घर-परिवार र साथीको याद आए पनि घर जान सकिन्नथ्यो

|

उदयपुर : १ फागुन २०५२, जुन दिन तत्कालीन नेकपा (माओवादी) परिवर्तनका लागि भन्दै सशस्त्र संघर्ष सुरु गर्‍यो। त्यो १० वर्षसम्मको संघर्षमा उनीहरूले हिन्दु धर्मका परम्परालाई गलत भन्दै हिँडे। उक्त धर्मका कारण समाजमा विभेद हुन्छ र परिवर्तनका लागि धर्म र जातभन्दा माथि उठेर अघि बढ्नुपर्छ भन्ने उनीहरूको अभियान थियो। त्यही कारण पनि उनीहरूले हिन्दु धर्मको दशैँ, तिहार जस्ता ठूला पर्वलाई त्यति महत्त्व दिएनन्, तत्कालीन माओवादीका नेता तथा कार्यकर्ताहरूले। तीनैमध्येका एक हुन्, उदयपुरका मोहनबहादुर खत्री।

२०५३ साल चैत्रबाट तत्कालीन माओवादीको भ्रातृ संगठन  अखिल क्रान्तिकारीको उदयपुर जिल्ला अध्यक्ष तथा पार्टी ‘एरिया’ कमिटी सदस्य हुँदै आबद्ध हुँदै उनी राजनीतिमा होमिए।

९ वर्षसम्म भूमिगत जीवन बिताउँदा उनी ‘दिपक’ र हेनरीले नामले सशस्त्र संघर्षभरि उदयपुर, खोटाङ, भोजपुर, सिरहा, सप्तरी, धनुषा, सिन्धुली, ओखलढुंगा, सोलखम्बु र रामेछापलगायत पूर्वका विभिन्न जिल्लामा काम गरे।

दुस्‍मनको डर, मनभरि पीर

लामो समय सशस्त्र संघर्षमा उनको जीवनको ऊर्जाशील समय बित्यो। त्यो समयमा उनले धेरै तीतामीठा पलको सामना गरे। संघर्षको दशवटा दशैँ उनको डर र पीरमै बित्यो। खुल्ला जीवनमा आएपछि मात्र उनले दशैँलाई राम्ररी मनाउँन पाए। जसरी सानो उमेरमा दशैँको बेग्लै रौनक हुन्थ्यो त्यसरी उनमा अहिले दशैँको रौनक त्यस्तो छैन। संघर्षका क्रममा पनि उनले पीरै पीरमा दशैँ मनाए। अहिले पनि त्यति उत्साह छैन उनमा।

‘म निम्न किसान परिवारमा जन्मेको हुँ। क्षत्री परिवारमा जन्मेकाले मेरो परिवारले मैले थाहा पाउँदादेखि नै दशैँ मनाउँदै आएको थियो। २२/२३ वर्षको उमेरसम्म परिवारसँगै दशैँ परम्पराअनुसार नै मनाउने गरिथ्यो’, बाल्यकालको दशैँ स्मरण गर्छन्, ‘दशैँ अति रमाइलो लाग्थ्यो। पिङ खेल्ने, आफन्तको हातबाट टीका जमरा लगाउने, मामाघर गएर टीका लगाउँदै दक्षिणा जम्मा गर्ने, राम्रो लगाउने, मीठो खाने र आफन्त साथीसँग भेटघाट गर्ने कुराले दशैँ कहिले आउँछ जस्तो लाग्थ्यो।’

बढ्दो उमेरसँगै विचार र राजनीतिप्रतिको झुकावले खत्रीलाई दशैँको महत्त्व कम गराउँदै गयो। अखिल क्रान्तिकारीमा संगठित हुँदै तत्कालीन माओवादी पार्टीको जनमुक्ति सेनादेखि पार्टी संगठकसम्मको भूमिका निर्वाहमा लागेका उनले दशैँ लुकेर मनाउन थाले। ‘तत्कालीन नेकपा (माओवादी)मा पूर्णकालीन भएर राजनीतिमा लागेँ,’ उनले भने, ‘जनताकै घरमा दशैँ मनाउने थालियो। घर जाँदा दुस्‍मनको डर, जनतासँग दशैँ मनाउँदा मनभरि पीर हुन्थ्यो। ती पुराना दिनले अझै नमीठो बनाउँछ।’

जनताको घरमा दशैँ

वर्ष दिनमा आउने पर्व दशैँ। जब दशैँ आउथ्यो, बाल्यकालको त्यो यादले सधैँ सताउँथ्यो। घर जाऊ भने तत्कालीन शाही सेनको डर, घरको याद मनभरि लिएर बितेका थिए ती दशैँ।

