|

काठमाडौं : नेपालीहरूको महान् चाड बडादशैँ हाम्रो घर आँगनमा आइसकेको छ। दशैँ आएलगत्तै रोजगारीका लागि विदेशिएका नेपाली दाजुभाइ घर परिवार सम्झेर फर्कने क्रम जारी छ। घरबाट पर पुगेका नेपाली दाजुभाइ दिदीबहिनी आफ्नो घर र आफन्त सम्झेर फर्किने तर्खरमा छन्। विभिन्न संचार माध्यममा दशैँ तिहार सम्झाउने गीतहरू घन्किन थालेका छन्। यिनै घन्किने गीतहरूमध्ये एक हो- 'नमुछे आमा दहीमा टीका नछरे जमरा।'

लक्ष्मण रायमाझीको शब्द र नारायण रायमाझीको संगीतमा रहेको उक्त गीतमा स्वर कृष्णभक्त राईको रहेको छ। वि.सं. २०५७ मा आएको उक्त गीतले आमनेपाली जनताको मन मस्तिष्कमा बस्न सफल भयो। यो गीत आउनुपूर्व पनि राई धेरै गीतमा आवाजमा स्वर दिए पनि उनलाई यो गीतले सम्पूर्ण नेपालीहरूमा परिचित गरायो। नेपालको पूर्वदेखि पश्चिमसम्म कृष्णभक्त राई भनेर चिनाउने गीत नै 'नमुछे आमा दहीमा टीका' नै रहेको राई बताउँछन्। २०५७ सालको कुरा हो, जतिबेला उनी नारायण रायमाझीको रिमा रेकर्डिङ स्टुडियोमा वाद्यवादकको रूपमा संलग्न थिए उनी। यो गीत पहिले नारायण रायमाझीले नै रेकर्ड गरिसकेका थिए। एक दिन स्टुडियोको काम सकेर एक्लै राईले उक्त गीत हार्मोनियम बजाउँदै गाइरहेका थिए।

त्यसबेला नारायण रायमाझीले पछाडिबाट उनले गाएको गीत सुनिरहेका रहेछन्। राईको गायनले रायमाझीलाई प्रभाव पार्न सफल भयो। लगत्तै उनले राईलाई यो गीत गाउन आग्रह गरे। उनी त्यो क्षण सम्झन्छन्, 'रेकर्ड भइसकेको गीतलाई पुन: रेकर्ड गर्न नारायण सरले सम्पूर्ण व्यवस्था गरिदिनुभयो। उहाँको त्यो गुन सायदै म भुल्न/तिर्न सकुँला।' उक्त गीत नेपाली सांगीतिक बजारमा आउँदा देश सशस्त्र युद्धमा थियो। जनयुद्धको दबदबाको बीच यो गीत आउँदा नेपालीहरू युद्धको चपेटामा थिए। युद्धले छिया पारेको नेपाली जनताको मनमा यो गीतले झन् ठूलो प्रभाव पार्‍यो। यो गीत सुन्ने त्यसबेला तत्कालीन माओवादी र सरकारको नजरमा उनी परे। उनी ती दिन सम्झन्छन्, 'त्यसबेला मलाई दुवै पक्षबाट निगरानीमा राखिएको थियो। सरकारी पक्षका मान्छे आएर सोध्थे तँ कुन पक्षको होस्? माओवादी पक्षबाट मान्छे आएर भन्थे तँ कुन पक्षको होस्?' त्यसबेला उनलाई निगरानीमा राख्नु आफ्नो गीतको सफलता रहेको उनको भनाइ छ।

उनले पूर्वेली, पश्चिमेली, आधुनिक, दोहोरी गीतमा स्वर र धून दिएका छन्। उनले अहिलेसम्म करिब ७०० गीत गाएका छन् भने २०० जतिमा संगीत भरेका छन्। जीवनयात्रा, आकांक्षा, सुस्केरालगायतका १७ वटा एल्बम बजारमा ल्याइसकेका छन् उनले। बाँसुरी, हार्मोनियम, गितार, तबला, सारंगीलगायतका अधिकांश बाजा बजाउँछन् उनी। ३३ वर्ष नेपाली सांगीतिक क्षेत्रमा बिताएका उनी अहिले पनि संगीत साधनामा नै छन्। यत्रो वर्ष संघर्ष गरिरहँदा उनी हारिसकेका छन्। 'के सधैँसधैँ संघर्ष गरेरै जिन्दगी बिताऊँ त?' उनी कहिलेकाहीँ आफैँलाई प्रश्न गर्छन्।

उनले धेरै सम्मान र पुरस्कार पाएका छन् तर राज्यले भने उनीमाथि कुनै पनि सहयोग आजको मितिसम्म गरेको छैन। उनी दु:खी हुँदै भन्छन्, 'भित्तामा रहेका पुरस्कार र प्रमाणपत्रले कहिलेकाहीँ सरकारलाई गिज्याइरहेका छन् भन्ने लागिरहन्छ।' सधैँ अभावै अभावको भुमरीमा फसेर जिन्दगी बिताइरहँदा ज्यादै पीडा हुन्छ उनलाई। न कहिल्यै सम्मान गरेको छ, नत रोजीरोटीको नै व्यवस्था गरेको छ सरकारले उनलाई। विभिन्न अन्तर्राष्ट्रिय संस्थाले दिने सम्मान भनेको यही राज्यले पाउनु नै हो भनेर चित्त बुझाए पनि सरकारले सधैँ आफूलाई फरक नजरले हेरेको उनी बताउँछन्।

