|

ललितपुर : पूर्वसभामुख एवं नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले देशमा संविधान भन्दा ठूलो शक्ति नभएको बताएका छन्।

आइतबार संसदीय मामिला पत्रकारितासम्बन्धि संघ स्तरीय अन्तरक्रिया कार्यक्रममा नेम्वाङले साढे पाँच वर्ष लगाएर निर्माण गरिएको संविधानलाई देशका सबै शक्तिले स्वीकार गरेर निर्वाचनमा सहभागी भएको अवस्थामा अब नेपालको सबैभन्दा ठूलो शक्ति संविधान भएको बताए। उनले भने, ‘हाम्रो देशमा संविधान बनेको तीन वर्षभित्र संविधानमा भएको व्यवस्था बमोजिम संघीय, प्रदेश र स्थानीय तहको निर्वाचन भएको र त्यसमा सबैको सहभागीताले संविधान स्वीकार भएको छ।‘ भारतको प्रसंग उल्लेख गर्दै उनले भने, ‘भारतमा यसरी संविधानलाई स्वीकार्य बनाउन १० वर्ष लागेको थियो, दक्षिण भारतले दशौं वर्षसम्म भारतको संविधान स्वीकार गरेको थिएन।‘ नेम्वाङले भारतमा अझैपनि कतिपयले सयौँ संशोधन हुँदासम्म पनि संविधानलाई स्वीकार नगरेको अवस्थामा नेपालमा भने सबै समुदाय र राजनीतिक दलहरूले संविधान स्वीकार गर्नु संविधानको शक्ति र यसले व्यवस्था गरेका लोकतान्त्रिक पद्धति नै मूल रहेको बताए।

संविधान संशोधन आवश्यकताको आधारमा गर्न सरकार र राजनीतिक दलहरू तत्पर रहेको नेम्वाङको भनाइ थियो। उनले नेपालको संविधान एकपटक मात्रै संशोधन हुँदा पनि सबैले स्वीकार गर्ने अवस्था बनेको बताए। उनले संविधानले जनतका हक अधिकार, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका, अधिकारका लागि भएका सबै आन्दोलनलाई समेटिएको बताए। उनले संविधान निर्माणका क्रममा देशको नाम र झन्डा फेर्नेदेखि विभिन्न संवत राख्ने कुरा आएको बताए।

नेम्वाङले अझै पनि संविधान कार्यान्वयन गर्ने चुनौती भने रहेको बताए। उनले यसलाई कार्यान्वयन गर्न हरेक नागरिकको भूमिका रहेको र पत्रकार तथा सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.