‘राज्य सत्ता परिवर्तन गर्न हिँडेको मान्छे। हार खाने कुरै भएन। दशैँमा पनि जनताकै घर बस्ने चलन थियो। जनताको घरमा हामी बस्थ्यौँ’, उनी सम्झन्छन्,‘अरू बेलाभन्दा पनि दशैँंको बेला जनतालाई पनि खल्लो महसुस हुन्थ्यो, उनीहरूले दुःख गरेर जम्मा गरेको बाँडेर खाँदा हामीलाई पनि नरमाइलो लाग्थ्यो।’

संघर्षको सुरुवाती समयमा दशैँ लगायतका पर्व सानो समूह भएर जनताको घरमै मनाएको उनी सम्झन्छन्। जनतासँगै रम्ने, जनताकै हातबाट टीका लगाउने, पिङ खेल्ने र शुभकामना आदन प्रदान गर्ने गरेर उनीहरूले एक दशक बिताए।

‘जनतासँग दशैँ मनाइरहँदा घर परिवार, छरछिमेक, साथीको यादले हुरुक्कै बनाउँथ्यो।  सम्झना आएर के गर्नु घर जान सकिँदैन थियो। प्रहरी प्रशासनले पर्वकै समयलाई लक्षित गरेर बसेका हुन्थे’, उनी भन्छन्, ‘घर गएको सूचना पाए, घरपरिवारलाई पनि दुःख दिने गर्थे। जति नै घर जाने ईच्छा भए पनि जाने परिस्थिति थिएन। ईच्छा चाहना र रहरहरूलाई दबाएर जनतासँगै रमाउनुको बिकल्प थिएन।’

एक दशक टीका नलगाई बिताएका ती पल

संघर्ष उत्कर्षमा पुग्दै गयो। जनमुक्ति सेना नेपाल र भूगोलको पार्टीका संगठनहरू बिस्तारै ठूला बन्दै गए। त्यसपछि जनताको घरमा दशैँ मनाउने चलन कम हुँदै गयो। पछि सशस्त्र संघर्षमा होमिएका जनमुक्ति सेना, संगठनका कार्यकता भेला भएर संयुक्त रूपमा दशैँ मनाउन थालेको उनी स्मरण गर्छन्।

‘हाम्रा आफ्नै क्याम्पहरू थिए। त्यहीँ बसेर जनता, स्थानीय पार्टी र जनसंगठन, जनमुक्ति सेना भेला मनाउँदा घर याद कमै आउने गर्दथ्यो’, खत्री भन्छन्, ‘त्यहीँ जम्मा भएर शुभकामना आदनप्रदान गर्ने, राँगा, खसी काटेर मीठो मसिनो खाने, जनतालाई पनि बोलाएर खुवाउने गरेर दशैँ मनाउन थालियो।  तर  टीका भने लगाइएन। यसरी संयुक्त भेला जम्मा भएर दशैँ मनाइरहँदा कहिलेकाहीँ दुस्‍मनको घेरामा पनि परिन्थ्यो। भाग दौड हुन्थ्यो।’

दशैँ, तिहारमा भाइटीका, जनताको हातबाट भूमिगत भएको ३/४ वर्षसम्म त उनले पनि लगाएका थिए। २०५७ पछि भने उनले टीकै लगाउन छाडे। उनले राजतन्त्र अन्त्य नगरी टीका नलगाउने प्रण गरे उनले। 

भूमिगत जीवनपछिको टीका

एक दशकको लामो संघर्षपछि बृहत्त शान्तिप्रक्रिया भयो। त्यसपछि २०६४ मा संविधानसभको निर्वाचन पनि भयो। निर्वाचनमा खत्री उदयपुर क्षेत्र नम्बर ३ बाट निर्वाचित पनि भए। २०६५ साला जेठ १५ गते गणतन्त्र नेपालको घोषणा भयो।

उनको त्यो वाचा पनि पूरा भयो। गणतन्त्र स्थापनापछि २०६५ कै दशैँमा उनले ९० वर्षकी हजुरबुबा भक्तबहादुर खत्रीको हातबाट टीका जमारा लगाई आशिर्वाद ग्रहण गरे। ‘त्यसयता दशैँमा बुबाको हातबाट टीका जमारा लगाई आशीर्वाद ग्रहण गर्ने गरेको छु’, उनी भन्छन्,‘दशैँ डुलेर सबै आफन्त र मान्यजनको हातबाट घुमेर टीका लगाउने गरेको छैन।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.