|

जाजरकोट : यहाँको सदरमुकाम खलंगाबाट बाहिरिने र भित्रिने सवारी साधनको भाडा दर निर्धारण गरिएको छ। जिल्ला प्रशासन कार्यालयमा सरोकारवाला निकायबीच भएको छलफबाट नयाँ भाडा दर निर्धारण गरिएको हो।

बिहीबार निर्धारण गरिएको नयाँ भाडाहरू बदलिदो समय अनुकूल बनाएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए। खलंगादेखि काठमाडौं एक हजार ५४०, खलंगा-नेपालगन्ज ५५०, खलंगा-सुर्खेत ४५०, खलंगा-रिम्ना १२५, खलंगा-पिपे ६०, खलंगा-चिसापानी २५०, खलंगा-छेडा १५०, गैरीखाली-पाँचकाटिया ३००, छेडागाड-थलह २५०, नलगाड-चिसापानी-तल्लु ३००, छेडा-सुवानाउली ३५० भाडा निर्धारण गरिएको प्रजिअ बस्नेतले जानकारी दिए। भाडामा मनपरी गरी यात्रुहरू ठगिएको गुनासो आएपछि प्रशासनले बिहीबार यस्तो निर्णय गरेको हो।

प्रशासनले बिहीबार सरोकारवाला निकायको उपस्थितिमा टिकटमा कहाँदेखि कहाँसम्म जाने हो ठाउँ खुलाउनु पर्ने, गाडीमा भाडा दर लेख्नु पर्ने, सार्वजानिक ठाउँ , टिकट बिक्रीस्थलमा भाडा दर सूचना पाटीमा राखेर सार्वजानिक गर्नुपर्ने लगायतको निर्णयसमेत गरेको छ। प्रशासन , यातायात व्यवसायी, स्थानीय सरकारका प्रमुख, पत्रकारको उपस्थितिमा सो निर्णय गरेसँगै स्थानीयले भाडामा नठगिने भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.