|
फाइल फोटो

इलाम : स्थानीय तहले व्यक्तिग घटना दर्ता गराउँदा पनि चर्को रकम असुली गरे भन्ने समाचार आइरहेकै बेला इलामको एउटा गाउँपालिकाले भने प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ।

व्यक्तिगत घटना दर्ता प्रक्रियालाई सहज बनाउने उद्देश्यले इलाम फाकफोकथुम गाउँपालिकाले प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ। गाउँपालिकाको हालै सम्पन्न दोस्रो गाउँसभाले जन्मदर्ता र मृत्युदर्ता समयमै गरेमा प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय गरेको हो।

व्यक्तिगत घटनालाई प्रोत्साहित गर्न ३५ दिनभित्रमा घटना दर्ता गरेमा प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदीले जानकारी दिए।

गाउँपालिकाले तोकिएको समयमा व्यक्तिगत जन्मदर्ता गर्दा प्रसूति स्याहार भत्तावापत तीन हजार र मृत्यु दर्ता गरेमा मृतक परिवारलाई पाँच हजार रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराउने छ। 'जन्म र मृत्युको जानकारी समयमै पाएमा घटना दर्ता प्रक्रियासमेत सहज हुने भएकाले प्रोत्साहन रकम उपलब्ध गराउन लागिएको हो', प्रमुख प्रशासकीय अधिकृत सुवेदीले भने, 'यो प्रक्रिया चालु आवदेखि लागू भएको छ।'

यस्तैगरी बिरामी र दीर्घ रोगीलाई पनि गाउँपालिकाले उपचार खर्च प्रदान गर्ने भएको छ। क्यान्सर रोगी, मृगौला पीडित, मुटु रोगी, ब्रेन ट्युमर तथा ब्रेन ह्यामरेज, प्यारालाइसिस भई हिडडुल गर्न नसक्ने, दुर्घटनामा परी अंगभंग भएका तथा आगलागीमा परी अपांगता भएका व्यक्तिलाई वार्षिक २० हजार रुपैयाँ र अन्य दीर्घरोगीलाई वार्षिक पाँच हजार रुपैयाँका दरले उपचार खर्च उपलब्ध गराउने बताइएको छ।

सम्बन्धित वडाको सिफारिसका आधारमा प्रोत्साहन रकम तथा उपचार खर्च उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले गरेको यो निर्णयप्रति फाकफोकथुमबासी हर्षित भएको गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.