|

काठमाडौं : रेडियो नेपालले संस्कृत भाषामा समाचार प्रसारण गर्न सुरु गरेको २३ वर्षपछि नेपाल टेलिभिजनले पनि संस्कृत भाषामा समाचार प्रसारण गर्न सुरु गरेको छ। नेपाल टेलिभिजनले आज (शनिबार)देखि संस्कृत भाषामा समाचार प्रसारण सुरु गरेको हो।

अब हरेक शनिबार बिहान ९ बजे नेपाल टेलिभिजनबाट संस्कृत भाषामा समाचार प्रसारण हुने नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले जानकारी दिए। उनका अनुसार संस्कृत भाषाको प्रवर्द्धन र संरक्षणका साथै बहुभाषिक पहिचानयुक्त नेपालको भावनालाई राष्ट्रको प्रसारण संस्थाका तर्फबाट सम्बोधनको पहल हुने उद्देश्यले संस्कृत भाषामा समाचार प्रसारण गर्न लागिएको हो।

यसअघि टेलिभिजनले थारू, लिम्बू, भोजपुरी, मैथिली, नेवारी, अवधी भाषामा नियमित कार्यक्रम तथा नेपाली, अंग्रेजी र सांकेतिक भाषामा समाचार प्रसारण गर्दै आएको छ। डा विष्टले उक्त संस्कृत समाचारको प्रतिक्रिया हेरेर संस्कृतका महत्वपूर्ण ग्रन्थहरूमाथि संवादका कार्यक्रम पनि सञ्चालन गर्ने बताए।

नेपाली भाषाको जननी संस्कृति भाषा प्राचीनकालीन नेपालमा प्रयोगमा रहे पनि हाल स्वदेशमा कम प्रयोग र विदेशमा क्रमशः संस्कृतको अध्ययन हुन थालेको सन्दर्भमा संविधान दिवसको सेरोफेरोमा संस्कृत भाषामा समाचार सुरु गरिएको डा विष्टको भनाइ छ।

रेडियो नेपालले भने विसं २०५२ मा पहिलोपटक संस्कृत भाषामा समाचार प्रसारण सुरु गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.