|

सिन्धुली : खुट्टामा फुटबल जुत्ता, फुटबलकै ड्रेस लगाएका डेढदेखि साढे दुई फुटसम्मको उचाइ भएका सानासाना बालबालिका चौरमा फुटबल खेलमा मस्त रमाइरहेको देखिन्छ।

सिन्धुलीको कमलामाई नगरपालिका ६ स्थित लोकतान्त्रीक चौरमा साताको शुक्रबार र शनिबार करिव तीन सयको हाराहारीमा सानासाना बालबालिका समूह बनाएर फुटबल खेल्दै गरेका भेटिन्छन्। विद्यालयस्तरबाटै नयाँ फुटबल खेलाडी उत्पादनका लागि अखिल नेपाल फुटबल संघको आयोजना तथा जिल्ला फुटबल संघको समन्वयमा बालबालिकालाई फुटबल तालिम दिन सुरु गरिएको हो।

आगामी चार वर्षसम्म प्रत्येक हप्ताको शुक्रबार र शनिबार जिल्लाका सात स्थानीय तहमा ८ वर्षदेखि १२ वर्षसम्मका बालबालिकालाई फुटबल खेल्न सिकाउने उद्देश्यका साथ तालिमको आयोजना भएका जिल्ला फुटबल संघ सिन्धुलीका कोषाध्यक्ष उत्पल खड्काले जानकारी दिए।  यसरी दिइने तालिमले नयाँ खेलाडी उत्पादनका लागि सहयोग पुग्ने अपेक्षाले रहेको कोषाध्यक्ष खड्काले बताए। साताको प्रत्येक शुक्रबार र शनिबार तालिम दिइने गरिएको उनले जनाए।

फुटबलको तालिममा सरकारी र निजी विद्यालयका बालबालिका सहभागी भएको कोषाध्यक्ष खड्काले बताए। देशका ४५ जिल्लामा गत हप्ताबाटनै तालिम सुरु भएको र सोहीअनुसार सिन्धुलीमा पनि बालबालिकालाई फुटबलको तालिम दिइएको कोषाध्यक्ष खड्काले जनाए। 'हामीले तीन सय बढी बालबालिकालाई यो तालिममा सहभागि गराएका छौँ, समुह समुहविच प्रतिस्पर्धा गराउछौँ', उनले भने, ‘तालिम अवधिभरीमा फुटबलमा देशलाई आवश्यक पर्ने योग्य खेलाडी प्रशस्तै उत्पादन हुन्छन्।'

तालिम आयोजना गर्न तथा खेलमैदान सरसफाई गर्नका लागि एन्फाले पाँच लाख रुपैयाँ बजेटसमेत उपलब्ध गराएको उनले बताए। गत हप्ता नै खेल सिक्ने बालबालिकालाई खेल्नका लागि आवश्यक पर्ने बल लगायतका केही सामग्रीसमेत एन्फाबाट उपलब्ध भएको जिल्ला खेलकुद संघले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.