|

रुकुम :  डिग्रे शाइकुमारी मन्दिर त्यति ओझेलमा परेको नाम होइन। रुकुम पश्चिम सदरमुकाम मुसिकोट खलंगा नजिकैको थर्पुमा अवस्थित डिग्रे शाइकुमारी मन्दिर रुकुमेली पर्यटन विकासको एक गहना हो।

एकान्त र घनाजंगल छेउमा रहेको उक्त मन्दिर रुकुममा आउने आन्तरिक तथा बाह्य पर्यटकहरू दर्शन नगर्ने कमै होलान्। अध्ययन, भ्रमण, तालिम, जागिर, आफन्त भेटघाटदेखि घुमघामका लागि रुकुम सदरमुकाममा पाइला टेक्ने जो कसैको पनि पहिलो आकर्षणमा डिग्रे शाइकुमारी नै पर्छ। जिल्लाका अन्य पर्यटकीय तथा धार्मिकस्थलहरू मध्येको एक हो शाईकुमारी पहिले पुरानै संरचनामा भएपनि पछिल्लो समय मन्दिर, पूजाआजा गर्ने ठाउँ तथा आसपासको क्षेत्र पनि व्यवस्थित गरिएको छ। जसका कारण दैनिकजसो पूजाआजा र प्राथानाका लागि जानेहरूमा पनि वृद्धि भएको छ। 

तन्नेरीदेखि वृद्धसम्म जाने मेला

रुकुम पेउघाका ६० वर्षीय बलु ओली डिग्रे मेला जान थालेको ४५ वर्ष बढी भइरहेको छ। उमेरले डाँडो काट्न थाले पनि उनी अझै पनि डिग्रे नगई मनले नमान्ने बताउँछन्। ‘हिन्न त खासै सकिन्न तर पहिलेदेखि नै गइराखेको डिग्रे मेला नजाने हो भने त के बिर्सियो के बिर्सियोजस्तो हुन्छ’ उनले भने, ‘पुराना साथीसंगीहरू भेट हुने थलो हो डिग्रे मेला, बाँचेकोहरुको भेट डिग्रेमा नै हुन्छ, अर्कोसाल त के हो के हो, त्यसकारण प्रत्येक वर्ष जान्छु।’ उनी मात्र होईन रुकुम छिबाङका निखिल खड्का पनि विरामी, देश बाहिर भएको बेला र कुनै महत्वपुर्ण काम परेको बाहेक अन्य बेला नछुटाई डिग्रे बेला जान्छन्। डिग्रे मेलामा गएर साथीभाइसँग पिङ खेल्नु उनको पहिलो रोजाइ हो।

राप्ती क्षेत्रकै प्रसिद्ध मानिने डिग्रे मेला डिग्रे शाइकुमारी मन्दिर परिसरमै लाग्ने गरेको छ। हरेक वर्ष हरिबोधनी एकादशीदेखि कार्तिक शुक्लपूर्णिमासम्म डिग्रे मेला लाग्ने गरेको छ। पाँच दिनसम्म लाग्ने बेलामा भक्तजनहरू आ–आफ्नो समय अनकूल बनाएर जाने गरेका छन् भने अन्तिम दिन सकभर अघिकांश भक्तजनहरू त्यहाँ जान्छन्। स्थानीय मेला व्यवस्थापन समितिका अनुसार मेला अवधिभर एक लाख बढी भक्तजनहरू मेलामा आउने गरेको अनुमान छ।

समितिका अनुसार प्रत्येक वर्ष १५ सय बढी बोकाको बलीसमेत चढाइन्छ। मेलामा जाने भक्तजनहरूले गर्दा सदरमुकाममा पनि चहलपहल बढ्नुका साथै व्यापार व्यवसाय पनि बढ्ने गरेको व्यापारीहरू बताउँछन्। स्थानीय संस्कृतिअनुसार मेलामा साँखगाउँबाट मेला भर्न बाजागाजा तथा लठ्ठीसहित आउने र उनीहरू मेलामा प्रवेश गरेसगै त्यस क्षेत्र आफ्नो कब्जामा लिएको मान्यता लिइँदै आइएको छ। त्यस्तै, मेला मयूर लगायतका अन्य स्थानीय नाचहरू पनि नाच्ने गरिन्छ।

