|

पोखरा : पुम्दीभुम्दीस्थित कोदीकी १० वर्षीया श्रेया सुनारको बलात्कारपछि हत्या भएको खुलेको छ। सोमबार साँझ ६:३० मा हजुरआमासँग पैसा मागेर घर नजिकैको पसलमा बिस्कुट किन्न गएकी श्रेया मंगलबार बिहान मृत अवस्थामा फेला परेकी थिइन्।

बलात्कारी आफ्नै छिमेकी 

घटना थाहा पाएलगत्तै डिएसपी नवीन कार्की नेतृत्वको प्रहरी टोलीले शंकास्पद केहीलाई नियन्त्रणमा लिएको थियो। प्रहरी स्रोतका अनुसार नियन्त्रणमा लिएकामध्येकाे २७ वर्षीय कुसुम पाैडेलले बलात्कारपछि हत्या गरेको स्वीकार गरेका प्रहरीले बताएका छन्। उनी श्रेयाकै छिमेकी हुन्। 

मेडिकल रिपोर्टमा बलत्कार

श्रेयाको पोस्टमार्टम रिपोर्टले पनि बलात्कारपछि हत्या भएको खुलेको छ। अनुसन्धानमा संलग्न एक चिकित्सकले थाहा खबरसँग भने, ‘बालिकाको बलात्कारपछि हत्या भएकै हो। बलात्कार गरेर ढुंगाले निधारमा हान्यो। अनि घाँटी थिचेर मार्‍यो।’ 

डिएसपी कार्कीले पनि घटनामा संलग्नलाई पक्राउ गरिसकेको बताए। उनले भने, ‘बालिकाको हत्यामा संलग्नलाई नियन्त्रणमा लिन हामीले सफल भइसकेका छौँ। अरु कुराहरु विस्तारै खुल्दै जान्छन्।’ डिएसपी कार्की नेतृत्वको टोलीले घटनास्थल सुरक्षित गर्नेदेखि अन्य प्रारम्भिक अनुसन्धानको काम गरेको थियो। प्रहरीका अनुसार घटनामा संलग्नले राति १० बजेतिर मात्रै बलात्कार पछि हत्या गरेको स्वीकारेका हुन्। 

मंगलबार ८ बजे श्रेयालाई मृत अवस्थामा फेला पार्नेबित्तिकै स्थानीयले प्रहरीलाई खबर गरेका थिए। गाउँलेले उनलाई पसलतर्फ जाने बीचको खोल्सी छेउको झाडीमा मृत भेट्टाएका हुन्। बिस्कुट किन्न गएकी श्रेया पसलमा पुग्नै पाइनन्। श्रेयाको निधारमा चोट देखिएको थियो। ‘उनको निधारमा गहिरो चोट थियो,’ डिएसपी कार्कीले भने, ‘शव झाडीमा घोप्टो परेको अवस्थामा भेटिएको थियो।’ 

त्यस्तै बालिकाको शरीरको तल्लो भागको कपडा खोलिएको र माथिल्लो भागको कपडा घाँटीसम्म आएको स्थानीय राजन मिजारले बताए। शव नजिकै रगत लतपतिएको तिखो ढुंगा समेत भेटिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.