|

विराटनगर : प्रदेश १ को स्थायी राजधमनी विराटनगरलाई नै बनाउन माग गर्दै  स्थानीय ६३ वटा विभिन्न सामाजिक संघ संस्थाले  प्रदेशसभाका सभामुख र मुख्यमन्त्रीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन्। 

पर्याप्त पूर्वाधार र सामर्थ्य राजधानी बन्न विराटनगर नै उपर्युक्त भएको उनीहरूको तर्क छ। उद्योग वाणिज्य संघ, मोरङ, मोरङ व्यापार संघ, नेपाल पत्रकार महासंघ मोरङ लगायतका विभिन्न संघ संस्थाले राजधानी हुने आधार सहित बिहीबार ज्ञापनपत्र बुझाएका हुन्। प्रदेश १ को संसद सचिवालयमा बिहान ११ बजे पुगेका उद्योगी व्यापारीहरूले राजधानीको पर्याप्त आधार हुँदाहुँदै अन्यत्र लगे संघीयता र समृद्धिको नारा सार्थक नहुने भन्दै सभामुखको ध्यानाकर्षण गराएको उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले बताए।

ज्ञापन पत्र बुझ्दै सभामुख प्रदीपकुमार भण्डारीले विराटनगरका सरोकारवालाले उठाएका उपयुक्त सुझावको विषयमा सम्बन्धित ठाउँमा जानकारी दिने बताए। यस्तै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले राजधानीको विषयमा संसदले ठोस निर्णय गर्ने भएको कारण अहिले नै आत्तिन नहुने बताए। 
प्रदेशको नाम र राजधानीको टुंगो लगाउन नेकपाको संसदीय दलमा छलफल भइसकेको छ भने नेपाली कांग्रेसको संसदीय दलको बैठक जारी छ।

प्रदेशसभाको दुई तिहाई मतले प्रदेशको नाम र राजधानीको टुंगो लगाउने संवैधानिक व्यवस्था छ। सरकारले संसदको यही अधिवेशनमा यो विषयलाई टुंग्याउने तयारी गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.