 चाहेको र सोचेको पूरा हुने जनविश्वास

मेलामा रुकुम पश्चिमका अघिकांश वडाहरूसँगै नजिकका सुर्खेत, जाजरकोट, रोल्पा, सल्यान दाङ, बर्दी विभिन्न ठाउँबाट आएर झण्डै एकलाख बढी भक्तजनहरूले मन्दिरमा पूजापाठ तथा दर्शन भेट गर्ने मेला व्यवस्थापन समितिले बताएको छ। 

डिग्रे शाइकुमारी मन्दिरको नामले चिनिने सो मन्दिरको दर्शन गरेमा आफूले चाहेको र सोचेको पूर्ण हुने धार्मिक विश्वास रहँदै आएको छ। मन्दिरमा हरिबोधनी एकादशीबाट होम जग्गे, सिद्ध पूजा लगायतका कर्मकाण्ड पनि सञ्चालन गरिन्छ। यसपटक त कोटी होमसमेत संचालन गर्ने तयारी गरिएको छ। समस्या पर्दा शाइकुमारीको नाम लिएर बलिभाकल गर्दा समस्याबाट छुटकारा पाउने विश्वास छ।

जसका कारण स्वदेश तथा विदेशमा रहेकाहरू आफ्ठेरोमा पर्दा घरमा रहेका आफन्तहरूले बलि चढाउने भाकलसहित प्रार्थना गर्ने र फर्की आएमा सम्बन्धित व्यक्तिले मन्दिरमा पुगेर बोकाबली दिई डिग्रे शाई कुमारीलाई धन्यबाद समेत दिने गरेका छन्। त्यस्तै बिहे गरेर लामो समय सम्म बच्चाबच्ची नभएका, बिभिन्न रोगले पिडित, र नयाँ विवाहित जोडि पनि संगै मन्दिर पुगि प्राथाना गरेमा बाँकी जीवन सफल हुने विश्वाससहित त्यहाँ पुग्ने गरेका छन्। 

कसरी पुग्न सकिन्छ डिग्रे?

डिग्रे शाईकुमारी मन्दिर पुग्नलाई कुनै सास्ती खानुपर्दैन। रुकुमका अन्य पर्यटकीय तथा धार्मिकस्थलभन्दा यस मन्दिरसम्म पुग्न र पत्ता लगाउन सजिलो नै छ। मन्दिरसम्मै स्थानीय यातायात सेवा पुगेको छ। साना सवारीका साधनमार्फत मन्दिरसम्मै पुग्न सकिन्छ। रुकुम सदरमुकाम खलंगाबाट पैदल हिँडेर एक घण्टा र गाडीमा आधा घण्टा जतिको समय लाग्छ। सदरमुकाम खलंगाबाट गाडीभन्दा पैदल हिँड्न नै प्रायः रुचाउँछन्। 

जिल्ला बाहिरका वा देश बाहिरका इच्छुक व्‍यक्तिहरू पनि सजिलै मन्दिरसम्म पुग्न सकिन्छ। हाल राजधानी काठमाडौं, दाङ र नेपालगंजबाट दैनिक २ देखि ३ वटासम्म दिवा तथा रात्रि सुविधा सम्पन्न बसहरू सञ्चालनमा छन्। त्यस्तै, काठमाडौ र नेपालगंजबाट हप्तामा एकपटक हवाईजहाज पनि रुकुम आउने गरेको छ। रुकुम सल्ले विमानस्थल पनि डिग्रे मन्दिरको नजिकै हो। जहाँबाट गाडीमार्फत आधा घण्टा र पैदल गरे पनि एक घण्टा जतिमै पुग्न सकिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.