|

विराटनगर : नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई ‘तपाईं थाक्नुभयो अब छोड्नुहोस्’ भन्दा नमानेको बताएका छन्। विराटनगरमा शुक्रबार आयोजित नेपाल निजामती कर्मचारी युनियन (संघ) को प्रदेशस्तरीय सम्मेलन तथा प्रशिक्षण कार्यक्रममा कोइरालाले देउवालाई थाक्नुभयो भन्दा ‘म थाकेको छैन’ भन्ने जवाफ आएको बताएका हुन्। कांग्रेस नेतृत्वले अबको सय प्रतिशतको गति थाम्न नसक्ने बताउँदै उनले बिपीको सिद्धान्त र कार्यकर्ता पंक्तिको माया गर्दै अगाडि बढे मात्रै कांग्रेस ठूलो हुने बताए।

उनले आन्तरिक कारणले निर्वाचनमा हार व्यहोर्नुपरेको बताए। ‘मोरङको ६ नम्बरबाट शेखर कोइराला किन हार्नुभयो, हार्ने परिस्थिति नै थिएन’, कोइरालाले भने, ‘यहाँ शेखरजी जस्तै थुप्रै नहार्नुपर्ने ठाउँमा हराइएको छ, त्यो टिकट वितरणको क्रममा भएको असन्तुष्टिले आफ्नै साथीहरूले हराउनुभएको हो।’

समानुपातिक मत एमालेसँग बराबरजस्तो भए पनि प्रत्यक्षमा कांग्रेस हारेको नभएर हराइएको उनको तर्क थियो। कांग्रेस विचारका हिसावले, कार्यकर्ताको हिसाबले अझै बलियो र दरिलो रहेको जिकिर पनि गरे। उनले कर्मचारीहरुको अधिकार खुम्च्याउने काममा सरकार लागेको भन्दै सरकार विरुद्धमा संघर्ष गर्न आफूले साथ दिने पनि बताए। ‘अहिलेको सरकारले कर्मचारीको अधिकार खोस्न खोजेको छ,’ कोइरालाले भने, ‘तपाईंहरुले त्यसको सशक्त प्रतिवाद गर्नुहोला म सहयोग गर्न तयार छु।’

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस १ नम्बर प्रदेश संसदीय दलका नेता राजीव कोइरालाले प्रदेश सरकारले कार्यपालिका र व्यवस्थापिका फरक–फरक स्थानमा लैजाने कसरत गरेको भन्दै विरोध गरे। उनले जनताले सास्ती पाउने गरी कुनै पनि काम नगर्न प्रदेश सरकारलाई खबरदारी गर्नुपर्ने पनि बताए।

सम्मेलन निजामती कर्मचारी युनियनको घोषणापत्र जारी गर्दै आजै सकिने आयोजकको भनाइ छ। यसअघि गठित दिनेश पोखरेल नेतृत्वको ३ सदस्यीय समितिले घोषणापत्र निर्माण गरेको कर्मचारी युनियन प्रदेश समितिका सचिव गोपाल दाहालले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.