|

बाँके : उचित ब्यवस्थापन गरेर मात्र नौवस्ता औद्योगिक क्षेत्रभित्र पर्ने घरटहरा हटाउने प्रतिवद्धता सरोकारवालाले जनाएका छन्। नौवस्ता औद्योगिक क्षेत्र परियोजना कार्यालय उद्घाटनका क्रममा सरोकारवालाले यस्तो प्रतिवद्धता जनाएका हुन्।

आफूहरूको उचित ब्यवस्थापन नहुँदासम्म बस्ती नछोड्ने अडान स्थानीयले राखेपछि झण्डै २०० परिवारलाई स्थानान्तरण गर्न बाँकी रहेको औद्योगिक क्षेत्र परियोजना कार्यालयले जनाएको छ। कार्यालय उद्घाटन कार्यक्रममा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष एवं महाप्रबन्धक नन्दकिशोर बस्नेतले औद्योगिक क्षेत्रभित्र पर्ने परिवारको उचित ब्यवस्था गरेर मात्र निर्माण कार्य अगाडी बढाउने बताए। उनले बस्तीलाई छोडेर डिपिआर तयार भएको बताउँदै औद्योगिक क्षेत्रसँग नडराउन आग्रह गरे। ‘मेरो घर जाने भयो भनेर नडराउनुस्। सरकारले सबैको ब्यवस्थापन गरेर मात्र औद्योगिक क्षेत्रमा निर्माणको काम अगाडि बढाउने छ,’ उनले भने। 

बैजनाथ गाउँपालिकाका प्रमुख मानबहादुर रुचालले पनि औद्योगिक क्षेत्रभित्रका घर परिवारको उचित ब्यवस्थापन गरिने आश्वासन दिए। उनले औद्योगिक क्षेत्र भित्रपर्ने घरको गाउँपालिकाले तथ्यांक संकलन गरेर गाउँपालिका भित्रनै ब्यवस्थापन गरिने बताए। ‘तपाइँहरू ढुक्क हुनुहाेस्, स्थानीय सरकारले तपाईँहरूको उचित ब्यवस्था गर्ने छ,’ उनले भने, ‘तपाइँहरूलाई लालपूर्जा दिने जिम्मा स्थानीय सरकारले लिनेछ।’

सरकारले सुरुमा ५२५ विघा जग्गा औद्योगिक क्षेत्रलाई दिने निर्णय गरेको थियो। तर बस्तीका कारण अहिले ३३८ विघा क्षेत्रमा निर्माण कार्य गरिने भएको छ।  
नौवस्ता औद्योगिक क्षेत्रले २० हजारलाई रोजगारी दिने लक्ष्य लिएको छ। बेरोजगार यूवालाई रोजगारी दिने भएकोले सहयोग गर्न स्थानीयलाई अध्यक्ष बस्नेतले आग्रह गरे। उनले बैदेशिक रोजगारीमा जाने युवालाई रोजगार प्रदान गरि गरिवी निवारणमा टेवा पुर्‍याउन औद्योगिक क्षेत्रले मद्दत गर्ने बताए। 

कुल ३३८ विघा क्षेत्रफलमा औद्योगिक क्षेत्र निर्माणका लागि डिपिआर तयार भएर निर्माणको काम समेत अगाडि बढेको नेपालगन्ज औद्योगिक क्षेत्र ब्यवस्थापन कार्यालयका प्रमुख कृष्णबहादुर पुनले जानकारी दिए। उनले जग्गा अधिग्रहणको काम सम्पन्न भएर नौवस्ता औद्योगिक क्षेत्रले लालपूर्जा पाइसकेको बताउँदै औद्योगिक क्षेत्रभित्र पर्ने घरपरिवारलाई ब्यवस्थापन गरि निर्माणलाई तीव्रता दिने बताए। 

महाप्रबन्धक बस्नेतले अबको एक वर्षभित्र उद्योगीलाई जग्गा उपलब्ध गराउने र आगामी पाँच वर्षभित्र सम्पूर्ण निर्माण कार्य पूरा गर्ने योजना रहेको बताए। उनले फास्ट ट्रयाकमार्फत औद्योगिक क्षेत्रमा भौतिक संरचना निर्माण गरिने स्पष्ट पारे। भौतिक संरचना निर्माण गरिसकेपछि मात्र उद्योग संचालन गर्दा लामो समय लाग्ने बताउँदै बस्नेतले परियोजना र उद्योगीको भौतिक संरचना निर्माण कार्य सँगसँगै लैजाने योजना रहेको बताए। ‘काम छिटो सक्न औद्योगिक क्षेत्र परियोजना कार्यालय र उद्योग संचालन गर्ने उद्योगीले निर्माणको सँगसँगै लैजाने योजना छ,’ उनले भने। 

परियोजना कार्यालयमा परियोजना प्रमुख, ओभरसियरसहित चारजना कर्मचारी खटिएका छन्। कर्मचारी खटिएपछि कामले गति लिने बिश्वास गरिएको छ। परियोजना कार्यालय स्थापना भएपछि नौवस्तामा औद्योगिक क्षेत्र स्थापना हुने निश्चित भएको स्थानीय कृष्णलाल चौधरीले बताए।

नौवस्ता औद्योगिक क्षेत्रमा खेल मैदान, पार्क, स्वास्थ्य क्लिनिक, बाल उद्यान, बालबालिका हेरचाह केन्द्र, बैंक, स्पोर्टस् हल, पेट्रोल पम्प, सभाहल, सशस्त्र प्रहरी भवन, आवासगृह, भन्सार कार्यालय, राजश्व कार्यालय लगायत औद्योगिक क्षेत्रमा चाहिने अन्तर्राष्ट्रिय स्तरको भौतिक संरचना निर्माण गरिने भएको छ।

उद्योगसम्म जाने पक्की चौडा सडक, पानी, चौविसै घण्टा विद्युतको ब्यवस्था पनि गरिने सरकारको तयारी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.