|

जनकपुरधाम : भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले अबको चार वर्षभित्र देशभर रेल गुड्ने दाबी गरेका छन्।

जनकपुरधाम उपमहानगरपालिका १४ स्थित रजौलमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री महासेठले अबको चार वर्षमा देशभरी नै रेल कुदने दाबी गरेका हुन्। उनले जनकपुरधाममा आउँदो डिसेम्बरदेखि रेल औपचारिक रूपमा नियमित संचालन हुने जानकारी दिए।

मन्त्री महासेठले वर्षौँदेखि विभिन्न सरकारले सपना देखाउँदै आएपनि निर्माण कार्य पूर्ण हुन नसकेको हुलाकी सडकको काम अन्तिम चरणमा पुगेको बताए। उनले प्रधानमन्त्री केपी ओलीले पानी जहाज चलाउने जनतासँग गरेको प्रतिवद्धता एक वर्षभित्र पूरा गर्ने समेत दाबी गरे।

मन्त्री महासेठले मधेसको विकास नभएसम्म देशको विकास असम्भव रहेको पनि बताएका छन्। हिमाल र पहाडको लाइफलाइन मधेस भएको र यसको विकास नभएसम्म देशको विकास असम्भव रहेको बताए।

मधेसको विकासको लागि नेपाल सरकारले थुप्रै बजेट ल्याएको बताउँदै मन्त्री महासेठले चार वर्ष भित्र मधेशको सम्पूर्ण गल्लीगल्लीका सडकलाई मूख्य सडकसम्म जोडेर गाउँगाउँलाई सदरमुकामसँग जोड्नेगरी काम भइरहेको बताए।

मधेसमा सत्तारुढ नेकपाविरुद्ध फैलाउँदै आएको हल्ला तर्फ नजान आग्रह गर्दै महासेठले जनताको भावना विपरीत सरकारले काम नगर्ने उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.