बैतडी : जिल्लाको सुर्नया गाउँपालिकाका लेखापाल भवानीप्रसाद भट्टमाथि कार्यकक्षमै गएर स्थानीयले हातपात गरेकाे अाराेप लागेको छ। शुक्रबार कार्यालयमा काम गरिरहेका बेला स्थानीय भरत मडै र नरेश मडैले हातपात गरेको लेखापाल भट्टले बताए।
लेखापाल भट्टले भने, 'कार्यालयमा पुगेका दुवैजनाले गाली गलौज गर्दै हातपात पनि गरे।' गाउँपालिकाका लेखापालमाथि हातपात भएको पुष्टि गर्दै गाउँपालिका अध्यक्ष बीरबहादुर बिष्टले दोषीमाथि कारवाही हुने बताए। यता कुटपिट गरेको आरोप लागेका पक्षले भने सो कुरा अस्वीकार गरेका छन्। आरोप लागेका नरेशले आफूहरूले कसैलाई कुटपिट नगरेको तर समान्य विवाद भने भएको बताए। उनले भने, 'केही कुराको सूचना माग्दाखेरी लेखापालले अटेरी गरेपछि सामान्य विवाद भएको कुरालाई उचालेर ठूलो मुद्दा बनाइएको हो।'
सुरक्षाको माग गर्दै कर्मचारीले काम गर्न छोडे
यसैबीच सुर्नया गाउँपालिकामा कार्यरत कर्मचारीले आफूहरूको शान्ति सुरक्षाको ग्यारेन्टी नहुँदासम्म काम नगर्ने भन्दै गाउँपालिका अध्यक्ष बीरबहादुर बिष्टलाई ज्ञापन पत्र समेत बुझाएका छन्। कार्यालयमै कर्मचारी कुटिने अवस्था आएकाले कर्मचारीहरूले निवेदन दिएर काम गर्न नसक्ने जनाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशसिंह ऐरीले बताए।
कर्मचारीको ज्ञापनपत्र आफूसँग आइपुगेको र घटनाको विषयमा छलफल गर्न गाउँकार्यपालिकाको भोलि आकस्मिक बैठक बस्ने अध्यक्ष बिष्टले बताए। कर्मचारीमाथि हातपात भएको खबर पुगेपछि शंकरपुर प्रहरीचौकीकाे प्रहरी टोली खटिएकाे थियाे। प्रहरी हवल्दार कर्णबहादुर बिष्टका अनुसार घटनाको अनुसन्धान गर्दा लेखापाल भट्टमाथि सामान्य हातपात भएको बुझिन्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।