|

दार्चुला : आर्थिक वर्ष २०७३\०७४ को तुलनामा गत आर्थिक वर्ष २०७४\०७५ मा अपी नाम्पा संरक्षण क्षेत्रले ४० लाख बढी राजस्व संकलन गरेको छ।

संरक्षण क्षेत्रले ४० लाख २४ हजार ५०५ रुपैयाँ बढी संकलन गरेको हो। विभिन्न शीर्षकमा गत आर्थिक वर्षमा संरक्षण क्षेत्रले दुई करोड ४४ लाख १४ हजार ९६ रुपैयाँ राजस्व संकलन गरेको छ भने अघिल्लो वर्ष दुई करोड तीन लाख ८९ हजार ५५१ रुपैयाँ राजस्व संकलन गरेको छ।

गत आर्थिक वर्ष संरक्षण क्षेत्रले वन तथा वन पैदावार बिक्रीबाट दुई करोड ४२ लाख ११ हजार १७१ रुपैयाँ राजस्व संकलन गरेको थियो भने पर्वतारोहण र पदयात्रा स्वीकृति शुल्कबाट एक लाख २२ हजार ३० रुपैयाँ संकलन गरेको थियो। त्यसैगरी प्रशासनिक शुल्क र न्यायिक दण्ड, जरिवाना र जफतबाट पनि राजस्व संकलन गरेको सूचना अधिकारी तपिलकुमार विश्वकर्माले जानकारी दिए।

संरक्षण क्षेत्रले सबैभन्दा बढी राजस्व वन तथा वन पैदावार बिक्रीबाट गर्ने गर्दछ। वन पैदावारमध्ये सबैभन्दा बढी आय यार्सागुम्बाबाट गरिने संरक्षण क्षेत्रले जानकारी दिएको छ। अघिल्लो आर्थिक वर्षमा यार्सागुम्बा निकासीबाट संरक्षण क्षेत्रले १ करोड ६७ लाख २५ हजार र प्रवेश शुल्कवाफत २९ लाख ७६ हजार राजस्व संकलन गरेको थियो भने गत आर्थिक वर्षमा निकासीबाट १ करोड ९१ लख तथा प्रवेश शुल्कवाफत ४७ लाख ४३ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो।

जडिबुटीको व्यापारमा फेरबदल

निरन्तर संरक्षण क्षेत्रको आय वृद्धि गर्ने एकमात्र वन पैदावार यार्सागुम्बा मात्रै देखिएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७४\०७५ मा यार्सागुम्बाको निकासीमा संरक्षण क्षेत्रले  २३ लाख ७५ हजार बढी रुपैयाँ राजस्व संकलन गरेको छ भने प्रवेश शुल्कबाट १७ लाख ६७ हजार बढी रुपैयाँ राजस्व संकलन गरेको देखिन्छ।

यार्साजस्तै सतुवा, वनलसुन र साधारण च्याउले मात्रै राजस्व बढाउन सहयोग गरेको भएपनि अन्य जडिबुटीहरूको निकासी समान हुन नसकेकाले अघिल्लो आर्थिक वर्षको तुलनामा पछिल्लो आर्थिक वर्षमा ती जडिबुटीको निकासीबाट कम राजस्व संकलन भएको देखिन्छ। आर्थिक वर्ष २०७३\०७४ मा ९९ हजारको निकासी भएको जटामसी आर्थिक वर्ष २०७४-०७५ मा कति पनि निकासी भएन। अघिल्लो आर्थिक वर्ष ७५ हजार ३५० रुपैयाँ राजस्व तिरेर निकासी भएको पाषण वेद आर्थिक वर्ष २०७४\०७५ मा ४० हजारको मात्रै निकासी भयो। त्यस्तै अघिल्लो वर्ष ३१ हजारको निकासी भएको सेतकचिनी पछिल्लो वर्ष चार हजार ५०० को मात्रै निकासी भएको देखिन्छ भने अघिल्लो वर्ष ८१ हजार ३०० को निकासी भएको कुटकी पछिल्लो आर्थिक वर्षमा ३०० रुपैयाँको मात्रै निकासी भएको देखिन्छ।

अल्लो, गुच्ची च्याउ, तिरइतो र टिमुर भने अघिल्लो आर्थिक वर्षमा निकासी भएको थिए भने आर्थिक वर्ष २०७४\०७५ मा १९ हजारको अल्लो, ६० हजारको गुच्ची च्याउ, एक हजार ५००को चिराइतो र ८०० को टिमुर निकासी भएको अपी नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका सूचना अधिकारी तपिलकुमार विश्वकर्माले जानकारी दिए।

संकलक र व्यापारीहरुले जडिबुटीको संकलन गरिराख्ने र मूल्य बढेको बेला मात्रै निकासी गर्ने भएकाले निकासीबाट आएको राजस्व यसरी थपघट देखिएको जडिबुटी व्यावसायीसमेत रहेका दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष मंगलसिह ठगुन्ना बताउँछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.