|

काठमाडौं : नेपालीहरूको महान् पर्व बडादशैँ सबैको घर-घरमा भित्रिइसकेको छ। दशैँ नजिकिएसँगै घरबाट टाढा रहेका आफन्तहरू घर फर्किसकेका छन्। कतिपयले यात्रा तय गरेका छन् भने कतिपय यात्रामै छन्। केहीले यात्रा तय गर्नै बाँकी रहेको होला। जेहोस् वर्षदिनमा एक दिन आउने ठूलो चाड दशैँ मनाउन हरेकको मन यतिबेला हर्षविभोर छ। कोही आफन्तसँग भेटिनुको खुसीमा छन् भने कोही साथीभाइसँगको मिलनको उत्साहमा छन्।

यसैक्रममा देशको मूलबागडोर सम्हालेको नेपाल कम्युनिस्‍ट पार्टी (नेकपा)का अध्यक्ष लगायतका शीर्ष नेताहरूले पनि यसवर्ष धुमधामसँग दशैँ मनाउँदै छन्। नेकपाका कुन नेताले कसरी दसैँ मनाउँदै छन् भनेर विस्तृत यस्तो छ :

केपी शर्मा ओली- प्रधानमन्त्री एवं अध्यक्ष, नेकपा

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले यसवर्षको दसैँ आफ्नो गृहजिल्ला झापा र काठमाडौंमा मनाउने कार्यक्रम रहेको छ। सप्तमी र अष्टमीका दिन प्रधानमन्त्री निवास बालुवाटारमै रहेर भेटघाट गर्ने योजनामा रहेका प्रधानमन्त्री ओली नवमीका दिन भने गृहजिल्ला झापा जानेछन्।

हरेक वर्ष आफ्नो तर्फबाट दसैँ, तिहार, छठ लगायतका पर्वहरूको उपलक्ष्यमा आयोजना गरिँदै आएको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन उनी झापा जाने कार्यक्रम रहेको छ। नवमीको दिन झापाको बिर्तामोडमा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी भएर दसैँ मनाउने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। 'यो उहाँ (प्रधानमन्त्री)ले व्यक्तिगत रूपमा हरेक वर्ष आयोजना गर्ने नियमित कार्यक्रम अन्तर्गतको कार्यक्रम हो', संयोजक अधिकारीले भने, 'नवमीका दिन बिहान झापा आएर बेलुकी काठमाडौं फर्कनुहुन्छ।'

दशमीका दिन टीका भने नेकपा अध्यक्ष ओलीले काठमाडौंमै ग्रहरण गर्नेछन्। प्रधानमन्त्री ओलीलाई टीका लगाइदिनका निम्ति उनका पिता मोहनप्रसाद ओली नवमीकै दिन काठमाडौं आउनेछन्। 'झापामा रहेका परिवारका अन्य सदस्यहरूलाई टीका लगाएर बुबा काठमाडौं फर्केपछि प्रधानमन्त्रीले टीका लगाउने कार्यक्रम छ', अधिकारीले भने 'भद्रपुरबाट पहिलो प्लाइटमा उहाँ काठमाडौं फर्कने कार्यक्रम छ।' यससँगै श्रीमतीलगायत काठमाडौंमा रहेका परिवार, आफन्तजन, कार्यकर्ताहरूबीचमा सदाझैँ अध्यक्ष एवं प्रधानमन्त्री ओलीको दशैँ मनाउने कार्यक्रम रहेको छ।

पुष्पकमल दाहाल प्रचण्ड- अध्यक्ष, नेकपा

नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको यसवर्ष दसैँ छैन। अध्यक्ष प्रचण्डको एक मात्र पुत्र प्रकाश दाहालको निधन भएकोले यसवर्ष प्रचण्ड परिवारले दसैँ मनाउनेछैन।

तर, यस दसैँको खाली समयलाई भने सदुपयोग गर्ने योजनामा छन् अध्यक्ष प्रचण्ड। दसैँको समयमा उनी खुमलटारस्थित निवासमा परिवारसँग बसेर लेखपढ गर्ने योजना रहेको अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए। 'उहाँ(प्रचण्ड)को दसैँ परिवारसँगै घरमा बसेर मनाउनुहुन्छ। दसैँ मान्ने कार्यक्रम यसवर्ष छैन', सापकोटाले भने 'लेखपढ गर्ने कार्यक्रम, अध्ययन गर्ने कार्यक्रम रहेको छ।'

