|

कतार : राष्ट्रपति विद्यादेवी भण्डारीले कतारको चारदिने औपचारिक भ्रमणको तेस्रो दिन बुधबार दोहास्थित राष्ट्रिय पुस्तकालय र सङ्ग्रहालयको अवलोकन गरेकी छन्। अत्याधुनिक र अत्यन्त आकर्षक शैलीमा निर्माण गरिएको भव्य पुस्तकालयमा अरबी, अङ्ग्रेजीलगायत विभिन्न भाषाका १० लाखभन्दा बढी  पुस्तकहरू रहेका छन्। विद्युतीय पुस्तकालय र बालबालिकालाई क्रीडास्थलसहितको आकर्षक सुविधा यस पुस्तकालयको प्रमुख विशेषता रहेको पुस्तकालयका कर्मचारीले जानकारी गराए।

पुस्तकालयको अवलोकनपछि राष्ट्रपति भण्डारीले यति विशाल र आधुनिक पुस्तकालयमा एउटा पनि नेपाली भाषाको पुस्तक नहुनु दुःखको कुरा भएको बताइन्। उनले चार लाखभन्दा बढी नेपाली कामदार रहेको देशको प्रमुख पुस्तकालयमा नेपाली भाषाका पुस्तकहरू उपलब्ध गराउन सरकार र दूतावासको ध्यानाकर्षणसमेत गराइन्। उनले यस किसिमको बालपुस्तकालय र क्रीडास्थल नेपालमा पनि सान्दर्भिक रहेकाले यसको अध्ययनका निम्ति नेपाली टोली छिट्टै यहाँ पठाउने बताइन्।

राष्ट्रपति भण्डारीले पुस्तकालयको  विशिष्ट आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नुका साथै संक्षिप्त धारणासमेत लेखिन्। उनले यस किसिमको पुस्तकालय सबैका निम्ति आवश्यक र उदाहरणीय रहेको विचार व्यक्त गरिन्।

पुस्तकालयको भ्रमणका क्रममा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले पनि पुस्तकालय अत्यन्त व्यवस्थित, आकर्षक र पठनमैत्री रहेको प्रतिक्रिया दिए। उनले पुस्तकालय सभ्यता र अध्ययनशीलताको सूचकसमेत रहेकाले यसको विकास र विस्तारमा सरकार जागरुक रहेको बताए।

यसै बीच पुस्तकालयको अवलोकनपश्चात् राष्ट्रपति भण्डारीले यहाँको राष्ट्रिय सङ्ग्रहालयको पनि अवलोकन गरेकी छन्। आधुनिक शैलीमा निर्माण गरिएको सङ्ग्रहालयमा पुरातात्विक, सांस्कृतिक र ऐतिहासिक महत्त्वका वस्तुहरू व्यवस्थित र फराकिलो गरी राखिएकोमा राष्ट्रपति भण्डारीले यस किसिमको व्यवस्थापन सबैका निम्ति अनुकरणीय हुने बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.