जन्मजात दृष्टिविहीन उनी आजसम्म कसैको दया र मायामा बाँचेका छैनन्। उनको आफ्नै नाम छ। कर्म छ। उनी भन्छन्, 'तेत्तीस वर्ष यसै क्षेत्रमा संघर्ष गरेँ तर दु:खको पहाड उस्तै छ। अभाव उस्तै छ जिन्दगीमा।' गीतमा जस्तो लय उनको जिन्दगीमा कहिल्यै भएन।

अन्तर्राष्ट्रिय पुरस्कारहरू पनि पाएका छन् उनले। उनले वि.सं. २०७२ मा जापानमा भएको अन्तर्राष्ट्रिय पियानो फेस्टिभलमा इफोर्ट अवार्ड प्राप्त गरेका छन्। थाइल्याण्डमा सिआइपिएफटी भन्ने संस्थाले विश्वका ब्रेभ आर्टिष्टको उपाधि उनलाई प्रदान गरेको थियो।

खहरे खोलो र मान्छेको जिन्दगीको लय उस्तै हो। अनेक घुम्ती र मोडमा जिन्दगी जस्तै खोलामा पनी उतारचढाव आइरहन्छ। कठिनाइलाई सामना गरिरहन्छ र निरन्तर बगिरहन्छ। उसैगरी बग्ने न हो जिन्दगीको लय। खोलो बगेर समुद्रसम्म पुग्ला नपुग्ला, जिन्दगी आफ्नै लयमा चिहानसम्म पुग्छ। यहीबीचमा हो अनेक संघर्षका अनेकौँ कथाहरू निर्माण हुने। कुनै सम्झिनलायक हुन्छन् त कुनै बिर्सनलायक। राईले पनि नेपाली सांगीतिक क्षेत्रलाई ठूलो योगदान दिएका छन्।

जन्मजात दृष्टिविहीन उनी आजसम्म कसैको दया र मायामा बाँचेका छैनन्। उनको आफ्नै नाम छ। कर्म छ। उनी भन्छन्, 'तेत्तीस वर्ष यसै क्षेत्रमा संघर्ष गरेँ तर दु:खको पहाड उस्तै छ। अभाव उस्तै छ जिन्दगीमा।' गीतमा जस्तो लय उनको जिन्दगीमा कहिल्यै भएन। सानैमा बुबाआमा गुमाए उनले। एकपछि अर्को गर्दै दाजुहरू समेत बिते। दुनियाँमा उनका अभिभावक एकपछि अर्को गर्दै दूर भए। उनलाई आशा छ सरकार उनको अभिभावक बनिदेला भन्ने। 'सरकार हामी शारीरिक अशक्तमैत्री हुन नसके पनि अब देशमा समृद्धिको कुरा आइरहेको छ। जनताको हकहितका कुरा आइरहेका छन्। अब केही हुन्छ कि हाम्रा लागि!' उनमा आशाको केही त्यान्द्रो अझै बाँकी छ।

नमिलेको जिन्दगीको लय मिलाउन उनी धरानबाट काठमाडौं आए- २०५४ सालताका। त्यसभन्दा अघि पनि उनी काठमाडौं आउने क्रम जारी थियो तर पारिवारिक झमेलाले गर्दा राजधानी बसाइ स्थायी हुन सकेन। धरान बस्दा नै उनले एउटा एल्बम निकालिसकेका थिए, 'जीवनयात्रा।' विभिन्न सर्जकको शब्द र संगीत भए पनि उनको स्वर थियो त्यसमा। काठमाडौं आइसकेपछि उनले काम खोजे तर उनको क्षमताले गर्नसक्ने भनेको संगीत क्षेत्र मात्र थियो। काम खोज्ने क्रममा उनी रत्न बानियाँको झरना संगीत स्टुडियोमा पुगे। त्यहाँ उनले सात महिना काम गरे। उनी त्यसपछि सुदूरपश्चिममा वाद्यवादकको रूपमा काम गर्न पुगे। पुन: उनी काठमाडौं आए। काठमाडौं आएर उनी नारायण रायमाझीको रिमा रेकर्डिङमा काम गर्न थाले। कहिलेकाहीँ गीत गाउने पनि गर्थे उनले।

२०५९ सालमा आफ्नै कंचन रेकर्डिङ स्टुडियो खोलेर छ वर्ष बसे। कंचनबाट उनले एरेन्ज गर्नेदखि लिएर वाद्यवादन बजाउने कामसमेत गरे, जसमध्ये जगदीश समालले गाएको 'म त मर्छु क्यारे' अत्यधिक लोकप्रिय भयो। तर प्राविधिक र आर्थिक कारणले उक्त स्टुडियो बन्द भयो। उनी चुपचाप बसे। पुन: उनले संगीतमै केही गर्ने सोच राखेर छरिएका सपनालाई सँगालेर पुन: गीतमा संगीत र एरेन्जका काम गर्न सुरु गरे। अहिले उनी जडिबुटीस्थित आफ्नै डेरामा गीतमा एरेन्ज र संगीत भर्ने काम गर्छन्।

भिडियो :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.