|

  • नविन मास्के-

भोजपुर : केही वर्ष अघिसम्म विभिन्न बहानामा देश तथा विदेशमा प्रदेशिएका गाउँघरका युवा युवतीहरू भेला हुने अवसरनै दशैं तिहार थियो। यस अवसरमा भेला भएका युवा युवतीहरूले टोलटोलमा लिंगे पिङ लगाएर मेला लगाउने गर्थे। टोल टोलमा पिङ लगाएर मेला लगाउँदा गाउँको रौनकता नै निकै फरक देखिन्थ्यो, तर पछिल्लो केही वर्षयता प्रविधिले फड्को मारेसँगै दशैं तिहार जस्ता महान् चाडहरूमा समेत युवा युवतीहरू आफ्नो गाउँघरमा कम आउन थालेसँगै लिंगे पिङ हालेर मेला लगाउने चलन लोप हुँदै गएको छ। पछिल्लो समय गाउँ घरमा दशैँ र तिहारमा हुने रमाइलो घट्दै गएको छ।

दशैं र तिहारमा लागाइने लिंगे पिङ सांस्कृतिको लोप हुँदै गएसँगै चाडवाडमा हुने रौनक घट्दै गएको हो।  केही वर्ष अघिसम्म दशैं र तिहारको लामो विदा संगै रोजगारी लगायत अन्य विभिन्न कारण शहर भित्रिएका प्राय सवै युवा युवतीहरू गाउँ फर्कीन्थे अनि गाउँको रौनक नै बद्लिन्थ्यो, तर पछिल्लो समय चाडवाडमा युवाहरूको आगमन पातलिँदै गएको छ।

चाडबाडमा युवाहरू गाउँघर आउने क्रम घटेसँगै गाउँघरमा लिंगे पिङ र मेला लगाउने प्रचलनसमेत हट्दै गएपछि चाडवाड नै खल्लो हुने गरेको भोजपुरको पुर्वी दक्षिणी अरुण गाउँपालिका ४ चरम्बिका स्थानीय संगीता कुमालले बताइनु। चरम्बिका स्थानीय कुमालले भनिन्, 'केही वर्ष पहिले गाउँघरमा दशैँ तिहारको समयमा लिंगे पिङ लगाएर रमाइलो गर्ने गरिन्थ्यो, तर पछिल्लो केही वर्षयता नयाँ पुस्ताहरूबाट यस्ता संस्कार संस्कृतिहरूको चासो नै कम हुन थालेको छ। यसरी युवायुवतीहरूबाट संस्कार संस्कृतिको चासो हराउन थालेसँगै गाउँघरका दशैँ तिहार बर्सेनि खल्लो हुने गरेको छ।'

पछिल्ला केही वर्षायता प्रविधिले निकै फड्को मारेसँगै, चाडवाडको बेलासमेत आफ्नो गाउँघर नफर्किएर टेलिफोन, इन्टरनेट, लगायतका विभिन्न सामाजिक सञ्जालहरूबाट घर परिवार तथा आफन्तहरूलाई चाडबाडको शुभकामना दिने प्रचलनको समेत विकास हुँदै गएको छ। दशैँ तिहारको लामो बिदामा छिमेकी मुलुकका विभिन्न सहर घुमघाम गर्ने चलन पनि पछिल्लो समय अत्याधिक रूपमा वृद्धि हुँदै आएको छ।

गाउँघर फर्कीएका युवाहरू समेत फेसबुक, ट्विटर, इन्ट्राग्राम जस्ता सामजिक सञ्जालहरू सँगै भिडियो गेम लगायतमा रमाउने संस्कारले समेत पिङ संस्कृतिको लोप हुँदै गएको भोजपुर नगरपालिका ८ भोजपुरका स्थानीयवासी कृष्णराज राईले बताए। स्थानीय राईका अनुसार, 'नयाँ प्रविधिहरूलाई अंगाल्नु त पर्छ नै, तै पनि नयाँ प्रविधिलाई अंगाल्दै गर्दा आफ्नो पुर्खाहरूबाट मनाउँदै आइएको संस्कार संस्कृतिहरूलाई पनि संरक्षण गरिनुपर्छ।'

भोजपुरको अधिकांश ग्रामीण भेगहरूमा दशैँ र तिहारको मौलिकतालाई जोगाउनका लागि केही वर्ष अघिसम्म बाँसको लिंगो गाडेर बाबियो वा नाइलनको डोरीबाट लठ्ठा बनाएर लिंगे पिङ लगाउने चलन थियो। तर, पछिल्लो केही वर्ष यता लिङ्गे पिङ हालेर रमाइलो गर्ने प्रचलन बर्सेनी हराउँदै गएको छ।

भोजपुरको अधिकांश ग्रामीण समुदयको संस्कृतिसँग जोडिएकोले यसको संरक्षणमा लाग्नुपर्ने भोजपुरको पुर्वी दक्षिणी अरुण गाउँपालिका ४ चरम्बिका स्थानीय अर्जुन राईले बताए। राईले भने, 'पहिले चाडपर्व मनाउन लिंगे पिङ लगाउँदा निकै रमाइलो हुने गर्थ्यो, तर पछिल्लो केही वर्षयता गाउँका युवायुवतीहरूले यस्ता संस्कार संस्कृतिहरूलाई दिनानुदिन त्याग्दै जान थालेका छन्। यसरी त्यागिँदै गरेको संस्कार संस्कृतिहरूलाई हामीले नै संरक्षण गर्नुपर्छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.