|

कपिलवस्तु : दशैंको आगमनसँगै मासुको माग समेत बढ्न थालेपछि कपिलवस्तुबाट दैनिक तीन करोड रुपैयाँभन्दा बढीको खसीबोका जिल्लाबाहिर निर्यात भइरहेको छ। घटस्थापनादेखि माग ह्वात्तै बढेपछि भारतीय खसीबोका व्यापारीहरुलाई अहिले भ्याइनभ्याइ छ। यहाँबाट दैनिक १० देखि १५ ट्रकसम्म खसीबोका काठमाडौं पठाइँदै छ।

नेपालमा खसीबोका अभाव भएको र भारतमा खसीबोका सस्तोमा पाइने भएकाले भारतबाट भित्र्याइने गरिएको व्यापारीहरुले बताएका छन्। पश्चिम नेपालमा खसीबोकाको कारोबारका लागि प्रसिद्धि कमाएको कपिलवस्तुको चन्द्रौटामा लाग्ने खसीबजार र बुद्धमुमिको डुमरामा स्वदेशी तथा विदेशी खसीबोकाको कारोबार चाडपर्वको बेला अत्यधिक हुने गर्दछ। स्थानीय तथा भारतको बहराइच, कल्पी, सुल्तानपुर, कानपुरलगायतका व्यापारीहरुले यहाँबाट काठमाडौं लगायत देशका अन्य शहरमा निर्यात गरिरहेका छन्।

भारतीय व्यापारीले कृष्णनगर नाकाबाट खसीबोका भित्र्याएर चन्द्रौटाबाट नेपाली ट्रकमा लोड गरेर पठाउने गरेका छन्। चन्द्रौटाबाट दैनिक १० देखि १५ ट्रकसम्म खसीबोका काठमाडौं पठाइएको भारतीय खसीबोका ब्यापारी हलिम कुराइसीले बताए। उनले भने, ‘नेपालमा चाडबाडको बेला मासु खाने प्रचलन बढेको छ, हामीले यहाबाट माग बमोजिम सक्दो पठाउँछौं।’ 

गत शनिबार मात्र चन्द्रौटाबाट १२ ट्रक खसीबोका काठमाडौं पठाइएको खसीबोका सहायक ठेकेदार राजु ठाकुरले बताए। यहाँ लामो समयदेखि भारतको उत्तर प्रदेश बहराइच र नानपाराका १० जनाभन्दा बढी भारतीय व्यापारीले काठमाडौंमा खसीबोकाको निर्यात गर्दै आएका छन्। 

यहाँबाट बाबरी, जमुनापारी र स्थानीय जातका खसीबोका काठमाडौं निर्यात गर्दै आएको व्यापारीहरुले बताए। एक ट्रकमा २५० देखि ३०० सम्म खसीबोका पठाइने गरिएको छ। एक ट्रक खसीबोकाको मूल्य २० लाख रुपैयाँसम्म हुने गरेको भारतीय व्यापारी हलिम कुराइसीले बताए।

घटस्थापनादेखि सुरु भएको खसीबोका बिक्री नवमीसम्म चल्ने छ। दशैंका बेला नेपालमा खसीबोकाको ब्यापार बढी हुने भएकाले जति खसीबोका ल्याए पनि माग पूरा गर्न गाह्रो भएको भारत बहराइचका व्यापारी अवरास मुसलमानले बताए।

भारतीय व्यापारीहरुले कानपुर नजिक लाग्ने खसी बजार जसवन्तनगर र काल्पीबाट खरिद गरी नेपाल पठाउने गरेका छन्। भन्सार कार्यालय कृष्णनगरका अनुसार दशैंको बेला अन्य समयभन्दा दोब्बर खसी बोका भित्रिने गरेका छन्। असोज १ देखि २६ सम्म २३ करोड ३७ लाख ८० हजार रुपैयाँ मूल्यका २६ हजार ७६ वटा खसीबोका भित्रिएका छन्। गत वर्षको असोजमा ३० करोड ८९ लाख ४१ हजार रुपैयाँका कुल ३८ हजार २७५ वटा खसीबोका भित्रिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.