राजनीति

समृद्धिको पहिलो आधार शान्तिसुरक्षा : प्रधानमन्त्री ओली
SHARES

असोज २५, २०७५

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध मुलुक निर्माणको पहिलो आधार शान्तिसुरक्षा भएको बताएका छन्। प्रहरी प्रधान कार्यालयले ६३ औँ प्रहरी दिवसका अवसरमा बिहीबार आयोजना गरेको कार्यक्रममा उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य पूरा गर्न नेपाल प्रहरीले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताए। उनले भने, 'नेपाल प्रहरी आगामी दिनमा थप जिम्मेवार र सक्रिय भएर अगाडि बढ्नुपर्छ।'

    प्रधानमन्त्री ओलीले सरकार प्रमुखका रुपमा नेपाल प्रहरीलगायत अन्य सुरक्षा निकायलाई उत्तरदायित्व बहन गर्न सक्ने वातावरण निर्माण गर्न आफू कटिबद्ध रहेको बताए। उनले राज्यको आन्तरिक सुरक्षाको मेरुदण्डका रुपमा आफूलाई स्थापित गर्दै संयुक्त राष्ट्र सङ्घको अनुरोधमा विदेशस्थित विभिन्न द्वन्द्वग्रस्त मुलुकहरुमा शान्ति स्थापना गर्नका लागि सञ्चालित मिसनहरुमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल प्रहरीले अन्तर्राष्ट्रिय स्तरमा समेत राष्ट्रको पहिचानलाई स्थापित गर्न सशक्त भूमिका निर्वाह गरेको उल्लेख गरे।

    प्रधानमन्त्री अोलीले भने, 'सीमित स्रोत र साधनका बीच नेपाल प्रहरीले मुलुकको आन्तरिक सुरक्षामा खेलेको भूमिका प्रशंसायोग्य छ।' स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा प्रहरीले खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै प्रधानमन्त्री ओलीले प्रहरीलाई थप व्यावसायिक बनाएर अगाडि बढ्नुपर्ने उल्लेख गरे।

    प्रधानमन्त्री ओलीले तथ्याङ्कअनुसार प्रहरीले ९० प्रतिशत घटनाको सफलतापूर्वक ढङ्गले अनुसन्धान गरेर अभियुक्त पत्ता लगाए पनि यसलाई पर्याप्त मान्न नसकिने समेत बताए। उनले भने, 'तथ्याङ्कले राम्रो अनुसन्धान गरेको देखाए पनि एउटा संवेदनशील मुद्दामा तपाईहरु यदि असफल हुनुभयो भने यसले पुर्‍याउने चोटलाई सजिलै भरपुर गर्न सकिँदैन।'

    उनले प्रहरीलाई व्यावसायिक र सुदृढ सङ्गठन बनाई विदेशस्थित नेपालका विभिन्न दूतावासमा राख्ने जनशक्ति व्यवस्थापनमा नेपाल सरकार गम्भीर रहेको बताए।सङ्घीयता कार्यान्वयनमा नेपाल प्रहरीले खेलेको भूमिका मुलुक र जनताका लागि महत्वपूर्ण भएको समेत उनले बताए।

    मुलुक सङ्घीयतामा गएसँगै प्रहरी सङ्गठनलाई पनि सङ्घीय ढाँचाको रुपान्तरणमा लैजानका लागि आवश्यक सङ्घीय प्रहरी ऐन निर्माणमा नेपाल सरकार लागिरहेको प्रधानमन्त्री ओलीले बताए। प्रहरी आम नागरिकभन्दा पृथक र उदाहरणीय हुनु जरुरी रहेको समेत उनलको भनाइ थियो।

    यस्तै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीलाई नमुना सङ्गठनका रुपमा विकास गर्न आफू लागिरहेको बताए। उनले भने, 'हरेक प्रकारको अपराध नियन्त्रणका लागि नेपाल प्रहरी सक्षम छ, घटनाको अनुसन्धानका लागि समय र धैर्यता आवश्यक छ।'

    महानिरीक्षक खनालले मुलुकको शान्ति सुरक्षाका लागि सबैले आआफ्नो क्षेत्रबाट प्रहरीलाई सहयोग अाग्रह गरे। सीमित स्रोत र साधनका बाबजुद पनि नेपाल प्रहरीले दैनिक १८ घण्टा मुलुक र जनताको सेवा गरेको उनको दावी छ।

    प्रहरी दिवसका अवसरमा लाइफटाइम अचिभमेन्ट अवार्ड’बाट पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक अमरसिंह शाहलाई सम्मान प्रदान गरिएको छ। सो अवसरमा प्रधानमन्त्री ओलीले कामको सिलसिलामा यस वर्ष वीरगति प्राप्त गर्ने प्रहरी कर्मचारीका आश्रित परिवारलाई कदरपत्र प्रदान गरेका थिए। यस्तै, प्रहरी श्रीमती सङ्घका अध्यक्ष प्रमिला खनालले वीर प्रहरीका परिवारलाई राहत प्रदान गरेकी थिइन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]