|

काठमाडौं : नेपालमा रहेको अन्तर्राष्ट्रिय मापदण्डको एकमात्र दशरथ रंगशालाले ५ दशकभन्दा लामो समयदेखि नेपाली फुटबलप्रेमीलाई मनोरन्जन दियो। पटक-पटक मर्मत तथा जिर्णोद्दार गरिएको यसको दर्शक क्षमता पछिल्लो समय २५ हजार थियो। टाढाबाट हेर्दा यो निकै सुन्दर देखिन्छ। नयाँ सिटहरु थपिएका छन्। रंगरोगनको कमी छैन्। तर, भूकम्पले जग हल्लाइसकेको छ,आजकल यहाँ घरेलु तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना हुँदैनन्। 

०००

 नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान राकेश श्रेष्ठले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको ७ वर्ष भयो। उनले घरेलु फुटबल खेल्न छाडेको झन्डै ४ वर्ष भयो। सन्यासपछि केही समय उनले एन्फामा युवा खेलाडीलाई प्रशिक्षण दिए। हिजोआज दशरथ रंगशालाबाट झन्डै ३ किलोमिटर पर टंगालस्थित घरमै बसेर उनी नेपाली फुटबलका गतिविधि नियाल्छन्। फुटबलबाट टाढा हुन नसकेका कारण कहिलेकाहिँ भेट्रान्स तथा मैत्रिपूर्ण खेलहरुमा सहभागिता जनाउँछन्। 

'मैले नेपालबाट ५० क्याप खेलेको छु। त्यसमध्ये १९९९ को दक्षिण एशियाली खेलकुद अन्तर्गतको फाइनल खेल र प्रधानमन्त्री कप मेरा लागि सर्वाधिक महत्वका प्रतियोगिता हुन्' कुराकानीका क्रममा राकेशले दशरथ रंगशाला सम्झिए। 

सन् १९९९ को दक्षिण एशियाली खेलकुदको फाइनलमा नेपाल बंगलादेशसँग १-० ले पराजित भयो। दशरथ रंगशालामा आयोजना भएको यो खेलमा नेपालले पटक-पटक पोस्ट चार्ज गरेको थियो। तर, बंगलादेशको रक्षापंक्ति र गोलकिपरलाई विट गर्न नसक्दा नेपाल उपविजेतामै सीमित भयो। त्यतिबेला राकेशले अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको १ वर्षमात्रै भएको थियो। फाइनलमा नेपाल पराजित हुँदा उनी बेस्सरी रोएका थिए।

यो संस्करणको दक्षिण एशियाली खेलकुदमा नेपालले ऐतिहासिक रुपमा ३२ स्वर्ण जित्यो। तर फुटबलमा हारेका कारण सारा नेपालीले हारेको अनुभव गरे। सन् १९९८ मा जापान विरुद्ध एशियाली खेलकुदको छनौट खेलमार्फत नेपाली टोलीमा डेब्यू गरेका राकेशले त्यसपछि निरन्तर अन्तर्राष्ट्रिय फुटबल खेले। नेपालबाट ३ हजार मिनेटभन्दा धेरै समय निरन्तर मैदानमा भिड्ने उनी एक्लो फुटबलर हुन्। खेलेका ५० खेलमध्ये ४८ खेलमा उनी पुरै ९० मिनेट मैदानमा छाए। 'मैले राष्ट्रिय टोलीमा डेब्यू गर्दा मणि शाह र दीपक अमात्यहरु सन्यासको संघारमा तथा बालगोपाल महर्जन, उपेन्द्रमानसिंह र हरि खड्काजस्ता खेलाडी करियरको उच्च लयमा हुनुहुन्थ्यो' विगत संझदै राकेशले भने।

२००८ मा राकेशले आफ्नै कप्तानीमा नेपाली टोलीलाई उपाधि दिलाए। उनले डेब्यू गर्दाको समयका कुनै पनि खेलाडी यस टोलीमा थिएनन्। प्रतियोगितामा नेपाललाई जित दिलाउन जुमानु राई, अनिल गुरुङ, सागर थापा, सन्दिप राई, अन्जन केसी, विकाससिंह कार्की, रितेश थापा लगायत खेलाडीले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। नेपाली फुटबलका लागि यो क्षण सर्वाधिक महत्वको थियो किनकी पहिलो दक्षिण एशियाली खेलकुद प्रतियोगितापछि नेपालले घरेलु मैदानमा उपाधि उचालेको यो पहिलो अवसर हो।

