|
फाइल फोटो

बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको २६ किलोमिटर सुरुङ खन्ने काम गत चैत महिनामै सकियो। उपराष्ट्रपति नन्दबहादुर पुनले रिबन काटेर आयोजनाको सुरुङको 'ब्रेकथ्रु' गरे।  सुरुङको 'फिनिसिङ'को काममा तीन महिनामा सक्ने जनायो। पिनिसिङपछि थप परीक्षणका लागि एक महिना गरी चार महिना लाग्ने आयोजनाले जनाय। सोहीअनुरूप काम पनि भयो।

ब्रेकथ्रु कार्यक्रममा खानेपानी मन्त्री विना मगरले बाँकी कामलाई तीव्र गतिमा निरन्तरता दिन पनि निर्देशन दिइन। दसैंअघि नै काठमाडौंवासीको धारामा सिन्धुपाल्चोक मेलम्चीको पानी पुग्ने उनले उद्घोष गरिन्। तर, दसैंमा मेलम्चीको पानी काठमाडौं पुग्ने समयसीमा टर्ने पक्का भएको छ।

आयोजना सुरु भएसँगै पटकपटक सरकार परिवर्तन भइरहँदा मेलम्चीको पानी काठमाडौं पुग्ने समयसीमा पनि परिवर्तन हुँदै गएको छ। मेलम्चीको पानी काठमाडौं पुग्ने समय अझै अनिश्चित रहेको मेलम्ची खानेपानी आयोजनाको सूचना अधिकृत राजेन्द्र पन्तले जानकारी दिए।

'भूइँको ढलान र पलास्टर गर्ने काम सक्ने अवधीसम्ममा करीब ६० प्रतिशत मात्रै सम्पन्न भएको छ। २६ किलोमिटर रहेको सुरुङमा फिनिसिङको काम १४.५ प्रतिशत मात्रै सकिएको छ', उनले भने,‘११.५ किलोमिटर सुरुङ निर्माणको काम मात्रै सकिएको छ, दैनिक २५० मिटरको हिसाबले काम गरेमा अबको करीब दुई महिनामा मात्रै फिनिसिङको काम सक्नेछ।’

सूचना अधिकृत पन्तका अनुसार फिनिसिङपछिको आवश्यक फलामको काम गर्ने मेसिनहरू सबै नेपालमै नभएकाले भारतको विभिन्न ठाउँबाट ल्याउनुपर्ने भएको छ। मेसिन ल्याउने निर्देशन भए पनि कहिले ल्याउने भन्ने एकिन निर्णय भएको छैन। फिनिसिङको साथै फलाम र भ्यन्टिलेशनको कामसँगै भएमा अबको दुई महिनामा करिब काम सक्ने सम्भावना देखिन्छ। तर, निर्माण सामग्रीको अभाव निर्माण काम्पनीको ढिलासुस्ती पहिलेकै जस्तो भयो भने यही मितिमा मेलम्चीको पानी काठमाडौँ पुग्छ भन्ने अवस्था नरहेको उनले बताए।

तीनवटा भेन्टिलेटर तथा सुन्दरीजलमा प्रशोधन केन्द्र बनाउने र प्रशोधन केन्द्रदेखि सुरुङसम्मको काम बाँकी रहेको छ। आयोजनाको कुल लागत २७ अर्ब ७६ करोड रहेको छ। पहिलो चरणमा मेलम्ची नदीबाट दैनिक १७ करोड लिटर, दोस्रो चरणमा याङरीबाट १७ करोड लिटर र तेश्रो चरणमा लार्केबाट दैनिक १७ करोडसमेत गरी काठमाडौं उपत्यका दैनिक ५१ करोड लिटर पानी लैजाने योजना रहेको छ।

२००१ मा ३७ अर्ब बजेट विनियोजन गरी खानेपानी आधिकारिक सुरुवात भएको भए पनि ०४५ मा बिन्नी एन्ड पाटनर्स युकेले खानेपानी समस्या समाधानका लागि २० आयोजनाको सम्भाव्यता अध्ययन गरेको थियो। तीमध्ये मेलम्ची आयोजनालाई पहिलो प्राथमिकतामा राखिएको थियो। ०४७ मा  स्टेनले एन्ड एसोसिएसनले मेलम्चीबारे थप अध्ययन गरेको थियो भने ०४९ को अस्ट्रेलियन कम्पनी स्मेकले गरेको अध्ययनले मेलम्चीको विकल्प नभएको ठहरसमेत गरेको थियो।

खानेपानी आयोजना निर्माणको लागि नेपाल सरकारले चिनियाँ ठेकेदार कम्पनी चाइना रेलवे १५ ब्युरो ग्रुप कर्पोरेसन र सिआरसिसीसँग सन् २००९ मा पहिलो सम्झौता गरेको थियो। सम्झौताअनुसार काम नभएपछि ६ किलोमिटर सुरुङ खनेको उक्त चिनियाँ कम्पनीसँग सन् २०११ मा सरकारले सम्झौता तोड्यो। त्यसपछि ०७३ वैशाखमा पानी काठमाडौंमा वितरण गर्ने लक्ष्यसहित इटालियन कम्पनी को अपेराटिभ मुरातोरी एन्ड केमेन्टेस्टी (सिएमसी) सँग सन् २०१३ मा ७ अर्ब ७२ करोड रुपैयाँमा सुरुङ र बाँधको काम सक्ने गरी नयाँ ठेक्का सम्झौता गरियो। मार्च २०१८ सम्मको लागि अन्तिम समयसीमा तोकिएको सिएमसीले लक्ष्यअनुसारकै मितिमा काम सम्पन्न गरेमा बोनस उपलब्ध गराइने घोषणासमेत गरिएको थियो। अन्तिम समयमा कुल २३ अर्बको लगानीमा काठमाडौंवासीलाई मेलम्चीको पानी खुवाउने लक्ष्यका साथ काम भइरहेको आयोजनाको काठमाडौं उपत्यकाभित्र खानेपानी वितरणको लागि पाइप गाड्ने काम पनि सम्पन्न भइसकेको छ।

प्रधानमन्त्री फेरिएपिच्छे मेलम्ची खानेपानी आयोजनाको सुरुङ र विभिन्न निर्माणस्थलको निरीक्षण गरिने गरिएको छ। तर, आयोजनाले काठमाडौंमा चाँडै पानी पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको कयैँपटक भइसकेको छ। गतसाल पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' निरीक्षणमा आउँदा आयोजनाले ०७४ को सुरुसँगै काठमाडौंमा पानी प्रतिबद्धता गरेका थिए। ०७४ को अन्यमा आएर सुरुङ खन्ने काम मात्रै सकियो। अझै काठमाडौं पानी पुग्न कति समय लाग्छ भन्न सक्ने अवस्था छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.