दसैँ बिदा भएर सबै घरतिर लागेसँगै नेकपा अध्यक्ष प्रचण्डले सोमबारदेखि नै औपचारिक कार्यक्रममा जान छाडेका छन्। विशेष कार्यक्रमबाहेक दसैँको समयमा अन्य कार्यक्रममा जाने योजना रहेको प्रचण्डको सचिवालयले जानकारी दिएको छ।

झलनाथ खनाल- वरिष्ठ नेता

नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको यसवर्षको दसैँ काठमाडौंमै मनाउने योजना रहेको छ। विशेषगरी परिवार र आम कार्यकर्ताका बीचमा दसैँ मनाउने तयारी रहेको नेता खनालले बताए। परिवारका सदस्यहरूलाई टीका लगाउने र कार्यकर्ताहरूलाई टीका लगाएर शुभकामना आदानप्रदान गर्ने कार्यक्रम रहेको नेता खनालले बताए।

'मेरो छोरा छ म उसलाई टीका लगाइदिन्छु। हामी बुढाबुढीचै एकले अर्कालाई टीका लगाइदिन्छौँ', नेता खनाल भन्छन् 'कार्यकर्ताहरू ठूलो संख्यामा मेरो घरमा आउनुहुन्छ। म उहाँहरूलाई टीका लगाइदिन्छु र शुभकामना आदानप्रदान गर्छौं। त्यसरी दसैँ मनाउछौँ।'

माधवकुमार नेपाल- वरिष्ठ नेता

नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल दसैँको सन्दर्भमा रौतहटका विभिन्न ठाउँमा आयोजना गरिएका कार्यक्रममा सहभागी हुन फूलपातिका दिन रौतहट जाँदै छन्। नवमीको दिन मात्र नेता नेपाल काठमाडौं फर्कने कार्यक्रम रहेको छ।

दसैँको टीका भने नेपालले काठमाडौंमै लगाउनेछन्। कोटेश्वरस्थित निवासमा आफ्नी सानो आमा (काकी) शान्ता नेपाल र दाजु दिव्यकुमार उपाध्यायबाट टीका ग्रहण गर्ने कार्यक्रम रहेको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए। त्यसपछि श्रीमती, छोराछोरीलगायत परिवारका अन्य सदस्यहरू, कार्यकर्ताहरूसँग टीका लगाउने कार्यक्रम रहेको छ।

वामदेव गौतम- सचिवालय सदस्य

नेकपाका सचिवालय सदस्य वामदेव गौतमले यसवर्ष काठमाडौंमै दसैँ मनाउनेछन्। ललितपुर भैँसेपाटीस्थित निवासमा नेता गौतमले परिवारसँगै दसैँ मनाउने कार्यक्रम रहेको छ। विशेषगरी श्रीमती, छोराबुहारी, छोरी, नातिनीलगायत परिवारका अन्य सदस्यसँग दसैँ मनाउने कार्यक्रम रहेको नेता गौतमका स्वकीय सचिव दीपक टमटाले जानकारी दिए। यसका साथै कार्यकर्ताहरूसँग गौतमले सदाझै दसैँ मनाउने कार्यक्रम रहेको बताइएको छ।

ईश्वर पोखरेल उपप्रधान तथा रक्षामन्त्री- सचिवालय सदस्य, नेकपा

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले यसवर्षको दशैँलाई थप अध्ययन गर्ने अवसरका रूपमा सदुपयोग गर्नेछन्। नेकपाका सचिवालय सदस्यसमेत रहेका नेता पोखरेलले पार्टी तथा मन्त्रालयसँग सम्बन्धित पढ्नुपर्ने, बुझ्नुपर्ने कामहरू गर्ने बताए।

दसैँ भने सदाझैँ मनाउने उनको भनाइ छ। 'मेरो यसपटकको दसैँ कुनै विशेष कार्यक्रम गरेर मनाउने योजना छैन', नेता पोखरेल भन्छन्, 'प्रायः म विशेष योजना बनाएर पनि पर्व मनाउने गर्दैन म दसैँमा परिवारसँगै रहन्छु।'