चोटका कारण सन् २०१२ पछि राकेश श्रेष्ठले सन्यास लिए। राकेशसँग पुलिसबाट फुटबल खेल्ने जुमानु राईको फर्म बिस्तारै खस्कन थाल्यो। पछिल्लो समय उनी राष्ट्रिय टोलीमा छैनन्। १ वर्षअघि सागर थापा, सन्दिप राई, अन्जन केसी, विकाससिंह कार्की र  रितेश थापा म्याच फिक्सिङ प्रकरणमा मुछिए। उनीहरु विरुद्धको मुद्धा विशेष अदालतमा विचाराधीन छ। तर, एएफसी र फिफाले फुटबल खेल्न नपाउने गरी प्रतिबन्ध लगाइसक्यो। अहिले नेपाली फुटबल नयाँ पुस्ताको काँधमा छ। 

दशरथ रंगशालामा भूकम्पपछि फुटबल खेल आयोजना भएको छैन्। २०७२ साल वैशाख १२ गतेको भूकम्प आउनुअघि नै अखिल नेपाल फुटबल संघको नेतृत्वले भूकम्पको धक्का महसुस गरेको थियो। एन्फा अध्यक्ष गणेश थापा २ पटकसम्म निलम्बित भए। उनीमाथि अन्तत फिफाले १० वर्षको प्रतिबन्ध सुनायो।

नेपाली फुटबलमा लामो समय सक्रिय ललितकृष्ण श्रेष्ठको निधन फुटबल जगतमा निराशाको अर्को कारण थियो। भूकम्पपछि भौतिक पूर्वाधारको कमी तथा विवादका कारण अखिल नेपाल फुटबल संघले  नियमित प्रतियोगिताहरु आयोजना गर्न सकेन। नेपाली फुटबलका लागि यो निकै दुखलाग्दो परिस्थिति थियो। राकेश श्रेष्ठले टाढै बसेर यि सबै परिस्थिति नियाले। फुटबलमा सक्रिय रुपमा उनी आउन चाहेनन्।

खेलाडीका पक्षमा कोही देखिएनन् 

राकेश श्रेष्ठको चाहना नेपाली खेलाडीका पक्षमा आवाज उठाउने नेतृत्व एन्फामा आओस् भन्‍ने छ। 'पूर्वखेलाडी गणेश थापाको बहिर्गमनपछि फेरि कुनै खेलाडी नेतृत्वमा आउनुपर्छ भन्‍ने धारणा हो' राकेशले भने,'फुटबल नेतृत्व हाँक्ने दृढविश्वास बोकेर उपेन्द्रमान सिंहले उपाध्यक्षमा उमेद्वारी घोषणा गर्नुभयो। यसपटक उपाध्यक्षमा लडेपछि अर्को पटक अध्यक्ष पदमा लड्न सजिलो हुन्छ भन्‍ने उहाँको विश्वास थियो।'

उपेन्द्रको चुनावी अभियानमा राकेश खुलेर लागे। अध्यक्ष र उपाध्यक्ष पदका लागि अखिल नेपाल फुटबल संघको चुनाव सम्पन्‍न भयो। अध्यक्षमा कर्माछिरिङ शेर्पालाई सानो मतअन्तरमा हराएर नरेन्द्र श्रेष्ठ विजयी भए। कर्माको पक्षमा ३१ र नरेन्द्रको पक्षमा ३६ मत खस्यो। कर्मा प्यानलबाट वरिष्ठ उपाध्यक्ष उठेका दीपक खातीले २५ मत ल्याएर पराजित भए भने नरेन्द्र प्यानलका मणि कुँवर ३४ मत ल्याएर विजयी बने। नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान उपेन्द्रमानसिंहको पक्षमा केवल ८ भोटमात्रै खस्यो। उपेन्द्रको नमिठो पराजयले देशका लागि खेल्ने खेलाडीलाई कदर गर्नेहरु एन्फामा निकै सानो संख्यामा छन् भन्‍ने देखाएको छ।

'चुनावका लागि हामी कच्चा खेलाडी रहेछौं। फुटबलमा राजनीतिकरण छ,' राकेशले भने। उनी अध्यक्ष पदमा विजयी नरेन्द्र श्रेष्ठ र वरिष्ठ उपाध्यक्ष मणि कुँवरसामू यस्तो परिस्थिति चिर्दै भविष्यमा खेलाडीका लागि सम्मानजनक वातावरण सिर्जना गर्नुपर्ने चुनौती रहेको बताउँछन्।' विजयी हुनुभएका दुबैजनालाई बधाई छ। अर्को चुनावमा उहाँहरुले खेलाडीको मर्मलाई बुझेर सम्मानजनक पद दिने ढंगले अघि बढ्नुभयो भने राम्रो होला' राकेशको सुझाव छ।

