|

काठमाडौं : नेकपा एमाले र माओवादी केन्द्रबीच केन्द्रमा एकीकरणपश्चात् तल्ला कमिटी, विभाग, जनवर्गीय संगठनबीच एकीकरणका निम्ति नेपाल कम्युनिस्ट पार्टी (ने क पा)ले गठन गरेको एकता कार्यदल विघटन गरिएको छ।

नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले विशेष परिपत्र जारी गर्दै तल्ला कमिटी एकीकरण गर्न बनाइएका सबै कार्यदल विघटन गरिएको जानकारी गराएका हुन्। पार्टीका प्रदेश र जिल्ला तह तथा जनवर्गीय संगठनहरूको केन्द्रीय तहमा एकीकरणका सम्बन्धमा सिफारिस प्रतिवेदन प्रस्तुत गर्ने कार्यदलहरूलाई धन्यवाद दिँदै आलोचनात्मक टिप्पणीसमेत गरिएको छ। खासगरी हालसम्म पनि प्रतिवेदन नबुझाउने वा आंशिक प्रतिवेदन बुझाउने कार्यदलहरूलाई आलोचनासहित सबै कार्यदलहरू विघटन गरिएको परिपत्रमा जानकारी गराइएको छ।

गएको असोज ५ गते बसेको नेकपाको तेह्रौँ सचिवालय बैठकपश्चात परिपत्र जारी गरिएको हो। बैठकले नेकपाको प्रदेश कमिटीका इञ्चार्ज, अध्यक्ष, सहइञ्चार्ज र सचिवको जिम्मेवारी तोकेको थियो। सोही कमिटीले अब बाँकी एकता प्रक्रियालाई पूर्णता दिन भूमिका खेल्नेछ।  

सचिवालय बैठकमा पार्टीको प्रदेश, जिल्ला र सो मातहतको एकीकरणका सम्बन्धमा विशेष छलफल गरिएको थियो। त्यसअनुसार प्रदेश कमिटीको नेता छनोट गरे पनि कमिटीलाई पूर्णता दिन थप गृहकार्य गर्नुपर्नेछ। 'निश्चित मापदण्ड र प्राप्त सिफारिससमेतका आधारमा प्रदेश कमिटीमा सदस्यहरू मनोनीत गरिनेछ र कमिटीलाई पूर्णता प्रदान गरिनेछ', अध्यक्षद्वय ओली र दाहालद्वारा जारी परिपत्रमा उल्लेख गरिएको छ।

प्रदेश कमिटीका सदस्यहरू र जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरूका सम्बन्धमा पूर्वनिर्धारित मापदण्डका साथै थप मापदण्डहरू केन्द्रबाट छिट्टै पठाइने नेकपाले जनाएको छ।

एकीकरणको जिम्मेवारी प्रदेशका नेतालाई

यसैबीच नेकपाले सबै प्रदेशका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवहरूका लागि जिम्मेवारीसमेत तोकेको छ, जुन प्रदेश कमिटीले पूर्णता नपाउँदासम्मका लागि हुनेछ। यसअनुसार प्रदेशका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवले निम्नानुसारको काम गर्नुपर्नेछ।

  • प्रदेशका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवहरूका बीचमा नियमित बैठक बस्ने। पार्टीको विधान, नियमावली र निर्देशनहरूको मार्गदर्शन तथा विगतको सिफारिससमेतका आधारमा जिल्ला तहमा एकीकरण सम्पन्न गर्न आवश्यक गृहकार्य गर्ने।

  • सम्बन्धित तहका पूर्वकमिटी र तिनका पदाधिकारी तथा सदस्यहरूसँगको परामर्श र सुझावसमेतका आधारमा जिल्ला मातहतका सबै तहमा एकीकरण सम्पन्न गर्ने।

  • आफ्नो तह र मातहतका पार्टी कार्यालयहरूलाई एकीकृत गर्ने र नियमित एवं व्यवस्थित रूपमा संचालन गर्ने।

  • आफ्नो तह र मातहतको पार्टी सम्पत्ति एकीकृत गर्ने, आम्दानी र खर्चको संस्थागत प्रणाली स्थापित गर्ने र लेखा प्रणालीलाई व्यवस्थित गर्ने।

  • पार्टी सदस्यता एकीकृत गर्ने, अभिलेख अद्यावधिक गर्ने र केन्द्रीय सचिवालयमा बुझाउने।

  • प्रदेश, जिल्ला र सो मातहतका विभिन्न तहमा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना र संचालन गर्ने।

  • प्रदेश सरकार र स्थानीय तहको कामलाई प्रभावकारी बनाउन आवश्यक सहयोग गर्ने। ती निकायहरूसँग समन्वय गर्दै विकास निर्माण र जनसरोकारका रचनात्मक कार्यमा समग्र पार्टीशक्तिलाई परिचालित गर्ने।

  • उपरोक्तबमोजिम कार्यसम्पादन गर्दा नीतिगत वा व्यावहारिक रूपमा कुनै कठिनाइ उत्पन्न भएमा केन्द्रीय सचिवालयमा सम्पर्क गर्ने।


'नेकपाको तल्ला कमिटी, विभाग र जनवर्गीय संगठनहरूको एकताका लागि पार्टी नेता (दुवै पार्टी पूर्वइञ्चार्ज तथा अध्यक्ष) सम्मिलित एकता कार्यदल गठन गरिएको थियो, जसमध्ये धेरैले तोकिएको जिम्मेवारी पुरा गर्न सकेनन्', परिपत्रमा भिनएको छ।

पार्टीको प्रदेश र जिल्ला कमिटी एकताका निम्ति कमिटीको आकार, नेतृत्व, जनवर्गीय संगठनको हकमा नाम तथा झण्डासमेत जुराउनुपर्ने जिम्मेवारी थियो। तर पार्टीका सन्दर्भमा प्रदेश तथा जिल्लाबाट आएको सिफारिसमा एकतर्फी गरिएको भन्दै चर्को विवाद बढेपछि नेकपा सचिवालयले पार्टीका अध्यक्षद्वय ओली र प्रचण्डलाई जिम्मेवारी दिएको थियो।

सोहीअनुसार दुई अध्यक्षले गृहकार्य गरेर प्रदेश कमिटीको नेता तोकेर जिम्मेवारीसमेत तोकेको छ। पार्टी अध्यक्षले जारी गरेको परिपत्रअनुसार प्रदेश कमिटीले काम अगाडि बढाएको नेकपा ७ नम्बर प्रदेश संगठन कमिटीका अध्यक्ष कर्णबहादुर थापाले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.