‘जनयुद्धमा अत्यन्तै विश्वास गरिएकाबाट नै धोका भयो’

|

  • किशोर गौतम-

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले केपी शर्मा ओली नेतृत्वको सरकार ७ महिना हुँदासम्म पनि सकरात्मक काम हुन नसकेको बताएका छन्।

कम्युनिस्ट पार्टीको सरकारले ‘सुखी नेपाली समृद्ध नेपाल’को सपना बाँडेपनि त्यो पूरा हुनेमा भने शंका रहेको वैद्यको भनाइ थियो। मंगलबार पार्टीनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारि)को कीर्तिपुरमा सुरू भएको विशेष राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले भने, ‘कम्युनिस्ट भन्नेहरूले 'सुखी नेपाली र समृद्ध नेपाल'को सपना बाँडेका छन्। तर, सरकार बनेको ७ महिना यता हेर्ने हो भने प्रश्न उठेको छ, के सुखी नेपाली र समृद्द नेपाल सपना पूरा हुन्छ?’

महासचिव वैद्यले भने, ‘मुलुकमा भ्रष्टाचार, बलात्कार बढेको छ, ठूलो माछा साना, माछा भन्ने कुरा उठे तर कसैले कुनै माछा छोप्न सकेको छैन। यसबाट वाम र कम्युनिस्ट खोल ओढेका उनीहरूको ढोंग उत्रिएको छ।’

वैद्यले राष्ट्रियताको कुरा गर्ने पार्टी सरकारमा भएपनि नेपालको नक्शा भारतले बनाएको प्रयोग भइरहेको, नेपाली सीमा भारतले मिचेको र भारतले प्राकृतिक स्रोत साधन स्रोत हडप्दा पनि चुप लागेको बताए। उनले राष्ट्रियता, जनजीविकाका समस्या संकटमा परेको बताए। उनले त्यसका विरुद्धमा लाग्न विद्यार्थीहरूलाई निर्देशन दिएका छन्।

इतिहासका नायक खलनायक बने

वैद्यले माओवादी आन्दोलनमा गद्दारी भएको आरोप लगाएका छन्। उनले कुनै नेताको पनि नाम नलिइकनै ‘अत्यन्तै विश्वास गरिएकाबाट नै धोका’ भएको बताएका थिए। उनले भने ‘इतिहासका नायकहरू खलनायक भए। जनयुद्धमा महत्वपूर्ण भूमिका खेल्ने साथीहरू घुम्दैफिर्दै रुम्जाटार भनेजस्तै संसदीय व्यवस्थामा आएका छन्। संसदीय व्यवस्थाको लागि यत्रो पसिना, रगत बगाउन आवश्यक थिएन।’

वैद्यले क्रान्तिकारीहरूबीच एकताको कुरा भइरहेको बताएका छन्। उनले विद्रोहको निम्ती क्रान्तिकारीबीच एकता आवश्यक रहेको बताए। उनले क्रान्तिका निम्ती अझै बन्दुक उठाउन आवश्यक रहेको पनि दाबी गरे। विप्लवका प्रवक्ता प्रकाण्डमाथिको धरपकडले सरकार पञ्चायती शैलीमा चलेको उनको आरोप थियो।

पार्टीका नेता सीपी गजुरेलले गृहमन्त्री रामबहादुर थापा बादलको राजीनामा मागेका छन्। उनले निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई पत्ता लगाउन नसक्ने गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताए।

अखिल (क्रान्तिकारी)को भेलाले नयाँ नेतृत्व चयनका साथै, शैक्षिक क्षेत्रमा भित्राइएको नीजिकरणको विरुद्ध नयाँ नीति तथा विश्वविद्यालय सुधार लगायतका विषयमा रणनीति तय गर्ने केन्द्रीय सदस्य संघर्ष दाहालले जानकारी दिए। उक्त भेला भोलि बुधबार सकिने बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.