|

विराटनगर : प्रदेश १ का सांसद लोकप्रसाद संग्रौलाले एसियाली विकास बैंकको सहयोगमा धरानमा निर्माण भएको खानेपानी आयोजनामा करोडौं भ्रष्टाचार भएको भन्दै छानविनको माग गरेका छन्।

संसदको सोमबार बसेको बैठकको शून्य समयमा बोल्दै सांसद संग्रौलाले एक करोड ५२ लाख लिटर दैनिक पानी उत्पादन गर्ने भनेर संचालन सुरु गरिएको आयोजनाले १३ लाख लिटर मात्रै उपलब्ध गराएको भन्दै करोडौं भ्रष्टाचार भएको दाबी गरे। आयोजना निर्माणमा भ्रष्टाचारको विषयमा छानविन गरेपछि मात्र आयोजना हस्तान्तरण हुनुपर्ने सांसद संग्रौलाले माग गरे।

सांसद उमिता विश्वकर्माले द्वन्द्वपीडित, वेपत्ता परिवार तथा घाइतेको स्वास्थ्य उपचार तथा सेवा सुविधामा ध्यान दिन प्रदेश सरकारको ध्यनाकर्षण गराए। सोमबारको संसद बैठकमा आइतबार पेश भएको प्रदेशको खेलकुद सम्बन्धमा बनेको विधेयकमाथिको सैद्धान्तिक छलफल जारी रहेको छ। छलफलमा भाग लिँदै सांसद राजन राईले सरकारले ल्याएको विधेयकमा खेल क्षेत्रलाई राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा सहभागी गराउने मात्रै भनेर उल्लेख गरेको भन्दै सच्याउन माग गरे।

सांसद केदार कार्कीले संघीय कानुन नबन्दै आएको बिधेयक कार्यान्वयनमा शंका रहेको बताए।विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदहरू एकराज कार्की, कुशुम श्रेष्ठ, ओमप्रकास सरावगी, कुलप्रसाद साम्बा, सूयर्माराज राई, खिनु लङ्वा लिम्बू, राजन राई, लक्ष्मण तिवारी र राधा थापाकाे समेत सहभागिता थियो। छलफलमा सांसदहरूले विधेयकले खेल क्षेत्र व्यवस्थित गर्ने भए पनि केही अपुग भएको भन्दै संशोधन गर्न माग समेत गरेका थिए। 

प्रदेश सांसदलाई लोगो वितरण

प्रदेश १ का सांसदहरूलाई सोमबार लोगो वितरण गरिएको छ। प्रदेशसभा सचिवालयले सोमबार एक कार्यक्रमको आयोजना गरी सदस्यहरूलाई लोगो वितरण गरेको हो।सभामुख प्रदीपकुमार भण्डारीले मुख्यमन्त्री शेरधन राईलाई लोगो लगाइदिएर कार्यक्रमको सुभारम्भ गरेका थिए। सभामुख भण्डारीलाई मुख्यमन्त्री राईले पनि प्रदेशको लोगो लगाई दिए। त्यसपछि क्रमश सरकारका सदस्यहरू साथै प्रदेश सदस्यहरूलाई सभामुख भण्डारीले लोगो वितरण गरे। कार्यव्यवस्था परामर्श समितिले पास गरेको लोगो संसद सदस्यहरूलाई वितरण गरिएको हो।

प्रदेश सदस्यहरूका लागि यसअघि नै खैरो रंगको कोट पोशाकको हकमा अनिवार्य गरिएको छ।लोगो सुनसरी इटहरीका कलाकार विक्रम श्रीले डिजाइन गरेको प्रदेशसभा सचिवालयले जनाएको छ। प्रदेशसभा सचिवालयमा जम्मा दुई वटा लोगो प्रतिस्पर्धामा आएका थिए। त्यसमध्ये कलाकार श्रीले तयार गरेको लोगोलाई मान्यता दिइएको थियो।

प्रदेश १ का सदस्यहरूलाई लगाउने लोगोमा महिला र पुरुषका हत्केलामाथि भोजपुरे खुकुरी, त्यसमाथि लाली गुराँसका थुंगा अनि त्यसभन्दा माथि धानका बालाले घेरिएको छ। लोगोमा प्रदेश १ का १४ जिल्लाको बीचमा सप्तकोसी नदी र त्यसको शीरमा सगरमाथा हिमालको चुचुरोमा नेपालको राष्ट्रिय झन्डा राखिएको छ।

लोगोमा अन्न भण्डार तराइका धानका बालादेखि प्रदेश १ मा रहेको गुराँसको राजधानीलाई मात्र नभइ पहिचान बनाएका भोजपुरे खुकुरीलाई समेत समावेश गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.