|

तेह्रथुम : एनआइसी एसिया बैंक लिमिटेडले आइतबार तेह्रथुममा नयाँ शाखाको उद्घाटन गरेको छ। देशभर बैंकका शाखा विस्तार गरी बैंकिङ सेवा उपलब्ध गराउने क्रममा तेह्रथुममा बैंक स्थापना गरी बैंकिङ कारोबार सञ्चालनमा ल्याएको हो।

तेह्रथुमको म्याङ्लुङ बजारमा नयाँ शाखा उद्घाटन गर्ने क्रममा बैंकको स्थापनाले आर्थिक समृद्धिमा सहजता ल्याउने कार्यक्रमका प्रमुख अतिथि म्याङ्लुङ नगरपालिकाका प्रमुख संजयकुमार तुम्वाहाम्फेले बताए। उनले व्यक्तिगत तथा कार्यालयीय खाता सञ्चालनमा बैंकले महत्वपूर्ण भूमिका खेलेको भन्दै पारदर्शी ढंगमा बैंकिङ कारोबार गर्न सुझाएका छन्।

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मुल नाराका साथ देशभर बैंकिङ कारोबार सञ्चालन गर्ने क्रममा तेह्रथुमा पनि आफ्नो शाखा विस्तार गरी सेवा प्रदान गर्ने उद्देश्यअनुसार स्थापना गरिएको एनआइसी एसिया बैंक लिमिटेडका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले बताए। उनले मुलुककै सबैभन्दा धेरै शाखा सञ्जाल भएको यस बैंकको तेह्रथुममा नयाँ शाखा सञ्चालनमा आएपछि बैंकका शाखाहरूको संख्या २६४ पुगेको बताए।

नयाँ शाखाअन्तर्गत तेह्रथुमको म्याङ्लुङ बजारमा गत साउनको ७ गतेदेखि आर्थिक कारोबार सुरु गरी बैंक सञ्चालनमा आएको थियो। तर बैंकको औपचारिक उद्घाटन भने आइतबार मात्रै भएको हो। तेह्रथुममा नयाँ शाखा सञ्चालनमा आएपछि यस बैंकमा खाता खोल्नेको संख्या दिनानुदिन बढ्दै गएको एनआइसी एसिया बैंक लिमिटेड तेह्रथुमका शाखा प्रबन्धक मोदनाथ गुरागाईले बताए।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरूमा २६४ वटा शाखा तथा २६२ वटा एटिएममार्फत् सेवा प्रदान गरिरहेको एनआइसी एसिया बैंकका ग्राहक संख्या करिब १३ लाख ५० हजार रहेको बैंकले जनाएको छ। बैंकले हालसम्म १६७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १३९ अर्ब कर्जा प्रवाह गरेको पनि जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.