|

जनकपुरधाम : महोत्तरीमा आठ महिने शिशुको हत्याका आरोपीलाई प्रहरीले पक्राउ गरेको छ। महोत्तरी जिल्लाको औरही नगरपालिकाकी ८ महिने शिशु सोनाली चौधरीको हत्याका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो।

सोनालीलाई बलात्कार गरी हत्या गरिएको झण्डै २ महिनापश्चात् अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। पक्राउ पर्नेमा महोत्तरीको भंगहा नगरपालिका १ हत्तिसर्वाका २५ वर्षीय भरत साह रहेका छन्। सोनालीलाई बलात्कार गरी हत्या गरेर फरार रहेका उनलाई सुनसरीको ईनरुवा क्षेत्रस्थित भाण्टाबारीबाट प्रहरीले पक्राउ गरेको जनाएको छ। भण्टावारीस्थित प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक अवधलाल साहको टोलीले हत्याको आरोपी भरतलाई पक्राउ गरेको हो।

स्थानीय व्यवसायी सन्तोष चौधरीकी छोरी सोनालीलाई गत भदौ ९ गते साँझ आमाकै काँखबाट खेल्दै गरेको बेला भरतले खेलाउन मागेर लगी बलात्कार गरी निर्मम तरिकाले हत्या गरेर शवलाई आँप बगैंचामा फालेका प्रहरीले जनाएको छ। प्रहरीका अनुसार शिशुलाई मागेर लगेको फुटेज व्यवसायी चौधरीको पसलमा जडान गरेको सिसिटिभी क्यामेरामा कैद भएको थियो। त्यही फुटेजबाट हत्यारा भरत रहेको पहिचान भएको थियो। तर घटनापश्चात् भरत फरार रहेका थिए।

घटनापश्चात् हत्यारालाई यथाशिघ्र पक्राउ गरी कारवाही गर्न पटकपटक औरही उद्योग वाणिज्य संघले बजार, सडक, यातायात बन्द गरी झण्डै एक सातासम्म आन्दोलनसमेत गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.