|

रुकुम : रुकुम पश्चिमको चौरजहारी विमानस्थलमा पुनः उडान सेवा शुरु भएको छ। १७ महिनादेखि रोकिएको विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले बुधबारबाट उडान शुरु गरेको हो।

निगमको जहाजले बुधबार बिहानै काठमाडौं चौरजहारी उडान गरेको छ। जहाजले अब हप्ताको दुईदिन बुधवार र बिहिवार उडान हुने गरी चौरजहारी विमानस्थल पुनः सञ्चालनमा आएको स्टेशन प्रमुख सुरेन्द्रबहादुर नेपालीले बताए।  उनका अनुसार जहाजले बुधवार काठमाडौं–चौरजहारी–नेपालगञ्ज र बिहिवार नेपालगञ्ज–चौरजहारी–काठमाडौं उडान गर्ने छ। उडान शुरु भएको पहिलो दिन चौरजहारीबाट एक बिरामीसहित आठजनाले नेपालगञ्ज सम्मको हवाई यात्रा गरेका छन्। झण्डै डेढवर्षपछि यहाँको हवाई सेवा सञ्चालनमा आउँदा स्थानीय र सर्वसाधारण खुशी भएका छन्। त्यस्तै रुकुम पश्चिमलगायत छिमेकी जिल्ला जाजरकोट, सल्यान र डोल्पाका नागरिकलाई पनि सहज हुने भएको छ। 

यसअघि नेपाल वायुसेवा निगमसंग प्रयाप्त जहाज र पाईलट नभएको भन्दै गतवर्षको जेठ अन्तिम साताबाट चौरजहारी विमानस्थलको उडान बन्द गरिएको थियो। बन्द हवाई सेवा सञ्चालनका लागि जिल्लाका सरोकारवाला निकाय, स्थानीय सरकार तथा निर्वाचित जनप्रतिनिधिले सम्बन्धित पक्षसंग पहल चाल्दै आएका थिए। २०२८ सालबाट संचालमा आएको चौरजहारी विमानस्थलको थप स्तरोन्नतीका लागि पाँचवर्ष अघि धावनमार्गमा कालोपत्रे गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.