|
फाइल फोटो

बागलुङ : गण्डकी प्रदेशका तीन जिल्लामा तीन करोड रुपैयाँको लागतमा तीन आकाशे पुल निर्माण सुरु गरिएको छ। मानिसको बढी आवातजावत हुने बागलुङ, म्याग्दी र मुस्ताङ जिल्लाका ठूला खोंच र नदीमाथि आकाशे पुल निर्माणको काम सुरु गरिएको हो।

सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले ठेक्का प्रक्रियामार्फत तीनवटै पुल निर्माणका लागि हिमशिर निर्माण कम्पनीलाई जिम्मा दिएको छ। २०७६ वैशाखभित्र तीनवटै पुल सक्ने गरी काम सुरु गरेको निर्माण कम्पनीका नरहरि खड्काले जानकारी दिए। तीन करोड रुपैयाँमा पुलको ठेक्का सम्झौता भएको छ।

बागलुङ नगरपालिका–५ मालिकादेखि म्याग्दीको बेनी नगरपालिका–२ को बीचमा रहेको ठूलो खोंचमाथि २६० मिटर, म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरस्थित कालीगण्डकी नदीमाथि १२१ मिटर र मुस्ताङको बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिका–३ को छुसाङस्थित कालीगण्डकी नदीमा १६५ मिटर लम्बाइको आकाशे पुल निर्माण हुनेछ।

तीन ठाउँमा निर्माण हुन लागेका तीनवटै पुल फरक प्रविधिबाट निर्माण गर्न लागिएको निर्माण कम्पनीका खड्काले जानकारी दिए। उनका अनुसार बागलुङ र म्याग्दी जोड्ने पुल ओपन प्रविधि, म्याग्दीको गलेश्वरमा निर्माण हुने एन टाइप प्रविधि र मुस्ताङको छुसाङमा निर्माण हुने पुल डी टाइप प्रविधिमा निर्माण हुनेछ।

नेपाल सरकारले मानिसको बढी आवातजावात हुने खोंच तथा नदीमाथि आकाशे पुल निर्माण गर्ने नीतिअनुसार निर्माणको काम सुरु गरिएको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले जनाएको छ। पुल निर्माण भए धेरै जनतालाई आवातजावतमा सहजता आउने बागलुङ नगरपालिका –५ का वडाध्यक्ष शिव सापकोटाले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.