|
गडकरी र मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मन्त्रिपरिषद्का एक सदस्यले दिएको बयानका कारण सत्ताधारी दल भारतीय जनता पार्टी (भाजपा) विवादमा आउने देखिएको छ। लोकसभा चुनाव, २०१९ मा हुन गइरहेको चुनाव जसले प्रधानमन्त्रीको निर्क्यौल गर्छ, को मुखैमा मन्त्री नितिन गडकरीले एक टिभीलाई दिएको अन्तर्वार्ताले भाजपा र मोदीलाई असर गर्ने बताइएको छ।

भाजपाका पूर्वअध्यक्षसमेत रहेका भूतल परिवहनमन्त्री गडकरीले एक मराठी टिभीलाई दिएको अन्तर्वार्तामा मोदीले सत्तामा आउनका लागि सन् २०१४ मा जनतासामू झुट्टो बोलेको बताएका छन्।

मराठी भाषाको उक्त अन्तर्वार्तामा गडकरीले भनेका छन्, ‘त्यतिबेला के मा विश्वस्त थियौँ भने हामी कहिले पनि सरकार बनाउन सक्दैनौँ। त्यहिँबेला हामीलाई जनतासामू ठूलाठूला बाचा गर्न सल्लाह दिइयो। अहिले हामी सत्तामा छौँ र विपक्षी तथा मतदाता हामीलाई चुनावमा गरेका बाचाबारे सोधिरहेका छन्। हामी अहिले मात्र हाँसिरहेका छौँ।‘

त्यतिबेला नरेन्द्र मोदीले आफू सरकारमा गएपछि प्रत्येक भारतीय नागरिकको खातामा १५ लाख भारू हालिदिने बताएका थिए। उनले हरेक वर्ष २ करोड युवालाई रोजगारी दिने लगायतका महत्वकांक्षी बाचा गरेका थिए। गडकरीले ती बाचा नै झुट्टा हुन् भन्ने थाहा हुँदाहुँदै पनि आफूहरूले जनतासामू भनेको बताएका हुन्।

गडकरीको उक्त खुलासालाई लिएर प्रमुख प्रतिपक्षी दल कांग्रेसका अध्यक्ष राहुल गान्धीले ढिलो भएपनि भाजपाले सही खुलासा गरेको लेखेका छन्। उनले ट्विटरमा लेखेका छन्, ‘सही फर्माउनुभयो, जनता पनि यहिँ सोचिरहेको छ कि सरकारमा पुगेका मान्छेहरूले हाम्रा सपना र भरोसालाई आफ्नो लोभको शिकार बनाए।’

गडकरीको उक्त बयानलाई कांग्रेसले जोरसोरका साथ उठाइरहेको छ। यो बयानले चुनावको मुखमा भाजपालाई भने गाह्रो पर्ने देखिएको छ। भारतमा सन् २०१९ मा लोकसभा चुनाव हुन गइरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो कार्यकाल कस्तो भयो भन्ने उक्त चुनावले निर्क्यौल गर्नेछ। मोदीले सन् २०१४ मा गरेका बाचा पुरा नगरेको मुद्दालाई विपक्षीले चुनावी मुद्दा बनाएको छ। विपक्षीबाट कांग्रेस अध्यक्ष राहुल गान्धीलाई प्रधानमान्त्रीका रूपमा हेरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.