|

धनगढी : हिउँदे बाली लगाउने समयमा रसायनिक मल अभाव भएपछि कैलालीका किसानहरू आन्दोलित भएका छन्। समयमा मल नपाएपछि सहकारी संस्थामा आवद्ध किसानले सुदूरपश्चिम प्रदेशको भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा शुक्रबार नाराबाजी गरेका छन्।

आक्रोशित किसानको मलको आपूर्ति गर्ने निकाय कृषि सामग्री कम्पनीमा तालाबन्दी समेत गरेका थिए। ‘कृषि प्रधान देशका कृषकको झेलिरहेको मलको समस्या समाधानका लागि आन्लोलनमा उत्रिएको हौँ’ सामुदायिक बन सहकारी संस्थाका सचिव इन्द्रलाल भण्डारीले बताए। लामो समयदेखि मलको सहज अपूर्ति गर्न नसकेपछि आन्दोलनमा उत्रिनु परेको उनले बताए।

धानबाली भित्र्याएर गहुँ, तोरी, मसुरो, आलु लगाउने समयमा मलको चरम अभाव सिर्जना भएपछि किसान आन्दोलित भएको बताएका छन्। ‘पटक पटक मलको लागि आग्रह गर्‍यौ कहिँ कतैबाट सुुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिएका छौँ ’ ग्रामीण बिद्युत सहकारी संस्थाका कृष्णबहादुर खत्री भने। सहकारी संस्थाका पदाधिकारी तथा कृषकहरूले शुक्रबार कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालयमा तालाबन्दी गर्दै प्रदेश कृषि मन्त्रालयमा नाराबाजी गरेका हुन्।

सुदूरपश्चिम प्रदेशका लागि ७० प्रतिशत मल आपूर्तिको जिम्मा पाएको कृषि सामग्री कम्पनी र ३० प्रतिशत मलको आपूर्ति साल्ट ट्रेडिङ कर्पोरेशन क्षेत्रीय कार्यालयले गर्दै आएको छ। तर पनि किसानले आवश्यक्ता अनुसारको मल पाएका छैनन्। कृषि सामग्री कम्पनी लिमिटेडमा अहिले १०० टन डिएपी र ४७ टन युरिया मौज्दात रहेको छ। 

भैरहवाबाट आवश्यक मात्रामा मल ढुवानी नहुँदा वितरणमा समस्या भएको कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय धनगढीका प्रवन्धक दुर्गाप्रसाद पाण्डेयले बताए। ‘मल थोरै छ धेरैलाई वितरण गर्नुपर्ने छ। सबैले आजै अहिल्यै चाहियो भन्नुहुन्छ। म कसरी व्यवस्था मिलाऊ?’ पाण्डेयले प्रतिप्रश्न गरे। ३० प्रतिशत मलको आपूर्ति गर्ने जिम्मा पाएको साल्ट ट्रेडिङ कर्पोरेशन क्षेत्रीय कार्यालयले आफ्नो मैजदात नरहेको जनाएको छ।‘अहिले हामीसँग छैन। यस महिनाको अन्त्यमा युरिया र मंसिरको दोस्रो साता डिएपी पुग्छ’ कार्यालयका सहायक महाप्रबन्धक केशवप्रसाद पाण्डेयले बताए।

गहुँ खेतीका लागि सुदूरपश्चिम प्रदेशमा झण्डै तीन हजार ५०० मेट्रिक टन डिएपी र ७ हजार मेट्रिक टन युरिया आवश्यक पर्दछ। तर मलकोे अभाव सिर्जना हुँदा यस वर्ष गहुँको उत्पादन पनि घट्ने चिन्ता किसानको छ। किसानले आन्दोलन गरेपछि भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री बिनिता चौधरीले किसानलाई आवश्यक पर्ने मल ल्याउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। 

'हामी यस विषयमा गम्भीर छौँ ' मन्त्री चौधरीले भनिन् 'ढुवानी समस्याले मल नआएको भए त्यसको पनि प्रदेश सरकारले व्यवस्था गर्छ। भैरहवामा पर्याप्त मल रहेर पनि धनगढीमा नआएपछि मलको अभाव सिर्जना भएको हो।' किसानसँग मन्त्री चौधरीले अब धेरै समय यो समस्या नरहने दाबी गरिन्।

सरोकारवला निकायले मलको सहज आपूर्ति गर्ने प्रतिवद्धता जनाएपछि शुक्रबार कृषि सामग्री कम्पनीमा लगाइएको ताला साझ खोलिएको थियो। एकातिर मलको अभाव भइरहँदा कैलालीका केही निजी पसलमा अनुदानको मल बिक्री भेटिएपछि मलको कालावजारी भइरहेको समेत आशंका गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.