|

काठमाडौं : राष्ट्रकवि माधवप्रसाद घिमिरे आज (असोज ७)बाट १०० वर्ष लागेका छन्। आइतबार उनको निवासमा पुग्दा उनले आफू सय वर्ष बाँच्नुको पहिलो कारण नेपाली जनताको माया र आशीर्वाद रहेको बताए। घिमिरे लमजुङको पुस्तुनमा वि.सं १९७६ असोज ७ गते पिता गौरीशंकर र माता द्रौपदीका जेठा छोराका रूपमा जन्मिएका उनी नेपाली छन्द कविता, खण्डकाव्य र गीत लेखनमा अब्बल मानिन्छन्। 

उनको पछिल्लो बहुप्रतीक्षित महाकाव्य ‘ऋतम्भरा’ प्रकाशनको तयारीमा रहेको पनि उनले बताए। बिरामीका कारण चार-पाँच महिना लेख्न नसकेका कारण केही ढिला भएको उनको भनाइ छ। उनले आफू  पूर्ण स्वस्थ हुन अझै पाँच-छ महिना लाग्ने पनि बताए। ‘ऋतम्भरा’ कहिले आउँछ? भन्ने प्रश्नमा उनले अब दुई सर्ग मात्र लेख्न बाँकी रहेको बताए । कस्तो विषयवस्तु छान्नुभएको छ? भन्ने प्रश्नमा उनले भने, 'हामी अहिले अलिक बढी प्रविधिमैत्री भइरहेकाले हाम्रो बौद्धिकता गुम्दै गएको र हामीमा मानवीयता पनि ह्रास हुँदै गएकाले पहिलो आवश्यकता नै मानवीयता हो भन्ने आशय नै ‘ऋतम्भरा’को विषयवस्तु रहेको छ।' ऋतम्भरा लेखिसकेपछि भने उनी ‘आए लेख्ने, नआए बल गरीगरी नलेख्ने’ पक्षमा छन्।

'छोराछोरी आआफ्नै पेसामा छन्। महाकाव्य लेख्नै पर्छ भन्ने पनि केही छैन तर पाठकको आग्रहलाई आफूले नकार्न नसकेको मात्र', उनी भन्छन्, ‘पहिलेको जस्तो आफूमा तन्दुरुस्ती नभएकाले  रात विरात निद्रा फालेर बिरामी ज्यानलाई सकस दिने पक्षमा छैन।' उनको सयौँ वर्षगाँठ मनाउँदै गर्दा परिवारका सबै सदस्य एकै ठाउँमा भेला भएका थिए। उनका आठ जना सन्तानमध्ये गौरीतर्फका दुई छोरी र महाकाली श्रीमतीबाट छ सन्तान रहेका छन्। राष्ट्रको गौरवका रूपमा रहेका उनी  प्राकृतिक प्रेम, मानवीयता तथा राष्ट्रप्रेमले भरिएका सिर्जनाले हरेक नेपालीको मनमस्तिष्कमा बस्न सफल छन्। प्रेम, सौन्दर्य, प्रकृति र राष्ट्रियताको विषयमा सयौँ रचना गरेर नेपालीजनमा लोकप्रिय उनी आफ्ना छोराछोरी, छिमेकीको नजरमा कस्ता छन् त?

छोराछोरीहरूका  नजरमा घिमिरे

जेठी छोरी शान्ति अधिकारीले आफ्ना पिता सयौँ वर्ष पुगेको कुराले हर्षविभोर भएको बताइन्। उनले आफ्नी स्वर्गीय आमा गौरीको पनि सम्झना गरिन्। 'आज आमा भएको भए कति धेरै खुसी हुनुहुन्थ्यो होला!' जन्मदिने आमा नभए पनि कान्छी आमाको माया र ममताका कारण स्वर्गीय आमाको कमी महसुस नगराएको समेत उनले बताइन्। यस्तै, बाबाले पनि सबै छोराछोरीलाई माया र ममतामा कमी नल्याएको उनको भनाइ छ। महिलालाई कहिल्यै दोस्रो दर्जाको रूपमा प्रस्तुत गर्नुहुन्न भन्ने बुबाको सोच नै गौरवको विषय रहेको उनले बताइन्। गौरीतर्फका शान्ति र क्रान्ति दुई छोरीले अर्को जुनी मान्छे भएर जन्म लिन पाए बुबाकै छोरी भएर जन्मन पाऊँ भन्ने आशय व्यक्त गरे।

सय वर्ष पुग्ने विरलै बुबाहरूमध्ये आफ्ना बाबु पुग्दा जिन्दगीकै ठूलो खुसी लागेको साहिँली छोरी मन्जु अधिकारीले बताइन्। सधैँ सकारात्मक सोच राख्ने र कसैलाई पनि आफ्नो दु:ख देखाउन नचाहने बुबाको गुण रहेको उनको भनाइ छ। योगा, सक्रियता, सिर्जनशीलता र सकारात्मक सोच नै बुबा दीर्घायु हुनुको कारण रहेको घिमिरेकी पाँचौँ (अन्तरी) छोरी डा. किरण रेग्मीले बताइन्। उनले बुबा एकदमै जागँरिलो र रसिक भएको बताइन्।

बन्धनमा राख्न नचाहने र छोरीहरूलाई पढाएर आफ्नै खुट्टामा उभिनुपर्छ भनेर सधैँ उत्प्रेरणा दिइरहने पिताको रूपमा चित्रित गर्न मनपराउछिन् घिमिरेकी साहिँली छोरी मन्जु।

घिमिरेका कान्छा छोरा राजीव घिमिरे पेसाले इन्जिनियर हुन्। उनले बुबा सय वर्ष पुग्दा उत्सव जस्तो लागेको प्रतिक्रिया दिए। बाबुको छत्रछायामा भए पनि कविता लेख्न नसकेको उनको भनाइ थियो। 'कविता लेख्न एकदमै गाह्रो रहेछ। एक-दुईचोटि बुबाले लेख्न सिकाउनुभएको थियो', उनी भन्छन्, 'कविता कर्म एकदमै गाह्रो विषय हो, यसैले इन्जिनियरिङ रोजेको हुँ।' आफू स्थापित लेखक भए पनि आफूमाथि कहिल्यै यही लक्ष्य लिनुपर्छ भनेर दबाब नदिएको उनले बताए। छोराछोरीलाई आफूले चाहेको लक्ष्यमा अघि बढ्नू भनेर सधैँ हौसला दिइरहने घिमिरेलाई उनले स्वतन्त्रताप्रेमी पिताको उपमा दिए।

छिमेकीका नजरमा घिमिरे

छोराछोरीको नजरमा जति अब्बल छन् घिमिरे, छिमेकीको नजरमा पनि उनी उस्तै अब्बल रहेका छन्। उनकी छिमेकी चन्द्र घिमिरेले सामाजिक सद्भाव र मेलमिलापमा माधव घिमिरेको उपस्थितिले थप ऊर्जा उत्पन्न हुने उनले बताइन्। 'घरबाट खासै बाहिर ननिस्किए पनि उनको साहित्य लेखनले समाजमा पारेको प्रभावले हामीलाई घिमिरेको छिमेकी हौँ भन्दा पनि गर्व महसुस हुन्छ', उनले थपिन्, 'हामी छिमेकीका लागि उहाँ प्रेरणाको स्रोत नै हो।'

आफू स्थापित र चर्चित लेखक भए पनि कहिल्यै घमण्ड नगर्ने र सधैँ सादा जीवन बाँच्न रुचाउने पात्रका रूपमा उनले घिमिरेलाई चित्रित गरिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.