|

पोखरा : पाँच करोड रुपैयाँ लगानीमा पोखरा लेकसाइडस्थित हल्लनचोकमा ‘डान्सिङ बोट’ नामक ‘पब’ संचालनमा आएको छ। पबको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले उद्घाटन गरेका हुन्। ‘चिल्ली बार’ पोखराको व्यवस्थापनमा संचालनमा आएको ‘पब’ बाजेदेखि नाती पुस्तासम्मकै लागि लक्षित गरि संचालनमा ल्याएको सञ्चालकहरुले बताएका छन्। 

लेकसाइडका पुराना रेस्टुरेन्ट व्यवसायीहरुले सँयुक्त रुपमा यो ‘पब’मा लगानी गरेका छन्। विश्वराज पौडेल, भीष्मराज पौडेल, वेदप्रसाद बराल, मीनराज पौडेल, दामोदर पौडेलले संयुक्त लगानी गरेर यो ‘पब’ संचालनमा ल्याएका हुन्। पारिवारीक लगानी रहेको ‘पब’मा एकैचोटी २ सय ५० जनालाई सेवा प्रवाह गर्न सकिने ‘पब’ व्यवस्थापनले जनाएको छ। 

उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री गुरुङले पोखरामा ‘रेस्टुरेन्ट कल्चर’ बढ्दै गएको सुनाए। उनले भने ‘रेस्टुरेन्ट कल्चर बढ्दै जाँदा यसले प्रत्यक्ष रुपमा प्रदेशको आर्थिक उन्नतीमा पनि प्रभाव पारेको छ। यहाँको पर्यटकीय संभावना बढाउन नीजि क्षेत्रको लगानीले ठूलो भुमिका खेलेको छ।’ उनले पबको सफलताको शुभकामना दिँदै लगानीको वातावरण बनाउन प्रदेश सरकारले उचित वातावरण बनाउँदै लैजाने बताए। 

‘पब’का प्रबन्ध निर्देशक समेत रहेका भीष्मराज पौडेलले गण्डकी प्रदेशलाई पर्यटकीय हब बनाउनका लागि एउटा सानो प्रयास आफुहरुले गरेको बताए। ‘हामीले अन्तराष्ट्रिय मापदण्डअनुसार यो पबलाई पोखरामा संचालनमा ल्याएका हौँ। पब पारखीहरुका लागि यो डेस्टिनेशन बन्न सक्छ।’ ‘फुड, ड्रिंक्स एण्ड म्यूजिक’ थिममा सञ्चालनमा आएको ‘पब’ अपरान्ह १२ बजेदेखि राति ११ बजेसम्म खुल्ने उनले जानकारी दिए। ‘पब’मा दैनिक स्थानिय तथा राष्ट्रिय ब्याण्डहरुको प्रस्तुती रहने उनको भनाइ छ। 

‘पब कल्चर’ सत्रौँ शताब्दीतिर ब्रिटिश र आयरल्याण्डबाट शुरु भएको मानिन्छ। ‘पब’लाई सामान्यतया मानिसहरु जमघट भई सामाजिक रुपमा घुलमिल हुने र खानपिन तथा संगितमा झुम्दै ‘रिफ्रेश’ हुने ठाऊँको रुपमा लिईन्छ। ब्रिटिश र आयरल्याण्डबाट शुरु भएको ‘पब’ सँस्कृति अहिले विश्वव्यापी रुपमा फैलिएको छ। 

सञ्चालनमा आएसँगै ‘पब डान्सिङ बोट’ले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत मुनाफाको केहि रकम फेवाताल संरक्षणका लागि खर्च गर्ने जनाएको छ। ३ महिनासम्म ‘सफ्ट ओपनिङ पिरियड’ रहने जनाएको पबमा यो अवधीमा ग्राहकहरुका लागि १० प्रतिशत छुटको व्यवस्था पनि गरिएको प्रबन्ध निर्देशक  भीष्मराज पौडेलले जानकारी दिए। 


 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.