|

पर्वत : ठाउँमा स्थापना गरिएका होम स्टेहरुले पाहुनाको रोजाई अनुसार आधुनिक खानाहरु खुवाउने गर्छन। तर, पर्वतको महाशिला गाउँपालिका संचालन गरिएको होमस्टे भने अर्गानिक र परम्परागत खाना पाउने ठाउँको रुपमा परिचित बन्दै गएको छ। 

होम स्टे संचालन गर्दाको बेलामा नै अर्गानिक र स्थानीय स्तरमा उत्पादन हुने खाद्यान्नहरु मात्र पाहुनाहरुलाई खुवाउने गरी स्थापना गरिएको थियो। स्थानीय उत्पादनको स्वाद चाख्‍नको लागि पनि महाशिलाको होमस्टेमा गएर बस्नेहरुको लहर बढेदै गएको महाशिला गाउँपालिकाका प्रवक्त जीवनबिक्रम उचैले जानकारी दिए। 

गाउँपालिकाले दुक्तान र लामतुङका ५० परिवारलाई होमस्टे सञ्चालनका लागि तालिम समेत प्रदान गरेको थियो। होमस्टे सञ्चालकलाई पाहुनालाई गर्ने सेवा र सत्कारदेखि खाना बनाउने सीपको विकास गर्नको लागि  तालिम प्रदान गरिएको हो। होमस्टेमा घरमै उत्पादन भएको कोदो, मकै, चामल, गहुँ, जौ लगायत गाउँमै अर्गानिक रुपमा उत्पादन गरिएका तरकारीबाट बिभिन्न २७ प्रकारका खानाहरु तयार गर्ने गरिएको छ।

होमस्टेमा गुरुङ र मगर संस्कृतिको अवलोकन तथा जानकारी गराउनुका साथै गुरुङ र मगर जातीको चालचलन, रितिरिवाज सहित सालैजो र सोरठी संगीतका प्रस्तुती पनि देखाउने व्यवस्था गरिएको छ। गाउँपालिकाका प्रवक्ता उचै भन्छन, ‘अन्य ठाउँको भन्दा फरक शैलीको हो स्टे बनाउन सकियो भने पाहुनाहरु आउँछन भन्ने अनुमान गरेर नै हामीले यहाँको होम स्टेमा अर्गानिक र स्थानीय रुपमा उत्पादन हुने खानाहरु मात्र पाहुनाको लागि तयार गर्न राम्रो हुने ठानेका हौँ।’ सदरमुकामबाट टाढा रहेको बिकट ठाउँ मानिएको महाशिलामा पनि पर्यटकलाई आकर्षण गरी गाउँपालिकालाई पर्यटकीय र धार्मिक स्थलका रुपमा चिनाउनका लागि होमस्टे संचालन गरिएको उनको भनाई छ। 

अहिलेसम्म सञ्चालनमा आएका २१ वटा घरमध्ये एउटा घरमा पाँच जना पाहुना राख्न सक्ने क्षमता रहेको छ। महाशिलामा जिल्लामा नै प्रख्यात रहेका मुख्य पर्यटकीय तथा धार्मिक स्थल छन्। लुंखुको महाशिला, पैंयूकोट, चिसापानी लेक, फलामखानीको अवलोकन, गंगाधर गुफा, बसाह मन्दिर महाशिलाका मुख्य धार्मिक तथा पर्यटकीय स्थलहरु हुन।

महाशिलामा रहेका धार्मिक तथा पर्यटकीय स्थलको अवलोकन तथा भ्रमणका लागि तिन दिनको प्याकेज बनाइएको र त्यहाँ आउने पर्यटकलाई सस्तो मुल्य र मिठो स्वादमा अर्गानिक खाना खुवाउने गरी बासको ब्यवस्था मिलाइएको गाउँपालिकाका प्रमुख राजु पौडेलले जानकारी दिए। ‘तीन दिनमा महाशिलामा रहेका सबै पर्यटकीय तथा धार्मिकस्थलको अवलोकन गर्न सकिन्छ’ पौडेलल भने–‘महाशिलामा आउने पाहुनालाई यहाँ सस्तो र छुट्टै स्वादका साथ अर्गा्निक खाना खुवाउने गरी बस्ने ब्यवस्थापन गरेका छौँ ।’

महाशिलाको चिसापानीबाट एक दर्जन जिल्ला र आकर्षक हिमश्रृङ्खलाको अवलोकन गर्न सकिन्छ। दशकौँ अघि महाशिलामा फलामखानी सञ्चालनका क्रममा बनेका सुरुङहरुको समेत अवलोकन गराउने ब्यवस्था गाउँपालिकाले मिलाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.