समय मिलेमा दसैँमा १/२ वटा किताब पढ्ने पोखरेलको योजना छ। घरपरिवार तथा कार्यकर्ताहरूसँग टीका लगाएर शुभकामना आदानप्रदान गर्ने कार्यक्रम नेता पोखरेलको छ।

रामबहादुर थापा, गृहमन्त्री

गृहमन्त्री तथा नेकपा सचिवालय सदस्य रामबहादुर थापा बादलको दसैँ यसपालि गृहजिल्ला चितवनमा हुनेछ। चितवनमा परम्पराअनुसार परिवारसँग दसैँ मान्ने कार्यक्रम रहेको गृहमन्त्री थापाका स्वकीय रञ्जित आलेमगरले जानकारी दिए।

चितवनस्थित निवासमा नेता थापाले आफ्नो ८४ वर्षकी आमासँग टीका ग्रहण गर्नेछन्। दसैँ मान्नका लागि उनी नवमीका दिन चितवन प्रस्थान गर्नेछन्। साथै परिवारका अन्य सदस्यहरू श्रीमती, छोरा, दाजुभाइ, दिदी-बहिनीलगायत आफन्तहरूसँग दसैँ मनाउने कार्यक्रम रहेको गृहमन्त्री थापाको सचिवालयले जानकारी दिएको छ। 

विष्णु पौडेल, महासचिव

नेकपा महासचिव विष्णु पौडेलको गृहजिल्ला रुपन्देही हो। तर, यसपालिको दसैँ नेता पौडेलले पोखरामा मनाउनेछन्। पोखरास्थित ससुराली, आफन्त, छोरीज्वाइँको साथमा दसैँ मनाउने कार्यक्रम रहेको महासचिव पौडेलका स्वकीय सचिव यम पाण्डेले जानकारी दिए। 'उहाँ (विष्णु पौडेल)का आफन्तहरू पोखरामा हुनुहुन्छ। छोरी ज्वाइँ पनि पोखरामै हुनुहुन्छ। त्यसकारण यसपालि सपरिवारसहित पोखरामा दसैँ पर्व मनाउने कार्यक्रम रहेको छ', पाण्डेले भने।

दसैँका सन्दर्भमा महासचिव पौडेल ४ दिन पोखरामा रहनेछन्। अष्टमीका दिन पोखरा गएका नेता पौडेल दशैँ मनाएर एकादशीका दिन मात्र काठमाडौं फर्कनेछन्।

नारायण काजी श्रेष्ठ, प्रवक्ता

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ अहिले गृहजिल्ला गोरखामा छन्। आफ्नो निर्वाचन क्षेत्रमा दशैँ तथा तिहारका सन्दर्भमा आयोजना गरिएका शुभकामना आदानप्रदान तथा खेलकुद प्रतियोगिताहरूमा नेता श्रेष्ठले सहभागिता जनाइरहेका छन्। 'अहिले गोरखाको गाउँ-गाउँमा छु। दशैँको सन्दर्भमा यहाँ शुभकामना आदानप्रदान सँगै खेलकुद प्रतियोगीता, सांस्कृतिक कार्यक्रमहरूको प्रतियोगिता भइरहेका छन्', नेकपा प्रवक्ता श्रेष्ठले भने, 'ती कार्यक्रमहरूमा भाग लिँदै हिँडिरहेको छु।'

नेता श्रेष्ठ बुधबार (भोलि) कार्यक्रममा सहभागी हुन महोत्तरी जानेछन्। त्यहाँ आयोजना गरिएको विभिन्न कार्यक्रममा सहभागी भएर उनी विजयादशमीका दिन मात्रै काठमाडौं आइपुग्छन्। दशैँका दिन काठमाडौंमा रहेका आफ्ना दाजुहरूसँग टीका लगाउने नेता श्रेष्ठले बताए। 'काठमाडौंमा दाजुहरूसँग मैले टीका लगाउँछु। म आफूले भने भाइभतिजा, भतिजीहरूलाई टीका लगाइदिन्छु', नेता श्रेष्ठले भने। सँगै घरमा आएका कार्यकर्ताहरूलाई समेत उनले टीका लगाइदिनेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.