|

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शान्ति सुरक्षाको प्रत्याभूति दिन नसकेको भन्दै गृहमन्त्रीको राजीनामा माग गरेको छ। मुलुकभर श्रृंखलाबद्ध महिला हिंसा र हत्याका घटना बढ्दै गइरहँदा घटनाको अनुसन्धान गर्न पनि सरकार असफल भएको भन्दै कांग्रेसले गृहमन्त्रीको राजीनामा माग गरेको हो। कांग्रेसले निर्मला पन्तको हत्याको प्रमाण नष्ट गर्न राज्य शक्तिको दुरुपयोग भइरहेको तथा अध्ययन प्रतिवेदन सार्वजनिक हुन नसकेको प्रति पनि गम्भीर आपत्ती जनाएको छ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतमले मुलुकभरको हत्या हिंसाको घटना रोक्न नसक्ने गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरिकी हुन्। उनले भनिन्, 'यो सरकारले हत्या हिंसाका श्रृंखलालाई रोक्न सकेको छैन। म निवेदन गर्न चाहन्छु। यति धेरै हत्या हिंसाका घटनाहरू र महिला अस्मितामाथि लागेका प्रश्न चिन्हको जिम्मेवारी लिएर गृहमन्त्रीले राजीनामा दिएर आफ्नो नैतिक उदारता देखाउनु जरुरी भइसकेको छ।'

एसिड प्रहार गरी महिलामाथि हिंसा गर्ने घटना बढ्दै गएको भन्दै उनले दिन प्रतिदिन हत्या हिंसाका घटना हुँदा राज्य मौन बसेको र कुनै पनि अपराधीलाई समातेर कारबाहीको दायरामा ल्याउन नसकेकोप्रति गम्भीर आपत्ती जनाइन्। उनले भनिन, 'विडम्बना छ। यो सरकार। यो शासनकालमा अपराधीले न त कानुनसँग डरायो न सरकारसँग डरायो।'

उनले हिंसा नियन्त्रणमा प्रतिपक्षी दलले सरकारलाई जुनसुकै सहयोग गर्न तयार रहेको बताइन्। उनले महिलाहिंसाका घटनालाई राजनीतिकरण नगर्न पनि सरकारको ध्यानाकर्षण गराइन्। उनले महिला विरुद्धका हिंसा र अस्मितामा प्रश्न चिन्ह खडा भएको बताउँदै भनिन्, 'सरकारले अपराधीलाई समातोस्। त्यो अपराधीले सरकारको भय त्रास डरबाट उन्मुक्ति हुन नपाओस्। त्यसको लागि प्रमुख प्रतिपक्षी दल कहा सहयोग गर्न सक्छ हामी सहयोग गर्न तयार छौँ। महिलाविरुद्धका हिंसाका घटनालाई राजनीतिकरण नगरियोस्।'

उनले दशैं तिहारको बीचमा मूल्यवृद्धि गरेर सरकारले गरीब जनताको ढाड सेक्ने काम गरेको आरोप लगाइन्। गरीब जनताले दशैं तिहार नबनाउनका लागि सरकारले इन्धन, यातायात, खाद्यान्न र करको दायरा बढाएको भन्दै उनले सर्वत्र छाएको मूल्यवृद्धि आफूहरूलाई स्वीकार्य नहुने चेतावनी पनि दिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.