|

नेपाली गजलको वर्तमान भनेको बहस र विवादको जस्तो देखिएको छ। यो स्वाभाविक पनि हो किनभने अहिले नेपाली साहित्यमा गजल प्रवेश गरेको सवा सय वर्षपछि यसको शास्त्रीयता, यसको संरचना र इतिहासका बारेमा व्यापक खोजी भइरहेको छ। यस्तो बेलामा अध्ययन, अनुसन्धान र खोजका आधारमा बहस र विवाद हुनु अन्यथा मान्नुहुँदैन। तर जब यस्तो बहस र विवाद व्यक्तिगत आक्षेप र आरोप प्रत्यारोपमा परिणत हुन्छ, तब त्यसले आफ्नो स्वाभाविक बाटो बिराउँछ र अराजकता निम्त्याउँछ।

वर्तमानमा नेपाली गजललाई लिएर भइरहेको बहसले कताकती बाटो बिराउँदै गएको हो कि भन्ने आभास पनि हुन थालेको छ। खासगरी नेपाली गजलका अग्रजहरूबाट यस्तो भइरहेको देखिनु झनै नकारात्मक कुरा हो। उहाँहरू आफैँबीचमा गजलको संरचना र यसको शास्त्रीयताको पक्षमा, अझ भन्दा लयको पक्षमा निकै ठूलो विवाद छ, यहाँसम्म कि उहाँहरू एकअर्कालाई निषेधको अवस्थामा पुगिसक्नुभएको देखिन्छ। यस्तो हुनु उहाँहरू स्वयंका लागि पनि राम्रो होइन।

जहाँसम्म धारको कुरा छ, नेपाली गजलमा धार बनिहाल्ने वा धार बनाएर नेपाली गजललाई हिँडाउने अवस्थामा नेपाली गजल पुगेकै छैन। सबै सिकारुकै चरणमा भइरहेको अवस्थामा धारको कुरा बेकार हो। अहिले देखिएको चाहिँ धार नभएर गुट हो। कुनै एक अमुक व्यक्तिलाई (सिद्धान्त वा गजलको शास्त्रीयतालाई होइन) आदर्श मानेर उसकै पछि लाग्ने र उसकै धारणालाई चर्को रूपमा अगाडि ल्याएर वादविवाद गर्नेहरूको झुण्ड वा गुट विकसित भएको छ। यसले नेपाली गजलको विकास र विस्तार अनि परिष्कारमा समेत नकारात्मक असर पारिरहेको छ। यस्तो गुट नेपाली गजलका अग्रज ज्ञानुवाकर पौडेल, ललिजन रावल र डा. घनश्याम परिश्रमीसमेतको रहेको देखिन्छ। यहाँ मनन्योग्य कुरा के छ भने यी कुनै पनि गुट वा यी गुटका स्रष्टाले उत्कृष्ट (शास्त्रीय हिसाबले) गजल रचनाचाहिँ गर्न सकेका देखिँदैन, सबै उत्कृष्ट रचनाका लागि प्रयासरत मात्र छन्। यस्तो अवस्थामा धार वा उपधारको कुरा हुनै सक्दैन।

खासमै भन्ने हो भने यी गुट वा पक्ष विकसित हुनुमा एउटा महत्त्वपूर्ण कुरा अहं हो। आफ्नो विशेष प्रभाव देखाउन वा आफूलाई विद्रोही वा फरक धारको देखाउन यस्तो भइरहेको हो भन्ने मेरो बुझाइ छ। अर्को कुरा अध्ययनको कमी पनि एउटा कारक हो यसका लागि। आफ्ना अग्रजले के भने त्यही सत्य, अग्रजले जे लेखे त्यही सही मान्ने परम्परा र सोच पनि यसका लागि कारक बनेको छ।

हामीले हाम्रा अग्रजका कमीकमजोरीमाथि कहिल्यै औँला उठाउन सकेनौँ, उहाँहरू पनि पूर्ण हुनुहुन्न भन्ने बुझ्न सकेनौँ, यसले पनि हामीबीच विवाद बढाएको छ।

अर्को कुरा यो विवाद अस्तित्वका लागि पनि हो। जस्तो : ज्ञानुवाकर पौडेलले चार दशकदेखि लयविहीन रचना गरिरहनुभएको छ, अब उहाँले बहर, छन्द त के सामान्य आक्षरिक लयमा समेत गजल लेख्न चाहने कुरै भएन। अर्कातिर ललिजन रावल, जसले मात्रा (आक्षरिक, लोकलय र उच्चार्य सममात्रिक)को अभ्यास र वकालत गर्दै आउनुभएको छ, उहाँले त्योबाहेक केही देख्नुभएको छैन। डा. परिश्रमी बहर र छन्दको वकालत गर्नुहुन्छ। तर रमाइलो के भने उहाँहरू तीनतिर फर्किएर गजलका तीन महत्त्वपूर्ण पक्षलाई टुक्र्याएर बोकेर हिँडिरहनुभएको छ। ज्ञानुवाकर गजलको शिल्प र भावलाई मात्र बोकेर हिँड्नुहुन्छ भने ललिजन र परिश्रमी लय (छन्द, बहर)लाई । यसरी नेपाली गजल उँभो लाग्न सक्दैन। बरु गजल भनेको शास्त्रीय विधा हो, यसका विधिविधान शताब्दीयौँअघि नै निर्माण भई प्रयोगमा छन्, त्यसको अध्ययन गरेर एउटा र्सवमान्य मानक बनाएर अग्रज, समकालीन र अनुज सबै एकै ठाउँमा बसेर नेपाली गजललाई परिष्कृत र बिस्तृत बनाउनतिर लाग्नुपर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.