|

काठमाडौं : नेपाली चलचित्रकी नायिका सोविता सिम्खडाको उपन्यास वरांगना शनिबार एक समारोहबीच विमोचन भएको छ। बुलबुल पब्लिकेशनले प्रकाशन गरेको उपन्यास वरांगना पूर्वप्रधानमन्त्री तथा साहित्यकार लोकेन्द्र बहादुर चन्दको प्रमुख आतिथ्यमा उनसँगै विशिष्ट अतिथिहरू राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता मोहना अन्सारी, वरिष्ठ पत्रकार वविता बस्नेत, राष्ट्रिय दलित आयोगका पूर्वसदस्य सचीव सीताराम घले परियार, साहित्यकार तथा सञ्चारकर्मी डा. नवराज लम्सालले संयुक्त रूपमा विमोचन गरेका हुन्।

नेपाल पर्यटन बोर्डको हल, भृकुटीमण्डपमा सम्पन्न कार्यक्रममा पमुख अतिथि पूर्वप्रधानमन्त्री चन्दले नेपाली साहित्य क्षेत्रमा लेखिकाको रूपमा सोविताको प्रवेशले नयाँ आयाम दिएको बताए। नेपाली चलचित्र क्षेत्रमा सक्रिय कलाकारको कृति व्यवसायिक लेखकको भन्दा कम नभएको उनको भनाई थियो। उपन्यास वरांगनाले नेपाली समाजको वास्तविकता बोकेको चन्दको टिप्पणी थियो।

पुस्तकको समीक्षा गर्दै साहित्यकार, सञ्चारकर्मी, समालोचक डा. नवराज लम्सालले वर्षौंदेखि विश्वविद्यालयमा पश्चिमा साहित्य पढाउँदै आएका प्राध्यापकहरूले अब वरांगना जस्ता उपन्यास हेरेर नेपाली विद्यार्थीले पढ्नुपर्ने कुराको मानक तय गर्नुपर्ने बताए। नेपाली चलचित्र क्षेत्रमा स्थापित भएकी एउटी नायिकाले लेखेको पुस्तक यति उच्च कोटीको बनेको छ भन्दै डा. लम्सालले अब नेपाली साहित्यमा उत्कृष्टताको खोजी अन्त्य हुँदै गरेको महशुश भएको बताए। नेपाली साहित्य हिँडिरहेको बाटोबाट अबको केही वर्षमै फरक मोड लिने कुरामा ठोकुवा गर्दै डा. लम्सालले वरांगना जस्तै थोरै कृतिहरूबाट यस किसिमको परिवर्तनको सुरुवात हुनेमा जोड दिए।

सञ्चारकर्मी तथा सहित्यकार वविता बस्नेतले वरांगना उपन्यास नेपाली समाजलाई परम्पराबाट अलग बाटोतर्फ  लैजान सफल हुन विश्वास व्यक्त गरिन्। सबै कोणबाट पुस्तक उपयुक्त रहेको भन्दै राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता मोहना अन्सारीले महिलाले लेखेको हुनाले उपन्यास लैंगिक समानता आवाज मुखरित गर्न प्रभावकारी रहेको भन्दै शुभकामना दिइन। कार्यक्रममा बोल्दै राष्ट्रिय दलित आयोगका पूर्वसदस्य सचीव सीताराम घले परियारले दलितलाई मुख्य पात्रका रूपमा उतारिएको उपन्यास सामाजिक दृष्टिकोणबाट हेर्दा कतै कमी कमजोरी नदेखिएको भन्दै प्रशंसा गरे।

कार्यक्रम लेखिका सोविता सिम्खडाकी हजुरआमा बालकुमारी सिम्खडाको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाली चलचित्रका एक दर्जन निर्देशकहरू र धेरै संख्यामा चलचित्र कलाकारहरूको उपस्थिति थियो। ऋक्षशिला समूहको सांगीतिक लाइभ धुनसँगै कार्यक्रमको सुरुवातमा लेखिका तथा नायिका सोविता सिम्खडा दियो बालेर स्टेजमा प्रवेश गरेको दृश्यले धेरै दर्शक प्रभावित भएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.