|
कार्यक्रम उद्घाटन गर्दै प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आर्थिक समृद्धिका लागि सबै नेपालीको सहभागिता आवश्यक रहेको बताएका छन्। उनले समृद्ध नेपाल सुखी नेपाली अभियानलाई मूर्त रूप दिनका लागि सरकार निजी क्षेत्र र गैरआवासीय नेपाली संघसँग सहकार्य गर्न तत्पर रहेको बताए।

राजधानीमा शुक्रबारदेखि शुरु भएको गैरआवासीय नेपाली विज्ञहरूको विश्व सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालको पहिचान विश्वसामु प्रस्तुत गर्न संघले निर्वाह गरेको भूमिकाको सराहना गरेका थिए।

मुलुकको आर्थिक समृद्धिका लागि आवश्यक वातावरण तयार पार्न सरकार प्रतिबद्ध रहेको बताउँदै प्रधानमन्त्रीले विकासका लागि ज्ञान र सीपको उपयोग गर्नैपर्ने बताए। उनले विज्ञ सम्मेलनले गरेको निष्कर्ष विकासका लागि सरकारलाई महत्वपूर्ण सुझाव हुने उल्लेख गरे। 

नेपालको मौलिक संस्कृति विश्वसामु परिचित गराउन सङ्घले खेलेको भूमिकाको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले नेपाल विश्वकै छुट्टै पहिचान भएको देश रहेको बताए। “अध्ययन, अनुसन्धान, अनुभवले विकासको आधार तयार पार्छ,” प्रधानमन्त्री ओलीले भने, “अब आर्थिक समृद्धिका लागि सबैको सहभागिता जरुरी छ।” उनले भूकम्पपछिको पुनःनिर्माणमा गैरआवासीय नेपालीहरूको योगदान महत्वपूर्ण भएको उल्लेख गरेका थिए। 

उनले कृषिको आधुनिकीकरण, प्रविधिको प्रयोग आवश्यक भएको उल्लेख गर्दै पूर्वाधार विकास तथा जलविद्युत् उत्पादनको क्षेत्रमा लगानी गर्न सरकारले विशेष ध्यान दिएको बताए।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले आवश्यक नीति निर्माण परिमार्जन गरेरै भए पनि लगानीको वातावरण सिर्जना गर्ने बताए।

नेपालको पर्यटन विकासमा गैरआवासीय नेपालीहरूले अझै महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने बताउँदै मन्त्री ज्ञवालीले नेपाललाई विश्वका विकसित देशसँग सुदृढ सम्बन्ध स्थापना गर्ने माध्यमका रुपमा गैरआवासीय नेपालीले इमानदारीपूर्वक काम गर्ने विश्वास व्यक्त गरेका थिए।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले बढ्दो व्यापार घाटाले देशको अर्थतन्त्र चुनौतीको मोडमा पुगेको वास्तविकता औँल्याउँदै त्यसो हुन नदिन महासङ्घले निर्यातमूलक उद्योगको प्रवद्र्धनमा जोड दिएको बताए।

सङ्घका अध्यक्ष भवन भट्टले विदेशमा सिकेका ज्ञान र सीपसँगै लगानी गरेर नेपाललाई समृद्ध तुल्याउन आफूहरू दृढ रहेको बताए। उनले पूँजीमात्रै नभई विदेशमा सिकेका ज्ञान, सीप र अनुभवको सदुपयोग गर्न सरकारसँग आग्रह गरे।

सङ्घको अन्तर्राष्ट्रिय समन्वय परिषद्का संस्थापक अध्यक्ष उपेन्द्र महतोले मातृभूमि नेपालको विकासलाई आफूहरूले प्राथमिकता दिएको बताए।

सम्मेलनमा पूर्व अध्यक्षद्वय शेष घले र जीवा लामिछानेले लगानीमैत्री नीति आवश्यक भएको भन्दै त्यसो भएमा गैरआवासीय नेपालीले हृदय खोलेर लगानी गर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.