|

काठमाडौं : मौसमको पूर्वानुमानका लागि अतिनै आवश्यक मौसमी राडार भित्राउने प्रयास थालिएको छ। झण्डै डेढ वर्षदेखि नेपालमा मौसमी राडार भित्राउने विषयमा छलफल भएपनि अहिलेसम्म मौसमी राडार ल्याउन सकिएको छैन। 

पछिल्लो समय जल तथा मौसम विज्ञान विभागले भारत, जापान र चीनसंग मौसमी राडार सहयोग स्वरुप ल्याउने विषयमा छलफल गरिरहेको छ। मौसमी राडार नहुँदा मौसमको भविष्यवाणी नमिल्ने तथा हावाहुँरी, चट्यांगको आवश्यक जानकारी समेत पाउन समस्या हुने गरेको मौसमविद्हरुले बताएका छन्। राडार ल्याउने विषयमा भारत जापान लगायतका देशसँग कुराकानी भैरहेको विभागले जनाएको छ। 

मौसमी राडारले परिरहेको पानीको मात्रा नाप्ने, हावाको अवस्थाको मुल्याङ्कन गरेर मौसमको भविष्यवाणी गर्ने, हावाहुँरी र चट्याङ पर्नसक्ने क्षेत्र तथा समयको पहिचान गर्न मद्दत पुराउने मौसमविद् मीनकुमार अर्यालले बताए। राडार जडानपछि यसले तीन चारसय किलोमिटरसम्मको मौसम पूर्वानुमान तथा प्रतिकुल मौसमबाट बच्न मद्दत पुराउने उनले बताए। 

नेपालमा भूगोल नमिलेकाले देशभर तीनचारवटा राडार राख्नुपर्ने अर्यालले बताए। अहिलेसम्म निश्चित जिल्ला तोकेरै मौसमको भविष्यवाणी हुन सक्दैन भने मौसमी राडार भएमा जिल्लाको पनि क्षेत्रगत हिसाबले समेत मौसम थाहा पाउन सकिने छ। 

विश्व बैंकको सहयोगमा अहिले मौसमी पूर्वानुमानलाई प्रभावकारी पार्ने विषयमा कामहरु समेत भैरहेका मौसमविद् अर्यालले जानकारी दिए। मौसमी राडारका लागि काठमाडौं उपत्यकाका विभिन्न ठाउँ मध्य ललितपुरको भट्टेडाँडामा अध्ययन समेत गरिएको छ। एउटा मौसमी राडार जडानका लागि झण्डै २२ करोड रुपैयाँ खर्च लाग्छ। 

मोटरबाटो, बिजुली, भवन तथा कर्मचारी समेत आवश्यक पर्ने भएकाले तत्कालनै सबै क्षेत्रमा काम हुने सम्भावना कम रहेको विभागले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.