|

जनकपुरधाम : ऐतिहासिक नगरी जनकपुरको एक यस्तो प्रसिद्ध मन्दिर छ, जहाँ घटस्थापनादेखि विजयादशमीसम्म महिलालाई प्रवेशमा रोक लगाइन्छ। सुन्दा अचम्म लाग्छ, तर सत्यता यही हो।

मन्दिर पूजाआजा तथा भगवानको दर्शन गर्नका लागि बनाइन्छ वा मन्दिर भनेकै भक्तजनको अर्को स्वरूप हो। तर, जनकपुरको प्रसिद्ध एउटा यस्तो मन्दिर छ। जहाँ महिलालाई मन्दिरभित्र प्रवेश गर्नै नदिई बाहिरबाटै पूजा गरेर फर्किन पर्ने बाध्यता रहेको छ। जनकपुरमा नौरथाको प्रारम्भसँगै विभिन्न मठमन्दिर र शक्तिपीठमा विशेष भीड लागे पनि राजदेवी मन्दिरमा भने घटस्थापनादेखि विजया दशमीसम्म महिलालाई दर्शन गर्न निषेध गरिने परम्परा हालसम्म कायमै छ।

सो अवधिमा महिलाका लागि मन्दिरको एक झ्याल खुल्ला गरिएको हुन्छ र सोही झ्यालबाट महिलाहरूले पूजाअर्चना गरेर फर्किनुपर्ने बाध्यता रहेको छ। राजा जनकको कुल देवीको रूपमा पुज्य राजदेवी मन्दिरमा झयालबाट मात्र महिलाले दर्शन पूजा गर्ने प्रावधान छ। पुरुषहरू मन्दिरभित्र प्रवेश गरी पिँढीसम्म पुगेर पूजा अर्चना गर्न सक्ने भए पनि दशैंको दश दिनसम्म महिलालाई मन्दिरभित्र प्रवेश दिइँदैन।

दशैंमा महिलालाई किन जान दिइँदैन मन्दिरभित्र

त्रेतायुगमा राजा जनकको कुलदेवीका रूपमा पुजिँदै आएकी राजदेवीको मन्दिरमा परापूर्वकालमा पूजा गर्न एक महिला मन्दिरको भित्री भागमा प्रवेश गरेको र उनी बेपत्ता भएको जनविश्वास रहेकाले सो मन्दिरभित्र महिलाको प्रवेशमा रोक लगाइएको मन्दिरका पुजारी राम गिरीको भनाइ छ। उनले भने, ‘आजको २१ औं शताब्दीको युगमा महिलाको पूजा गर्न महिलालाई नै प्रतिबन्ध हुनु दुःखद हो। यसलाई परिमार्जन गर्दै समय सापेक्षअनुसार लगिनुपर्छ।’

त्यस्तै रजस्वला भएका महिला पनि पूजाका लागि आउने गरेकाले पनि मन्दिरमा महिलाको प्रवेशमा रोक लगाइएको हो। तान्त्रिक विधिमा पूजा हुने भएकाले पनि महिलालाई मन्दिरमा प्रवेश गर्न रोक लगाइएको हुनसक्ने केहीको अनुमान छ। परम्परा छाडेर अहिलेसम्म कुनै पनि महिलाले दशैँको अवधिभित्र मन्दिरभित्र पस्ने आँट नगरेको मन्दिरका पूजारी महन्थ राम गिरीले बताए।

यता यसको रुढिवादी परम्पराको विरोध प्रत्येक वर्ष दशैंको समयमा भए पनि मौसमी बाजाजस्तो विरोध हराएर जाने गरेको स्थानीय सञ्चारकर्मी प्रतिभा झा बताउँछिन्। उनले भनिन्, 'आजको २१ औं शताब्दीमा पनि यस्ता अन्धविश्वासको पछि लागेर केही सीमिति व्यक्तिले महिलामाथि विभेद गरेको हो। यस्तो छुवाछुतको अन्त्य गर्नुपर्छ।'

दशैँमा राम मन्दिर र जानकी मन्दिरमा पूजाको विधि विधानमा फेर बदल नभए पनि पूजा गर्ने द्वार र महिलाहरूको प्रवेशमा फरक हुने गरेको छ। दशमीभरि महिलाहरूले भित्र प्रवेश गरी पिँढीमा पूजा गर्न रोक लगाइए पनि दशमीपछि महिलाहरूका लागिसमेत बन्देज नरहने  पूजारी गिरी बताउँछन्। यसैबीच परम्परागत मान्यतालाई चुनौती दिनुको कुनै औचित्य नरहेको जनाउदै जनकपुरकी सुमन स्रिहले बताउँछिन्। उनी भन्छिन, 'भगवानको पूजा आस्थाले हुन्छ। 

भित्र प्रवेश गर्नु नै ठूलो विषय होइन। हामीले हाम्रो परापूर्वकालदेखि आएको परम्परालाई अनादर गर्नु कदापी उचित होइन।' राजदेवी मन्दिर जस्तै जानकी मन्दिरको गर्भ गृहको मुख्यद्वारसम्म पनि दशमीमा महिलाको प्रवेश निषेध गरिन्छ। जानकी मन्दिरमा महिलाले झुलनोत्सव हुने स्थानबाट मात्र दर्शन पूजा गर्न पाउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.