उदयपुर : मलिनो अनुहार, पिठ्युँमा किताबको भारी। दुवै हातमा काठका लौरो। ती लौरी १३ वर्षीया लालकुमारी मगरका पाइलालाई अघि बढ्ने साहरा हो। किनकि, हरेक पाइलामा लौरीको सहारा चाहिन्छ।
जन्मँदै अपांगता भएकी उदयपुरगढी गाँउपालिका–५ बोर्राबोटेकी लालकुमारी श्री पञ्चावती उच्च माध्यमिक विद्यालय उदयपुरगढीमा कक्षा ५ पढ्छिन्। ‘दुवै खुट्टाले राम्ररी टेक्नु हुँदैन,’ लौरीको साहारमा उभिँदै उनले भनिन्, ‘विद्यालय आउँदा उकालो पर्छ, तीन घण्टा लाग्छ, घर फर्कँदा ओरालो दुई घण्टा लाग्छ।’ उनले विद्यालयसम्म पुग्न दिनहुँ त्यहीँ बाटो लौरीको साथमा धाउँदै आएकी छन्।
१० बजे विद्यालय पुग्न लालकुमारी बिहान ७ बजै नै घरबाट हिँड्छिन्। ‘मेरा गाउँका अरु साथीहरु पनि आउँछन्,’ उनले भनिन्, ‘साथीहरु ८ बजे १५ मिनेर गएपछि आउँदा पनि आइपुग्छन्, म चाहिँ अगाडि नै हिँड्नुपर्छ।’ विद्यालयमा रहेको होस्टेल बसेर पढ्ने इच्छा भए पनि आर्थिक अभावले बस्न नसकेको उनले सुनाइन्।
उनका बुवाआमा किसान हुन्। आर्थिक अवस्था राम्रो छैन। परिवारबारे लालकुमारीले भनिन्, ‘बुवा पनि कान सुन्न हुन्न, आमा मजस्तै अपांगता भएकी हुनुहुन्छ, घरमा सानो भाइ छ।’ लालकुमारीको आमाका लागि बैशाखी छ। तर लालकुमारीका लागि त्यो अग्लो हुन्छ।
शिक्षिका बन्ने लक्ष्य लिएकी लालकुमारीले आपङ्गता भएकाले मासिक रुपमा ४०० रुपैयाँ सामाजिक सुरक्षा भत्ता पाउँछिन। ‘वडा कार्यालयबाट मासिक ४०० भत्ता दिनुहुन्छ,’ उनले भनिन्, ‘मेरो किताब कापी किन्ने पैसा त्यही हो, त्यसैबाट पढ्दै छु।’
उदयपुरगढी गाँउपालिका–५ का वडाध्यक्ष कुमार अधिकारीले लालकुमारीका लागि वडा कार्यालयले होस्टेलमै बसेर पढ्ने व्यवस्था र बैशाखी व्यवस्था गरिदिने तयारी गरिरहेको बताए। ‘धेरै पटकको भेटमा लालकुमारीको आमाबुवाले छोरी पढाउने सहयोग माग्नु हुन्छ,’ उनले भने, ‘वडा कार्यालयले गर्ने सहयोग गर्न तयारी छौं।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।