अनशनको तयारीमा नेविसंघ महामन्त्री काफ्ले

|

काठमाडौं : नेपाली कांग्रेसमा संस्थापन समूह र संस्थापनइतर समूहको सधैँ द्वन्द्व चलिरहन्छ। संस्थापनइतर समूहले सभापतिलाई कसरी कमजोर बनाउन सकिन्छ भन्ने विभिन्न रणनीति तयार पारिरहेकै हुन्छन्। विधान मस्यौदामा कार्यकर्ताबाट सुझाव संकलन गरिसकेपछि कांग्रेसमा सभापतिइतर समूहका नेता एक ठाउँमा उभिएका छन्। अब बस्ने केन्द्रीय समिति बैठकमा सभापतिविरुद्ध रणनीति तय गर्न सभापतिइतर समूह मंगलबार बिहान गोप्य बैठक बसेको हो। 

उक्त बैठकमा लामो समयपछि पार्टी महामन्त्री डा. शशांक कोइराला पनि बसेका थिए। उनी प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनपछि पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेलसँग असन्तुष्ट भएका डा. कोइराला लामो समयपछि गोप्य बैठकमा सहभागी भएका हुन्।

गोप्य बैठकमा पार्टी वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, नेता प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा. शेखर कोइराला, डा. रामशरण महत, बलबहादुर केसी, गगन थापा, नवीन्द्रराज जोशी र प्रदीप पौडेल सहभागी थिए। नेता कृष्णप्रसाद सिटौला भने व्यस्त भएका कारण त्यहाँ पुगेनन्। उनले आफ्नो समूहका गगन थापा र प्रदीप पौडेललाई पठाएका थिए।

विधानमा सभापतिले एकल नेतृत्वलाई जोड दिएको प्रति पनि नेताहरूलृे असन्तुष्टि जनाएको स्रोतले बताएको छ। विधान मस्यौदा समितिले सुझावलाई समावेश गरेर केन्द्रीय समितिमा विधान बुझाउँदा कसरी प्रस्तुत हुने भन्ने रणनीति पनि तयार गर्ने सहमति भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए। 

यस्तै, बैठकमा नेविसंघ महाधिवेशनका बारेमा पनि छलफल भएको थियो। सभापति देउवाले अनेक बहानामा महाधिवेशन सार्न खोजेको बैठकमा सहभागी नेताहरुले आरोप लगाएका थिए। जसरी पनि तोकिएको समयमा नेविसंघको महाधिवेशन गर्न दबाब दिनै पर्ने धारणा नेताहरूले राखेका थिए। उक्त बैठकमा पनि नेविसंघको उमेर हदका विषयमा भने विवाद देखिएको स्रोतले बताएको छ।

तर बैठकमा सहभागी नेता अर्जुनरसिंह केसीले भने नेविसंघको उमेर हदका बारेमा छलफल नै नभएको बताए। ‘नेविसंघले पठाएको विधान नै हामीले हेर्न पाएका छैनौँ’, उनले भने, ‘नेविसंघले पठाएको विधान पार्टी केन्द्रीय समितिमा पहिल्यै प्रस्तुत हुनुपर्छ भन्ने धारणा हाम्रो थियो तर अहिलेसम्म पनि प्रस्तुत भएको छैन। अब विधान पढ्ने समय कहिले पाउने? त्यस कारण अब यो विधान पारित गरेर समयमा महाधिवेशनको बाटो खुला गरिनुपर्छ।’

गोप्य बैठकमा सभापतिले फोरम लोकतान्त्रिकबाट आएका विद्यार्थी नेतालाई अहिले आएर समायोजन गर्ने नाममा नेविसंघको महाधिवेशन नै अनिश्चित पर्न खोजेको आरोप लगाएका थिए। ‘यो छलफल केवल छलफल हो’, नेता केसीले भने, ‘यसबाट केही निष्कर्ष निक्लिएन।’ 

बैठकमा देउवाले नेविसंघको महाधिवेशन समयमा नगराए देउवाइतरका नेताहरू एक भएर विद्यार्थी नेतालाई देशभर अधिवेशनका कार्यक्रम गर्न निर्देशन दिने छलफल भएको बैठकमा सहभागी एक नेताले बताए। 

नेविसंघको विषयलाई लिएर सभापतिइतर समूहले पार्टीले बनाएको निर्देशक समितिको बैठक पनि बहिष्कार गर्दै आएका छन्। नेविसंघको महाधिवेशनका लागि गठन गरेको निर्देशक समितिको बैठक नवीन्द्रराज जोसी, गगन थापा, प्रदीप पौडललगायत सभापतिइतर समूहका नेताहरूले बहिष्कार गरेका हुन्। समिति संयोजक डा. प्रकाशशरण महतले दुई पटकसम्म बोलाएको बैठकमा उनीहरूले विधान अड्काएर महाधिवेशन नगर्न खोजेको भन्दै बहिष्कार गरेको स्रोतले बताएको छ। 

यस्तै, देउवाले केही दिनभित्र केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेको स्रोतले बताएको छ। उक्त बैठकमा पार्टी प्रराम्भिक विधानका बारेमा पछि छलफल हुने भएकाले सभापतिइतर समूहले रणनीति तय गरेर अघि बढ्नुपर्ने निष्कर्ष निकालेको केसीले बताए। ‘मैले त छलफलमा स्पष्ट एकल नेतृत्वको पद्धति गलत हुन्छ भनेको छु। अब आएका सुझावलाई राखेर विषयगत उपसमितिले ल्याउनुपर्छ’, उनले भने, ‘त्यसपछि केन्द्रीय समितिले सबैको चाहनाअनुसार विधान फाइनल गर्नुपर्छ।’ बैठकमा केसीले सबै पदाधिकारी निर्वाचित हुनुपर्ने, अनुशासन समितिसमेत महाधिवेशनबाटै गठन गरेर अघि बढ्नुपर्ने धारणा राखेका थिए। 

अनशनको तयारीमा नेविसंघ महामन्त्री काफ्ले

नेविसंघको महाधिवेशन अनिश्चित बनाउन खोजेको भन्दै सिटौला समूहका नेविसंघ महामन्त्री कुन्दनराज काफ्लेले आमरण अनशनको तयारी गरेका छन्। मंगलबार डा. प्रकाशरण महतले बोलाएको बैठकमा आफ्ना कुरा राख्दै उनले महाधिवेशन अनिश्चित भए आफू अनशन बस्ने चेतावनी दिएको नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए। 

‘पार्टीले विजयकुमार गच्छदार समूलाई मिलाउने नाममा नेविसंघलाई अझ भद्रगोल बनाउँदै छ’, उनले भने, ‘अब एक साताभित्र महाधिवेशन सुनिश्चित नभए महामन्त्री काफ्लेले आफैँ अनशन बस्ने आन्तरिक तयारी गरिरहनुभएको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.