‘जनताले काम र परिणाम खोजेका छन्, सरकारले आफ्नो समीक्षा गरोस्’

|

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा सरकारको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले मुलुक ठिकठाक ढंगले नचलिरहेको भन्दै असन्तुष्टी जनाएका छन्।

प्रतिनिधिसभाको जारी अधिवेशनको अन्तिम बैठक विशेष सम्बोधन गर्दै नेता नेपालले दुई तिहाईको सरकारको अनुभूति जनतालाई दिनुपर्ने बताएका छन्। ‘मेरो देश डुब्न लाग्यो किनारा लगाइदेऊ, माझी छौ कि कोही किनारा लगाइदेऊ देश बचाइदेऊ’ भनेर अधिवेशनको सुरुवातमा आफूले भनेका कुरा स्मरण गर्दै उनले जनताले परिणाम खोजेको तर त्यस्तो आफूले नपाएको बताए। उनले देशका विभिन्न ठाउँमा बलात्कार, हत्या, हिंसाका घटना भएका तर तिनलाई रोक्न निकाय नदेखिएको बताए। उनले सम्बोधनका क्रममा बल्तकारपछि हत्या गरिएकी र दोषी अझै पत्ता नलागेको घटना कञ्चनपुरकी निर्मला पन्त र एसिड आक्रमणबाट मारिएकी सप्तरीकी सम्झनालाई सम्झिएका थिए। उनले समाजमा यस्ता घटनाका साथै भ्रष्टाचार व्यप्त रहेको बताए।

नेता नेपालले भने, ‘रोक्ने कुनै निकाय छैन। मान्छे काम र परिणाम हेर्न चाहन्छन्। परिणाम हेर्न पाए बल्ल हाम्रो शिर ठाडो हुने थियो। सरकार र मन्त्रीहरूको ध्यानाकर्षण गराउन चाहन्छु।’ उनले पछिल्लो समय आफूले लेखक हरिबहादुर थापाले लेखेको पुस्तक ‘रजगज’ पढेको र त्यसमा आफूले राज्यका निकायलाई उदांगो पारेको पाएको बताए। पुस्तकका सबै कुरामा सहमत नभएपनि तथ्य र खोजका आधारमा लेखिएकाले उक्त पुस्तक पढ्न मन्त्रीहरूलाई आग्रह गरेका थिए।

सोही प्रसंगमा नेता नेपालले भने, ‘दुनियाले भ्रष्टाचरी भनेको व्यक्ति पुरस्कृत भइरहँदा हाम्रो शिर निहुरिन्छ। संसदमा यस्ता विषय उठेका छन्। बाटोघाटोमा, पसलमा यस्ता कुरा गर्दा कान थुन्नौ कि झै लाग्दो होला।‘ नेता नेपालले सरकारले जनताका पीरमर्का सुन्नु र सम्बोधन गर्नुपर्ने बताए। उनले सरकारले ‘जनताले के भन्छन् भन्ने कुरा प्रतिवाद गर्न र जवाफ दिनका लागि होइन, महसुस गर्नका लागि, गल्ती र त्रुटि पत्ता लगाएर समाधान गर्न’ सुन्नुपर्ने बताए। उनले त्यसो भएमात्र दुई तिहाईको सरकार भएको महसुस हुने र सरकारलाई पार्टी र संसदको मात्रै नभएर जनताको पनि साथ रहने बताए।

नेता नेपालले नेपाली जनताले विकास निर्माणका काम चाहिएको र त्यसमा गुणस्तर खोजेको बताएका छन्। उनले जनताले गास, वास, आवास, शिक्षा, स्वास्थ्य, रोजगारी र विकास खोजेको बताए।

सम्बोधनका क्रममा मन्त्रीहरूप्रति निकै रुष्ट देखिएका नेता नेपालले गृहमन्त्री, भौतीक पूर्वाधार तथा यातायातमन्त्री र अर्थमन्त्रीका कामप्रति असन्तुष्टी जनाए। उनले भौगोलिक अखण्डतामाथि खुलेआम चुनौती दिने तत्वहरूलाई सरकार र गृहप्रशासनले नदेखेको बताए। उनले भने, ‘भौगोलिक अखण्डतामाथि खुलेआम चुनौती दिने गरिएको छ। हिजो एक भिडियो देखेको थिए, गृहमन्त्रीले त्यो देख्नुभएको छ कि छैन? उहाँ कहाँ हुनुहुन्छ? थाहा छैन।‘ गृहप्रशासन नामको चिज छ कि छैन भन्ने प्रश्न गर्दै देश टुक्र्याउने तत्वहरू नै राज्यका निकायमा रहेकाले तिनको पहिचान गरेर कारबाही गर्न चुकेको बताए।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठका कामप्रति पनि नेता नेपालले असन्तुष्टी जनाए। उनले काठमाडौंको साँखुदेखि चावहिलसम्मको बाटो नै बेहाल रहेको बताए। उनले उक्त बाटोबारे गीत नै निकालिएको बताए। उक्त सडक हिलाम्मे र धुलाम्मे रहेको बताए। रकम निकासाका लागि त्यसको अघिल्लो दिन केही ट्रक निर्माण सामग्री झारिने गरिएको तर रकम निकासी गरेपछि काम जस्ताको तस्तै छोडिने गरेको उनले बताए। आफ्नो निर्वाचन क्षेत्रसमेत रहेको उक्त क्षेत्रमा आफू पाँच पटक पुग्दासमेत उक्त सडक निर्माण हुन नसकेको बताए।   