विवादले खेलाडीहरु मर्कामा

पटक पटकको फुटबल विवादका कारण खेलाडीहरु मर्कामा परेको राकेश बताउँछन्। 'हामीसँगै फुटबल खेल्ने खेलाडीहरु विवादकै कारण यस खेलमा भविष्य नदेखेर पलायन भए,' राकेशले भने। 

वसन्त गौचन,राजन रायमाझी, नारायण मानन्धर, देवनारायण चौधरी, वसन्त थापा, शुक्र तामाङ लगायतका थुप्रै प्रभावशाली खेलाडी विदेशिएका छन्। लोकबन्धु गुरुङ, प्रलयराज भण्डारी हुदैँ सन्तोष साहुखलसम्मले उनीहरुकै पदचाप पछ्याए। 

'पटक-पटक विवाद भयो। केही राम्रो हुन्छ कि भन्‍ने आश गर्‍यो, फेरि विवादका कारण घरेलु प्रतियोगता बन्दजस्तै हुन्थ्यो। घरेलु प्रतियोगिता खेल्न नपाएकै कारण अन्तर्राष्ट्रिय खेल खेल्दा धेरैपटक मैले अन्तिमको १५ मिनेट हाम्रो टोली शारिरीक रुपमा निकै कमजोर देखिएको अनुभव गरेको छुु', राकेशले खेलाडी जीवनको प्रसङ कोट्टयाए।

नयाँ नेतृत्वले अब विवाद बन्द गरेर फुटबल विकासमा ध्यान दिनुपर्ने राकेश बताउँछन्। 'सबैले विवाद बन्द गरेर फुटबल विकासमा ध्यान दिनुपर्‍यो। लिग नियमित आयोजना हुनुपर्‍यो। त्यस्तो हुनसके मात्रै अबको पुस्ता भविष्य सुरक्षित गर्न विदेशिनुपर्दैन।'

खेलाडीलाई प्रोत्साहन भएन

राकेश श्रेष्ठको कोठामा भित्ताभरी मेडल र प्रमाणपत्र झुण्डिएका छन्। गोर्खा दक्षिणबाहुबाट समेत सम्मानित भइसकेका यी फुटबलर देशले गर्व गर्नलायक कमैमात्र खेलाडीमध्ये एक हुन्। सन्यासपछि राकेशलाई अखिल नेपाल फुटबल संघले अपार्टमेन्ट पुरस्‍कारबाट सम्मानित गरेको थियो। अहिलेका प्रधानमन्त्री तथा तत्कालिन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सन् २०११ मा उनलाई यो पुरस्कार प्रदान गरे।

'मैले त्यतिबेला अपार्टमेन्टको साँचो र डमी अपार्टमेन्ट पाएँ। तर, अहिलेसम्म पुरस्कार पाएको छैन। हरि खड्कापछि पुरस्कार पाउने पालो मेरो थियो।' उनले थपे,' हरि खड्काले ६३ सालमै कार पुरस्कार पाउनुभयो। तर मलाई पुरस्कार दिन ५ वर्ष ढिला भयो।' गुनासो यत्तिमै सीमित छैन, अपार्टमेन्टको साँचो पाएका राकेशले अहिलेसम्म अपार्टमेन्टमा बस्‍न पाएका छैनन्। 'बाहिरी स्वरुप बनिसकेको छ। इन्टेरियर डिजाइन बाँकी छ भन्‍ने सुनेको हो। एन्फाका पदाधिकारीलाई धेरैपटक भनेँ। तर कसैले चासो दिनुभएन', राकेशले भने।

पुरस्कार पाउनका लागि भएको ५ वर्ष ढिलाई र साँचो पाइसकेपछिको ५ वर्षे  पर्खाइले राकेशलाई खल्लो बनाएको छ। 'समयमै पाएको भए मैले १० वर्षमा अपार्टमेन्ट भाडामा लगाएर पनि राम्रो कमाई गर्थेँ होला' राकेशले भने। भर्खरै अध्यक्षमा निर्वाचित नरेन्द्र श्रेष्ठले अपार्टमेन्ट तथा विगतमा  खेलाडका लागि घोषणा गरेर रोकिएका अन्य पुरस्कार वितरणमा सक्रियता देखाउने उनको अपेक्षा छ।

