|

तनहुँ : अवैध रूपमा नदीजन्य पदार्थ चोरी निकासी गर्ने ट्याक्टरलाई नियन्त्रणमा लिइएको छ। मादी नदीबाट नदीजन्य पदार्थ अवैध रूपमा चोरी निकासी गर्ने क्रममा २० ट्याक्टरलाई जिल्ला प्रहरी कार्यालय तनहुँले नियन्त्रणमा लिएको हो। 

आइतबार राती १ बजे बालुवा लोड गर्दै गरेको अवस्थामा ट्याक्टरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। ‘बालुवा निकासी गर्ने गरेको गुनासो बढेपछि हामीले निगरानी बढाएर बालुवा लोड गर्दै गरेको अवस्थामा फेला पार्‍यौँ र नियन्त्रणमा लिन सफल पनि भयौँ। प्रहरीको टोली पुगेको थाहा पाएपछि ट्याक्टरका चालक, सहचालक भने भागेका छन्’, उनले भने, ‘नियन्त्रणमा लिएको ट्याक्टरलाई कारवाहीका लागि व्यास नगरपालिकामा पठाएका छौँ।’

ती ट्याक्टरहरूका चालकलाई प्रहरीले खोजेर जिल्ला प्रहरी कार्यालयमा ल्याइएको उनले बताए। नदीबाट टेण्डरमार्फत् नदीजन्य पदार्थ निकासी गर्ने प्रावधान रहेको भए पनि ती ट्याक्टरहरूले अनुमति नलिई बालुवा निकालेका थिए। अनुमतिबेगर नै २० ट्याक्टरले नदीबाट बालुवा निकासी गरेको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताए।

न्यौपानेले नगरपालिकाले ती ट्याक्टरलाई कारवाही स्वरूप प्रति ट्याक्टर आठ हजार रुपैयाँका दरले जरिवाना असुल गर्ने जानकारी दिए। जरिवाना तिर्नका लागि व्यास नगरपालिकाको कार्यालय अगाडिको सडकमा नियन्त्रणमा लिइएका ट्याक्टर लामबद्ध राखिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.