|

तेह्रथुम : तेह्रथुम जिल्लाको विद्युत क्षेत्रको विकासका लागि हालसम्मकै उच्च बजेट विनियोजन भएको छ। जिल्लाका ६ वटा स्थानीय तहमा विद्युतीकरणको लागि ३८ करोड ५० लाख बजेट विनियोजन भएको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनका प्रमुख स्वकीय सचिव दुर्गाप्रसाद चापगाईंले जानकारी दिएका छन्।

सन् २०२१ सम्ममा नेपालको सम्पूर्ण भूभागमा विद्युत पुर्‍याउने लक्ष्य लिएको नेपाल सरकार ऊर्जा मन्त्रालयको कार्ययोजनाभित्रै रहेर तीन वर्षभित्र तेह्रथुममा पनि उक्त लक्ष्य हासिल गर्न सहयोग गर्ने उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ। यस कार्यमा मन्त्रीको प्रतिवद्धताले भविष्यमा पनि तेह्रथमका सबै भूभागमा विधुतीकरण गरिसक्ने प्रण गरिएको प्रमुख स्वकीय सचिव चापगाईको भनाई छ।

आव २०७४/०७५ मा ग्रामीण विद्युतीकरणका लागि माग भएवमोजिम तेह्रथुमका ६ वटा पालिकाको लागि ३३ करोड बजेट विनियोजन भएको नेपाल विद्युत प्राधिकरण, अनुगमन तथा एमआइएस शाखाले जनाएको छ। त्यसै गरी चालु आवमा जिल्लावाइज अन्य ग्रामीण विद्युतीकरण कार्यक्रम अन्तर्गत वितरण तथा ग्राहक सेवा निर्देशनालय, विराटनगर क्षेत्रीय कार्यालयले पाँच करोड ५० लाख रकम विनियोजन गरेको छ। जसअन्तर्गत फेदाप गाउँपालिकाको लागि ९० लाख, मेन्छ्यायेम गाउँपालिकाको लागि ३० लाख, आठराई गाउँपालिकाको लागि एक करोड ७० लाख, छथर गाउँपालिकाको लागि १२ लाख, फेदाप गाउँपालिका ४, सम्दूको लागि २५ लाख र म्याङ्लुङ र लालीगुराँस नगरपालिकाका साथै मेन्छ्यायेम गाउँपालिकाका विभिन्न स्थानहरुको लागि ३० लाख रकम विनियोजन भएको छ।

हालसम्म पनि विद्युत नपुगेका जिल्लाका आठराई क्षेत्र र फेदाप गाउँपालिका ४, सम्दूमा विद्युत विस्तार गर्ने र विगतमा विस्तार भएका स्थानहरुमा जीर्ण भएका काठका पोलहरू फेर्ने कार्य प्राथमिक चरणमा सञ्चालन गरिने नेपाल विद्युत प्राधिकरण, तेह्रथुम वितरण केन्द्रका प्रमुख प्रेमबहादुर भण्डारीले बताए।

विभिन्न ठाउँमा ट्रान्स्फर्मर पनि जोडिने भन्दै उनले हाल सञ्चालनमा रहेको वितरण तथा प्रसारण प्रणालीलाई पनि सुधारेर लैजाने उद्देश्य रहेको जानकारी दिएका छन्। बजेट विनियोजन हुनु मात्र ठूलो कुरा नभई समयमा नै त्यसको सवल कार्यान्वयन हुनु महत्वपूर्ण कुरा हो।

कार्यान्वयनको लागि स्थानीय तहका जनप्रतिनिधि र सचेत नागरिकलाई हार्दिक आग्रहका साथ यस कार्यमा सहभागी हुन संघीय सांसद, जनप्रतिनिधि, मन्त्रीको नीजि सचिवालय, मन्त्रालयका सचिव, नेपाल विद्युत प्राधिकरण लगायत सबै सरोकारवालालाई अनुरोध गरिएको बुझिएको छ।

जिल्लामा हालसम्म ६७ प्रतिशत मात्र विद्युत विस्तार भएको कार्यालयको तथ्यांक छ। आगामी दुई वर्षभित्र सतप्रतिशत विद्युत विस्तार तरिने भनिएपछि यस कार्यको स्वागत गर्दै समयमा नै बजेटको सही कार्यान्वयनका साथै उज्यालो तेह्रथुम बन्ने कुराले हर्षित बनाएको भन्दै स्थानीयले खुसी व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.