरान पाठ गरी गर्ने र सांझ मुख्य पकवान, खिचँडी वा हलिम खाने चलन रहेको मुस्लिम अगुवा रउफ अहमद खाँले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.