|

त्रिपुराकोट : पहिरोको कारण दुई सातादेखि अवरुद्ध खदाङ–त्रिवेणी सडकखण्ड अझै खुल्न सकेको छैन्। अवरुद्ध सडक खुलाउनेतर्फ सम्बन्धित निकायको ध्यान नगएपछि सडक खुल्न नसकेको हो।

वर्षातका कारण रुकुमको त्रिवेणी बजारदेखि खदाङसम्मको नौ किमी सडकखण्डको दर्जनौ स्थानमा पहिरो गएपछि खदाङ–त्रिवेणी सडकखण्ड अवरुद्ध भएको थियो। सडक अवरुद्ध भएपछि आन्तरिक रुपमा चल्दै आएका जीप, ट्याक्टर लगायतका यातायातका साधनहरू ठप्प भएकाछन् भने पैदलयात्रा गर्ने सर्वसाधारणलाई समेत सास्ती भएको छ।

पहिरो हटाउएर यातायात सुचारुगर्ने कुरामा सम्बन्धित पक्षले चासो नदेखाँउदा यात्रुहरु जोखिम मोल्दै यात्रागर्न बाध्य भएको स्थानीयले बताए। जाजरकोट–डोल्पा सडकखण्ड निर्माणको जिम्मा लिएको सेनाले पनि पहिरो हटाउने कुरामा चासो नदेखाएको भन्दै सर्वसाधारणले गुनासो गरेका छन्।

'पहिला त्रिपुरा सुन्दरी नगरपालिका ५ मा पर्ने हरियापानी बजारबाटै गाडी पाईन्थ्यो, डोल्पालीलाई जिल्ला बाहिर आवत/जावत गर्न सहज भएको थियो, अहिले गाडी भेट्न झन्डै एक दिन हिँडेर रुकुममा पर्ने त्रिवेणी बजार पुग्नु पर्छ' त्रिपुरा सुन्दरी नगरपालिका १ का जमान सिंह कठायतले भने, 'अब बर्षात पनि रोकिएकाले छिटो पहिरो हटाएको भए यात्रुहरूलाई गन्तब्यसम्म पुग्न सहज हुने थियो।'

पहिरोकै कारण सडक अवरुद्ध भएकाले दैनिक उपभोग्य सामान ढुवानीकालागि समस्या हुनुका साथै सामानको मूल्य पनि बडेको स्थानीय ब्यापारीहरूले बताए। विभिन्न ठाँउमा गएको पहिरोको कारण रुकुमको गोतामकोट देखि त्रिवेणीसम्मको गाडीको यात्रा पनि जोखिमपूर्ण भएको यात्रुहरूले गुनासो गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.