राकेशपछि सागर थापा र रितेश थापाले यसैगरी अपार्टमेन्ट पुरस्कार पाएका थिए। तर,उनीहरुले कहिल्यै अपार्टमेन्टमा छिर्न पाएनन्। दुबै खेलाडी म्याच फिक्सिङमा फसेका छन्। उनीहरुले विगतमा पाएको सम्मान उपभोग गर्न पाउँछन् या पाउँदैनन् भन्‍ने टुंगो छैन।

जुमानु राई, भोला सिलवाल र अनिल गुरुङजस्ता प्रतिभाशाली खेलाडीहरुले राज्यबाट यथेस्ट सम्मान नपाएको राकेश बताउँछन्। 'मैले अपार्टमेन्ट पाएँ भन्‍ने होइन जुमानु, भोला र अनिलजस्ता खेलाडीले पनि पाउनुपर्‍यो। उनीहरु देशका लागि योगदान गरेका खेलाडी हुन्। तर एन्फाले उनीहरुको योगदान बिर्सिएजस्तो लाग्छ' राकेशले भने।

एन्फालाई सुझाव

'अब फुटबल प्रशासन राम्रो होस्। राजनीति नहोस् र फुटबल विकासका लागि प्रतिस्पर्धा होस्' नेपाली फुटबल प्रमुख मुख्यत: ४ कारणले चलेको राकेश बताउँछन्। '१ विदेशी सहयोग, २ दर्शकले टिकटबापत तिर्ने पैसा, ३ फुटबललाई अत्यन्तै माया गरेर यसमा लाखौं खर्चन तयार हुने प्रायोजकहरु र ४ घरजग्गा समेत बेचेर फुटबलमा लाग्‍ने जिल्ला तथा केन्द्रका पदाधिकारी' राकेश थप्छन्,'खेलाडीहरुलाई माया गर्नुपर्‍यो। खेलाडीलाई हौसला र प्रोत्साहन दिनसके खेल विकासमा कुनै समस्या हुदैन।'

फेरि पनि एन्फा सानो तिनो विवादमै रुमल्मिए फुटबलले गति लिन नसक्ने र खेलाडीको भविष्य संकटमा पर्ने राकेशले बताए। 'हार्नेले पनि हौसला गुमाउन भएन। हार-जीत बिर्सेर फुटबल विकासमा लाग्‍नुपर्‍यो। सबै पक्ष मिलेर फुटबल विकास गर्नुको विकल्प छैन।'

आगामी संस्‍करणको दक्षिण एशियाली खेलकुद प्रतियोगितालाई ध्यानमा राखेर तत्काल तयारी थाल्न उनले नयाँ नेतृत्वलाई सुझाव दिए। 'बेलैमा राम्रो तयारी गरियो भने हामीले राम्रो नतिजा निकाल्न सक्छौं। यसबाहेक ग्रास रुट लेभलको फुटबलमा उत्तिकै ध्यान दिन जरुरी छ' राकेशले भने।

०००

राकेशसँगको कुराकानीपछि पङक्तिकार दशरथ रंगशाला फर्कियो। रंगशाला चिटिक्क छ। शान्त र सफा छ। केही समयअघि युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइली आफै झाडु र कुचो बोकेर रंगशाला सफाइमा जुटेका थिए। मन्त्रीलाई पछ्याउँदै काठमाडौंका खेलप्रेमी सफाइमा ओइरिए। इच्छशक्ति हुने हो भने राम्रो गर्न सकिन्छ भन्‍ने उदाहरण थियो मन्त्री श्रीपाइलीको कदम।

मन्त्री श्रीपाइलीलाई थाहा छ। सफाइमा ओर्लिएका सारा खेलप्रेमीलाई थाहा छ। झाडु र कुचो बोकेर गरिएको एकदिने स्टन्टले रंगशाला पुरानो अवस्थामा फर्कदैंन।जगैदेखि भत्किएको नेपाली फुटबलको अवस्था यो रंगशालाभन्दा पृथक छैन। अध्यक्ष तथा उपाध्यक्षको निर्वाचनले एन्फामा 'फेयर प्ले' संस्कृति विकास गर्न खोजेको छ। तर, दुई जनाले जित्दैमा चमत्कार हुन्छ भन्‍ने होइन। यो सुरुआत हो। नयाँ नेतृत्वले गर्न बाँकी धेरै छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.