|

विराटनगर : प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले प्रदेशको नाम र स्थायी राजधानीको छिट्टै टुंग्याउने सरकारले तयारी गरेको बताए। 
प्रदेश सभाको बिहीबार बसेको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री कार्कीले नेकपाको दुई तिहाइ मत भए पनि प्रतिपक्षी दल कांग्रेससहितको सहमतिमा उक्त निर्णय लिइने बताएका हुन्।

कार्कीले संसदको दुई तिहाइ मतले अन्तिम निर्णय लिने जानकारी गराउँदै सरकारले सहजीकरण मात्रै गरेको बताए। मन्त्री कार्कीले प्रदेशको नामाकरण र राजधानी तोक्ने कुरामा सबै राजनीतिक दलको सहयोगको अपिल पनि गरे। संसदको शून्य समयमा बोल्दै संघीय समाजवादी फोरम नेपाल संसदीय दलका नेता जयराम यादवले राजधानी विराटनगरको विकल्प खोज्नु नहुनेमा जोड दिए। उनले नेपालको सीमा क्षेत्रभित्रको जहाँ सुकैको भूगोलमा पनि यथेष्ट सुरक्षा रहेको बताउँदै विराटनगर असुरक्षित रहने कुरा गलत भएको बताए। 

यादवले पहिचानलाई आधार मानेर नामकरण गर्नुपर्ने पनि बताए। यस्तै सांसद आशारत्न जबेगुले सरकारका मुख्य अंगहरू विकेन्द्रीकरण गर्न नहुने बताउँदै नामकरण पहिचानका आधारमा हुनुपर्ने बताए। संसदको आज बसेको बैठकले प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि न्याय प्रशासन तथा विधायन समितिमा पठाउने निर्णय गरेको छ। उक्त विधेयकमाथि ९ जना सांसदहरूले संशोधन दर्ता गराएका थिए। प्रदेशसभाको अर्को बैठक असोज २१ गते बस्ने छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.