|

एएफसी यू-१६ महिला च्याम्पियनसिप छनोटको अन्तिम खेलमा पनि नेपाल जित निकाल्न असफल भएको छ। अन्तिम खेलमा नेपालले मलेसियासँग ४-४ गोलको बराबरी खेल्यो।

हल्चोकस्थित एपीएफ क्लबको मैदानमा मलेसियाले लिएको सुरुवाती अग्रता उल्टाए पनि नेपालले जित निकाल्न भने सकेन। नेपालका लागि कप्तान प्रिती राई, शुष्मा तामाङ र सबिता रानामगरले एक/एक गोल गरेका थिए। नेपालले एक गोल आत्मघाती पायो। मलेसियाको लागि हेल्मा इम्लीले २ गोल गर्दा नरुल नबिला र विटी तामिङले समान एक गोल  गरे। यस्तै मलेसियाको लागि तामिङले नै आत्मघाती गोल गरेकी थिइन्।

योसँगै छनोटको समूह ‘इ’ मा रहेको नेपालले १ अंक जोडेर प्रतियोगिता सकाएको छ। मलेसियाले पनि अन्तिम खेलमा १ अंक जोडेको छ। चार टोली रहेको प्रतियोगितामा नेपाल पुछारमा रह्यो। गोल अन्तरमा मलेसिया तेस्रो स्थानमा रहेको छ।

अघिल्ला दुई खेलमा दुवै टोलीले पराजय व्याेहोरेका थिए। पहिलो खेलमा नेपाल फिलिपिन्ससँग ४-० ले पराजित भएको थियो भने दोस्रो खेलमा नेपाल म्यानमारसँग ११-१ ले पराजित भयो। मलेसिया पहिलो खेलमा म्यानमार र दोस्रो खेलमा फिलिपिन्ससँग पराजित भएको थियो।

यस छनोटबाट म्यानमारले दोस्रो चरणको छनोटमा स्थान बनाएको छ। समूह चरणको अन्तिम खेलमा आइतबार फिलिपिन्सलाई ५-१ ले हराएर म्यानमारले उपाधि जितेको हो। म्यानमारले ३ खेलबाट ९ अंक जोड्यो। र म्यानमारले अपराजित रहदै दोस्रो चरणको छनोटमा स्थान पक्का गर्‍याे। त्यस्तै  ३ खेलबाट ६ अंक जोडेको फिलिपिन्स उपविजेता बन्यो।  फिलिपिन्सको पनि उत्कृष्ट २ उपविजेता बन्दै दोस्रो चरणको यात्रा तय गर्ने सम्भावना छ।

दोस्रो चरणको छनोटबाट शीर्ष ४ टिमले थाइल्याण्डमा अर्को वर्ष हुने एएफसी यू-१६ महिला च्याम्पियनसिप खेल्नेछ। थाइल्याण्डमा हुने एएफसी यू-१६ महिला च्याम्पियनसिपमा ८ टोलीले खेल्नेछन्। आयोजक थाइल्याण्डसहित, जापान, दक्षिण कोरिया र उत्तर कोरिया फाइनल चरणको लागि छनोट भइसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.