नेता नेपालले काममा ढिलासुस्ती गर्ने ठेकेदारलाई कस्तो कारबाही गर्नुपर्ने हो भन्ने कानून बनाएर अगाडि बढ्नुपर्ने बताए। उनले सरकार यस्ता काम नियन्त्रण गर्न सतर्क बनोस् भन्ने चाहेको बताए। उनले मुलुकलाई विधि र थितिमा जानुपर्ने धारणा राखे।

नेता नेपालले कसैको पनि नाम नलिइकनै नेता र सरकारले सुन्ने बानी पार्नुपर्ने बताए। उनले भने, ‘सुन्ने बानी विकास गरेर प्रकृतिले दुईओटा कान दिएका छन्। सुन्ने बानी गरेर अगाडि बढ्नुपर्छ।‘ उनले सरकार राम्रोसँग अगाडि बढे सबैको साथ रहने नत्र कसैले पनि काँध नथाप्ने बताए। ‘जता गयो आलोचना,  खिसिट्युरी, विरोध बाहेक केही छैन’, भन्दै नेता नेपालले बजेट निर्माणदेखिका सबै कुराहरूको सरकारले समीक्षा गर्न सुझाव दिएका थिए। उनले जनताको आशा कम्युनिस्ट पार्टीको सरकारकामाथि रहेको बताए। उनले सरकारले भ्रष्टाचार गर्दिन भनेर मात्रै नहुने र त्यसो गर्न नदिन पनि सरकारले कदम चाल्नुपर्ने र सुशासनको अनुभूति दिनुपर्ने बताए।

नेता नेपालले प्रदेश सरकारका मागप्रति सरकार गम्भीर बन्नुपर्ने बताए। उनले यो विषयमा धेरै नबोलेपनि ‘प्रदेशको संवेदनशिलताप्रति गम्भीर बनौँ’ भन्दै सरकारले प्रदेश सरकारप्रति लिएको नीतिप्रति असन्तुष्टी जनाएका थिए। उनले संवैधानिक पदहरूमा र राजदूत नियुक्तिमा पनि सरकारले ध्यान दिनुपर्ने बताए। त्यसो गर्दा आफ्ना मान्छेलाई भन्दा पनि उपयुक्त पदमा उपयुक्त व्यक्तिलाई जिम्मेवारी दिनुपर्ने उनको धारणा थियो।

नेता नेपालले हालैमात्र बेलायती सेनामा नेपाली महिलाहरूलाई पनि लिने भन्ने निर्णयप्रति चासो राखेका थिए। उनले त्यसलाई बन्द गरियोस् भन्दै भुपू गोर्खा सैनिकका समस्या समाधान गर्न ध्यान दिन सरकारलाई आग्रह गरे। उनले भोलि खाडी र भारतले पनि नेपाली महिलालाई भर्ना गरेर देशको शिर निहुरिने अवस्थाको सिर्जना हुनेप्रति समयमै सचेत बन्न सरकारलाई आग्रह गरे।

पछिल्लो समय चर्चामा रहेको निजगढ विमानस्थल निर्माणको विषयमा पनि सरकार सचेत भएर लाग्नुपर्ने र पार्टीकै सांसदहरूबाट पनि उठेका विचारलाई सुन्नुपर्ने नेता नेपालको भनाइ थियो। उनले विमानस्थल निर्माणका लागि आवश्यक रूख काट्नुपर्ने तर आवश्यकताभन्दा बढी रूख काट्न नहुने बताए। उनले सरकार विकास निर्माणका काम हुन नदिने खतराबाट बच्नुपर्ने बताए।

सरकारले हाल सुखी नेपाली समृद्ध नेपालको नारा लिएको छ। नेता नेपालले सरकारको उक्त नारा सपनामै सीमित नहोस् भन्ने कामना गरेका छन्। उनले सरकारले कुनै पनि निहुँमा जनताको विकास र समृद्धिको आशालाई वास्तविकतामा परिणत गर्ने कुराबाट पन्छिन नसक्ने बताए। उनले राम्रो काम गरे  प्रतिपक्षले पनि स्याबास गर्ने बताए।

नेता नेपालले भने, ‘अर्को अधिवेशनमा आउँदा नयाँ ऊर्जा र नयाँ सन्देश दिने, सबैको अनुहार प्रफुल्ल पार्ने हिसाबले शिर ठाडो हुने हिसाबले विषयवस्तु अगाडि सारोस्।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.