|

बैतडी : महाकाली नदी किनारमा रहेको बैतडीको दशरथचन्द नगरपालिका–६, सेराका बासिन्दा बर्खाको समयमा सधैँ बाढीको त्रासमा हुने गरेका छन्। 

बर्सेनि नदीले जमिन कटान गर्दै लगेको स्थानीय बासिन्दाको भनाइ छ। बाढीले कुन दिन घर बगाउछ भनेर सेराका करिब एक सय परिवार सधैँ बाढीको त्रासमा हुन्छन्। गत वर्ष महाकाली नदीमा बाढी आउँदा ६ घर परिवार तीन दिनसम्म घर छोडेर आफन्तकोमा बसेको बताउँछन्।

‘राती ठूलो बाढी आयो पूरै घर हल्लिन थाल्यो राती नै घर छोडेर भाग्यौँ’ स्थानीय देवदत्त पन्तले पुरानो स्‍मरण सुनाए। नदी छेउमा रहेका घरमा बर्खामा सुन्त डर लाग्ने गरेको उनको भनाइ छ। नदीले बर्सेनि खेतीयोग्य जमिन कटान गर्दै लगेको छ।

नेपाल–भारत सीमा नदी महाकाली किनारको उब्जाउ फाँट सेरा अन्न उत्पादनको लागि राम्रो मानिन्छ तर वर्षैपिच्छे कटानमा पर्दै आएको छ। नदी किनारका स्थानीय बर्खामा मात्र होइन अन्य महिनासमेत नदीको जोखिममा छन्। नदीमा बाढी आएको जानकारी दिने पूर्वसूचना प्रणाली नहुँदा झन् समस्या भोग्नुपरेको स्थानीको गुनासो छ।

भारतको धौलीगंगा र चमेलिया जलविद्युत् आयोजनाले बाँध खोल्दा पानीको सतह बढ्ने गरेको छ्। कुनै बेला नदीको सतह घट्छ कुनै बेला बढ्छ,’ स्थानीय कैलाश जोशीले भने, धौलीगंगा बाँध खोलेपछि पानीको सतह बढेर बगाउने चिन्ता लाग्ने गरेको छ।’ नदी किनारमा माछा मार्न वा नुहाउन गएका बेलासमेत डर लाग्ने गरेको छ।

सीमापारि भारतले नदी किनारमा बसेकालाई बाढी आउँदा र बाँध खोल्दा सतर्क गराउने गरेको छ। तर सीमा वारि भने पानीको सतह बढेको जानकारी दिने पूर्वसूचना प्रणाली पनि छैन। सीमा क्षेत्रमा फोनले पनि काम गर्दैन फोनबाट जानकारी दिन पनि सम्भव नभएको स्थानीय बताउँछन्। ‘नदीमा बाढी आए कसरी बच्ने?’, स्थानीय पूर्णानन्द जोशीले भने, ‘कुन बेला बाढी आउँछ थाहा नै हुदैन।’

बाँध खोल्दा अचानक पानीको बहाव बढ्दा नदी किनारमा गएका बालबालिकासमेत असुरक्षित हुने गरेको स्थानीय बताउँछन्। ‘नदी किनारतिर बालबालिका जाने चिन्ता सधैँ रहन्छ, वडा सदस्य सीता कार्कीले भनिन्, पानी पिउन र अहालको लागि लगेका गाईभैँसीसमेत बगाउने डर हुन्छ।’

उब्जाउ जमिन भएकाले यो ठाउँ छोडन नसकेको स्थानीय बताउँछन्। माछा  र तरकारीबाट गुजारा गर्दै आएका आर्थिक अवस्था कमजोर भएका स्थानीय अन्यत्र सर्ने अवस्थासमेत नभएको बताउँछन्। महाकाली  किनारको बस्ती सेरा मात्र होइन दशरथचन्द नगरपालिका, पञ्चेश्वर र शिवनाथ गाउँपालिका क्षेत्रका नदी किनारका बासिन्दा सधैँ त्रासमा हुने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.